Logo
  • वि.सं.: २०८३, असोज १८ आइतबार​

  • इ.स.: 2026 October 4,SUNDAY

  • वि.सं.: २०८३, असोज १८ आइतबार​

  • सहरी उपभोक्तामा बेकरीजन्य खाद्य बस्तुको उपभोग बढेपछि उत्पादकलाई गुणस्तरीयता र स्वच्छता सम्बन्धी तालिम 

    खाद्य सेवालाई गुणस्तरीय बनाउन अत्याधिक प्रयोग हुने बस्तुसँग सम्बन्धित व्यवसायीलाई तालिम दिइँदै 

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाले वेकरी उत्पादन तथा विक्री वितरणमा आवद्ध २०७ जना व्यक्तिलाई स्वच्छता र गुणस्तरीयताका विषयमा तालिम प्रदान गरेको छ । बेकरीजन्य खाद्य बस्तु सहरी उपभोक्ताको जीवनशैलीसँग अभिन्न बन्दै गएको छ । जन्मदिन, विवाह, व्रतबन्ध, पास्नीदेखि विभिन्न उत्सवसम्म केक काट्ने चलन बढ्दै जाँदा बेकरीजन्य खाद्य पदार्थ नेपालीको दैनिक खानपानको हिस्सा बन्दै गएको छ । बिहान–बेलुका चियासँग खाने बिस्कुट, कुकिजदेखि पेस्ट्री, डोनट, पफ, स्यान्डविच र केकसम्मका परिकारको उत्पादन तथा उपभोग बढिरहेका बेला काठमाडौँ महानगरपालिकाले बेकरी व्यवसायमा आवद्ध व्यवसायीलाई बोलाएर खाद्य स्वच्छता कायम गराउन तालिम दिएको हो । 

    गुणस्तरीय खाद्य बस्तुको उत्पादनमा कच्चा पदार्थको छनोटदेखि उत्पादन, प्रशोधन, तापक्रम नियन्त्रण, भण्डारण, प्याकेजिङ, ढुवानी र बिक्रीसम्मका प्रत्येक चरण सावधानी आवश्यक हुन्छ । सामान्य कमजोरीले पनि खाद्य पदार्थको गुणस्तर विग्रिन्छ । काठमाडौँ महानगरपालिकाका फुड टेक्नोलोजिष्ट भारती अधिकारी भन्नुहुन्छ, ‘बेकरी उत्पादनहरूमा मुख्यतयाः गहुँको पिठो (ग्लुटेन), दुग्धजन्य पदार्थ (दूध, मक्खन), अण्डा, बदाम, काजु र भटमास जस्ता एलर्जेनहरू प्रयोग हुन्छन् । कानुनी र स्वच्छ व्यावसायिक दृष्टिले यी एलर्जेन बारे उपभोक्तालाई स्पष्ट जानकारी दिनु, सही लेबलिङ गर्नु र उत्पादनका क्रममा एकअर्कामा मिसावट हुन नदिनु व्यवसायीले पालना गर्नु पर्ने दायित्व हुन् ।’ 

    अधिकारी भन्नुहुन्छ, ‘बेकरी उत्पादनमा ओस र तातो वातावरणका कारण सजिलै ढुसी आउन सक्छ । जसले पाउरोटी तथा केकलाई चाँडै बिगार्छ । यसबाट खाद्य वस्तुको स्वाद र गुणस्तर बिग्रिन्छ । यसरी उत्पन्न हुने विषाक्त पदार्थले उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पुर्‍याउँछ । तसर्थ, बेकरी वस्तुहरूलाई सधैँ ओभानो, सफा र हावा आउजाउ हुने ठाउँमा भण्डारण गर्नुपर्छ ।’

    तालिममा यी सैद्धान्तिक कुरासँगै व्यक्तिगत सरसफाइ, उपकरण र कार्य स्थलको स्वच्छता, पानीको गुणस्तर, किट नियन्त्रण, एलर्जेन व्यवस्थापन तथा क्रस–कन्टामिनेसन रोकथामका व्यवहारिक विषय समावेश थिए । 

    व्यवसायमा दैनिक देखिने जोखिम पहिचान गर्नु, जोखिम नियन्त्रण गर्नु र सुधारका व्यावहारिक उपाय थाहा पाउनु जरुरी छ । तालिमले व्यवसायीलाई यी सूचना प्रदान गरेको छ । प्रशिक्षक एवं खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग वरिष्ठ खाद्य अनुसन्धान अधिकृत प्रक्षा न्यौपाने भन्नुहुन्छ, ‘बेकरी व्यवसायमा खाद्य स्वच्छता अनुपालन तथा व्यापारिक जिम्मेवारीका विषयलाई जोड दिइएको छ ।’ 

