Logo
  • वि.सं.: २०८२, वैशाख २२ सोमबार

  • इ.स.: 2025 May 5,MONDAY

  • वि.सं.: २०८२, वैशाख २२ सोमबार

  • विगत निर्णयको प्रभावकारिता र कार्यान्वयन अवस्थाको प्रारम्भिक समीक्षा गर्दै सञ्जालको १० औँ वैठक सम्पन्न

    विगतको सुक्ष्म समीक्षासहित आगामी वर्षको बजेट, नीति तथा कार्यक्रममा आपसी सम्बन्ध विषयमा जेठ ५ गते काठमाडौँ महानगरपालिकाले ११ औँ वैठक आयोजना गर्ने

    काठमाडाँै । स्थानीय तहमा उपप्रमुख र उपाध्यक्षहरुका अधिकार, प्राप्त अधिकारको प्रभावकारी कार्यान्वयन, आपसी सहकार्य, समन्वय, सम्बन्ध र साझा कार्यक्रमका विषयमा विगत अभ्यासलाई वृहत र सुक्ष्म समीक्षा गर्ने निर्णय भएको छ । कीर्तिपुर नगरपालिकाले आज आयोजना गरेको ‘काठमाडौँ उपत्यका उपप्रमुख÷उपाध्यक्ष सञ्जाल’ को वैठकले विगतको प्रारम्भिक समीक्षा गर्दै यस्तो निर्णय गरेको हो । हरेक वैठकमा उपप्रमुखको कार्य क्षेत्रसँग सम्बन्धित एउटा विषयमा बिज्ञको प्रस्तुतिकरणसहित छलफल गर्ने गरिएको छ । यसरी गरिएको छलफलको प्रभावकारिता र अधिकारको प्रयोगसँगै आगामी वैठकमा आर्थिक वर्ष २०८२/०८३ को वार्षिक बजेट, नीति तथा कार्यक्रमका साझा विषयमा छलफल हुनेछ । त्यो बैठक काठमाडौँ महानगरपालिकाले आयोजना गर्नेछ । 

    २०७९ फागुन ३० गते काठमाडौँ महानगरपालिकाले आव्हान गरेको पहिलो बैठकबाट प्रारम्भ भएको सञ्जालले आज प्रारम्भिक समीक्षासहितको १० औँ वैठक सम्पन्न गरेको छ । हरेक महिना फरक पालिकाका उपप्रमुख/उपाध्यक्षको अध्यक्षतामा बैठक आयोजना हुने गरेको छ । हरेक बैठकले आगामी बैठक आयोजना गर्ने पालिका र बैठकमा छलफल गर्नु पर्ने विज्ञ प्रस्तुतिसहितको विषय निर्धारण गर्ने गरेको छ । यस क्रममा आजको बैठकको अध्यक्षताका लागि गोकर्णेश्वर नगरपालिकाका उपप्रमुख सान्नानी लामाले कीर्तिपुर नगरपालिकाका उपप्रमुख शुभलक्ष्मी शाक्यलाई बैठकको निर्णय पुस्तिका हस्तान्तरण गर्नुभएको थियो । 

    कानुनले उपप्रमुख/उपाध्यक्षलाई दिएका अधिकारका बारेमा समान बुझाइ निर्माण गर्ने, कार्य प्रणालीमा एकरुपता ल्याउने, साझा सवालमा सहकार्य तथा समन्वय गर्ने, समस्या र चुनौतीलाई साझा संयन्त्रमार्फत समाधान गर्ने, असल अभ्यास र सिकाइ आदान प्रदान गर्ने सञ्जाल गठनको उद्देश्य हो । 

    बैठकमा बोल्दै कीर्तिपुर नगरपालिकाका प्रमुख कृष्णमान डंगोलले, सञ्जालमा आपसी ज्ञान, सिप र क्षमता आदान प्रदान गरेपछि अधिकारको व्यवस्थित प्रयोगलाई पूर्ण बनाउने मद्दत हुने धारणा राख्नुभयो ।