    बेकरी उत्पादनमा उपभोक्तालाई सही सूचना उपलब्ध गराउने विषयलाई हामीले बढी जोड दिएका छौँ । प्रशिक्षक नविन कर्माचार्य भन्नुहुन्छ, ‘उत्पादनको नाम, प्रयोग गरिएका सामग्री, उत्पादन मिति, उपभोग गर्नुपर्ने अन्तिम वा ‘बेस्ट बिफोर’ मिति, ब्याच नम्बर, उत्पादकको नाम तथा ठेगाना र भण्डारण विधिजस्ता विवरण स्पष्ट रूपमा उल्लेख गर्नु व्यावसायिक दायित्व हो । यसप्रति उत्पादकलाई जिम्मेवार बनाउने प्रयास गरिएको छ ।’ 

    उत्पादनमा यसरी राखिने विवरणले उपभोक्तालाई आफूले खरिद गर्ने खाद्य पदार्थ बारे निर्णय गर्न सहज बनाउनेछ ।

    तालिममा खाद्य रङ, स्वाद तथा प्रिजरभेटिभ विषय राखिएका थिए । यस्तै अनुमति प्राप्त पदार्थ तोकिएको मात्रामा मात्र प्रयोग गर्ने, प्रतिबन्धित रसायनिक पदार्थ प्रयोग नगर्ने तथा बेकरी उत्पादनमा ट्रान्सफ्याटको मात्रा घटाउने विषयलाई पनि जोड दिइएको थियो । वेकरी उत्पादन गर्दा हाइड्रोजेनेटेड वनस्पति घिउको प्रयोग सकेसम्म न्यूनीकरण गर्नुपर्नेमा प्रशिक्षकहरुको बल थियो । बेकरी उत्पादनको प्याकेजिङमा खाद्य–ग्रेडको सुरक्षित बेरिङ पेपर तथा सामग्री प्रयोग, धुलो, ब्याक्टेरिया तथा अन्य बाह्य प्रदुषणबाट जोगाउन प्रयोग गरिने कागज तथा प्याकेजिङ सामग्री पनि खाद्य स्वच्छताको अङग भएकोले व्यवसायीले यसलाई व्यवसायिक दायित्वका रुपमा लिनु पर्छ । प्रशिक्षक कर्माचार्यको भनाइ थियो । 

    काठमाडौँ महानगरपालिकाले खाद्य स्वच्छतालाई केवल अनुगमन र कारबाहीको विषय नबनाई व्यवसायीको क्षमता अभिवृद्धिसँग जोडेर कार्यक्रम सञ्चालन गरिरहेको छ । यस अघि तन्दुरी तथा मध्यम भोजनालय,  मिठाई पसल, मासु व्यवसाय, होटल तथा रेस्टुरेन्ट व्यवसाय, विद्यालयका चमेना गृह, अस्पतालका भोजनालय तथा चमेना गृह, क्याटरिङ तथा ब्याङक्वेट, मौलिक तथा रैथाने खाना, दूध तथा दुग्धजन्य पदार्थ र मःम व्यवसायलगायत उपभोक्ताले अत्याधिक प्रयोग गर्ने खाद्य परिकारको स्वच्छताका लागि व्यवसायीलाई तालिम दिएको छ । यसरी तालिम प्राप्त गर्ने व्यवसायीको संख्या ३ हजार जना भन्दा बढी छ । 

    कार्यक्रम कृषि तथा पशुपन्छी विभागको ‘स्वच्छ भान्छा’ स्वर्णिम योजना, खाद्य स्वच्छता प्रवर्धन तथा प्रमाणीकरणका लागि खाद्य स्वच्छता : प्रवर्धन शिविर (फुड सेफ्टी, वुट क्याम्प) कार्यक्रम सञ्चालन भएको हो । 

    वेकरी उद्योगसम्म आइ पुग्दा एघारौँँ संस्करणसम्म आइपुगेको छ । चालु आर्थिक वर्षका लागि यो पहिलो संस्करण हो । 

    व्यावसायिक खाद्य सेवामा यो प्रणाली कार्यान्वयनमा आएसँगै व्यक्तिको खाद्य आचरणमा पनि सुधार आउने महानगरपालिकाको अपेक्षा छ । यसले व्यक्तिव्यक्ति हुँदै परिवार परिवारमा खाद्य सजगता वृद्धि हुनेछ । 
     

  • प्रकाशित मिति आइतबार​ १८ असोज २०८३ ०९:५५ AM