    उपत्यकाको एकीकृत र समन्वयात्मक विकासका लागि साझा बुझाइ निर्माण गर्न, उपप्रमुख र उपाध्यक्षहरुलाई निक्षेपण गरिएको अधिकारबाट नगरबासीलाई अधिक लाभ दिने क्षमता विकास गर्ने कार्यका लागि सञ्जालको प्रयोग गर्नु पर्ने महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले धारणा राख्नुभयो । यस्तै उपप्रमुख शुभलक्ष्मी शाक्यले, नगर विकास र सेवाका लागि समान दृष्टि निर्माणका लागि सञ्जालले काम गरिरहेको धारणा राख्नुभयो । अघिल्लो बैठकका अध्यक्ष गोकर्णेश्वर नगरपालिकाका उपप्रमुख सान्नानी लामाले, नेपाल भाषा र तामाङ् भाषालाई कामकाजी भाषाका रुपमा प्रयोग गर्ने विषयमा अघिल्लो बैठकले दिएको पृष्ठपोषण लाभदायक भएको उल्लेख गर्नुभयो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामदत्त भट्टले, उपत्यकाको एकीकृत विकासका लागि सञ्जालमा गरिने छलफलले नतिजामा योगदान दिने धारणा राख्नुभयो ।  

    अवलोकनपछि वरिष्ठ अधिकृत सुजिन्द्र महर्जनले, कीर्तिपुरका विकास पद्धति, धार्मिक, सामाजिक सम्पदा, पर्यटन तथा अन्य सहकार्यका सम्भावना, काठमाडौँ महानगरपालिकाको सहकार्यमा निर्माण भइरहेको युद्ध स्मारक पार्कका विषयमा प्रस्तुतिकरण गर्नुभएको थियो । त्यस क्रममा उपत्यकाका पालिकाहरुका राजस्वको दरमा समानता प्रदान गर्ने सम्भावना, पर्यटन प्रवर्धन र व्यवस्थापनका साझा कार्यक्रम, जात्रा पर्व सञ्चालनका लागि फरक फरक पालिकामा भएका सम्पदा स्थलहरुको सम्बन्धलाई उजागर गरेर आन्तरिक धार्मिक तथा सांस्कृतिक पर्यटनको प्रवर्धनलाई महसुस योग्य नतिजामा रुपान्तरण गर्नुपर्नेमा जोड थियो । 

    वैठक अघि टौदह, चोभारको मञ्जुश्री गुफा, बाघ भैरवलगायत स्मारकहरुको स्थलगत अवलोकन भ्रमण गरिएको थियो ।   

    सञ्जालमा उपत्यकाका २ वटा महानगरपालिकासहित १८ वटा नगरपालिका र ३ वटा गाउँपालिका गरी २१ वटा स्थानीय तहका उपप्रमुख/उपाध्यक्ष सञ्जालका सदस्य हुनुहुन्छ । 

    विगतका बैठक र उठाइएका विषय 
    पहिलो बैठक (३० फागुन २०७९) मा काठमाडौँ महानगरपालिकाले न्यायिक समितिको क्षेत्राधिकार, मेलमिलाप प्रक्रिया र नेपालमा न्याय सम्पादन प्रक्रियाका विषयमा छलफल गराएको थियो । दोस्रो वैठक (१५ बैशाख २०८०) मा बुढानीलकण्ठ नगरपालिकाले स्थानीय तहबाट सञ्चालन हुने योजनाहरुको अनुगमन, यो प्रणालीलाई व्यवस्थित गराउन अवलम्बन गरिएका असल अभ्यासका विषय र उपत्यकाका मूर्त सम्पदा र रैथाने उत्पादनका विषयमा प्रस्तुतिकरण तथा छलफल भएको सञ्जालको सचिवालयको समेत काम गरिरहनुभएका काठमाडौँ महानगरपालिकाको उपप्रमुखको सचिवालयका प्रमुख सौरभ गौत्तमले जानकारी दिनुभयो ।   

    तेस्रो वैठक (१० जेठ २०८०) भक्तपुरको सूर्यविनायक नगरपालिकाले आयोजना गरेको थियो । यस बैठकमा स्थानीय तहको वार्षिक बजेट, नीति तथा कार्यक्रम तर्जुमाका प्रक्रियाका आधार, क्षेत्रगत प्राथमिकता स्रोत साधनको अनुमन, सालबसाली तर्जुमा गरिने आर्थिक विधेयक र विनियोजन विधेयक तर्जुमा गर्दा ध्यान दिनु पर्ने विषयमा प्रस्तुतिकरण र छलफल भएको थियो । चौथो बैठक (६ भदौ २०८०) नागार्जुन नगरपालिकाले बैठक आयोजना गरेर स्थानीय तहलाई प्राप्त भएका अनुगमनका कानुनी अधिकार, यसको प्रभावकारी कार्यान्वयनमा लागि अन्तरसरकार समन्वय, अनुगमनका सूचक, जफत गरिएका बस्तु तथा सामग्री नष्ट गर्ने प्रक्रियाका विषयमा प्रस्तुतिकरण भएको थियो । 

    पाँचौँ बैठक (२६ असोज २०८०) दक्षिणकाली नगरपालिकाले आयोजना गरेर स्थानीय तहका भौतिक पूर्वाधार विकास, सेवा प्रवाह र यस प्रक्रियामा अलबम्बन गरिने पद्धति, असल अभ्यास, अवसर र चुनौतीका विषयमा प्रस्तुति र अन्तरक्रियात्मक छलफल भएको थियो । छैटौँ वैठक (पुस १४, २०८०) मा ललितपुरको महाङ्काल गाउँपालिकाले आयोजना गरेको थियो । यस बैठकमा सञ्जालका सदस्य नगरहरुबाट उत्पादन हुने बस्तु तथा सामग्रीको प्रवर्धनमा सहकार्य सम्भावनाका विषयका कुराकानी भएको थियो । 

    सातौँ बैठक (१४ फागुन २०८०) चन्द्रागिरी नगरपालिकाले आयोजना गरेको थियो । यस वैठकमा स्थानीय राजस्वको सैद्धान्तिक पक्ष, दर र दायरा तथा स्थानीय कर प्रशासनका विषयमा प्रस्तुतिकरण र छलफल भएको थियो । आठौँ बैठक (२७ भदौ २०८१) मा मध्यपुर थिमीले आयोजना गरेको थियो । यस बैठकमा स्थानीय विवाद निरुपण, मेलमिलाप र स्थानीय अदालतको अवधारणाका विषयमा प्रस्तुतिकरण भएको थियो । नवौँ बैठक (१८ फागुन २०८१) मा गोकर्णेश्वर नगरपालिकाले आयोजना गरेको थियो । यस बैठकमा एकीकृत विकासका लागि आयोजना बैङ्क र राजस्व बाँडफाँडका विषयमा प्रस्तुतिकरण भएको थियो । यस्तै बागमती प्रदेशले नेपाल भाषा र तामाङ् भाषालाई सरकारी कामकाजी भाषाका रुपमा मान्यता दिएपछि यी भाषाहरुलाई कामकाजमा कार्यान्वयन गर्ने विषयमा प्रस्तुतिकरण भएको थियो । 

    छुटेका क्षेत्र
    उपप्रमुखका दायित्वभित्र धेरै क्षेत्र छन् । यीमध्ये न्यायिक समिति, बजेट तर्जुमा, राजस्व परामर्श, योजना अनुगमन मूल्याङ्कन, उपभोक्ता हक हित संरक्षणका कामहरु उपप्रमुखकै संयोजकत्वमा संयन्त्र गठन तथा सञ्चालन हुन्छ । समीक्षामा महानगरपालिकाका निर्देशक वसन्त आचार्यले, उपप्रमुख÷उपाध्यक्षकै संयोजकत्वमा सञ्चालन हुने गैरसरकारी संघसंस्थाहरुसँगको समन्वय र विषयगत समितिहरुका विचको समन्वयका विषयमा काम हुन नसकेको बताउनुभयो । विषयगत समितिहरु गाउँ÷नगर सभा र कार्यपालिका अन्तर्गत गठन हुन्छन् । 

    उपप्रमुख डंगोललाई बधाई
    सञ्जालको बैठकमा काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल वल्र्ड इकोनोमिक फोरमको योङ् लिडरमा छानिनु भएकोमा वधाई ज्ञापन गरिएको थियो । बैठकमा वधाई प्रस्ताव राख्दै कीर्तिपुर नगरपालिकाका उपप्रमुख शुभलक्ष्मी शाक्यले, डंगोलको नेतृत्वले फोरमको इज्जत बढेको बताउनुभयो ।  


     

  • प्रकाशित मिति आइतबार​ २१ वैशाख २०८२ ०६:२१ PM