Logo
  • वि.सं.: २०८२, वैशाख २४ बुधबार

  • इ.स.: 2025 May 7,WEDNESDAY

  • वि.सं.: २०८२, वैशाख २४ बुधबार

  • महानगरपालिकाले तालिम दिएका उद्यमीले उत्पादन गरेका सेनिटरी प्याडको गुणस्तर परीक्षण गरेर सामुदायिक विद्यालयका छात्रालाई वितरण समन्वय गर्न उपप्रमुख डंगोलको निर्देशन

    आर्थिक वर्ष २०८०/०८१ मा महानगरपालिकाभित्रका १९ हजार ९४६ जना छात्रालाई सेनिटरी प्याड वितरण 

    काठमाडौँ । महानगरपालिकाले तालिम दिएका उद्यमीहरुका उत्पादनसँग बजारीकरण र वितरणका अन्य कार्यक्रमलाई अन्तरसम्बन्धित बनाउन काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले सामाजिक विकास विभागलाई निर्देशन दिनुभएको छ । सेनिटरी प्याड वितरण तथा व्यवस्थापन कार्यविधिको व्यवस्था उधृत गर्दै उहाँले, भन्नुभयो, ‘स्थानीय स्रोत, ज्ञान, सिप र उद्यमशील प्रवर्धन हुने गरी स्थानीय स्तरमा नै सेनिटरी प्याडको उत्पादन, उपयोग र वितरण गर्न सक्ने व्यवस्था छ । यसका लागि सामाजिक विकास विभागले सेनिटरी प्याड उत्पादनका लागि महानगरपालिकाले नै तालिम दिएका उद्यमीहरुले उत्पादन गरेका प्याडको गुणस्तर प्रयोगशालाबाट परीक्षण गराउनु । यसरी उत्पादन भएका गुणस्तरीय प्याडहरु प्रचलित खरिद कानुनबमोजिम सामुदायिक विद्यालयका छात्राहरुलाई वितरण गर्न लागि शिक्षा विभागसँगको समन्वय गर्नु । यसबाट मात्र स्थानीय उद्यमीका उत्पादनहरुको प्रवर्धन हुन्छ ।’ आज सेनेटरी प्याड वितरण तथा व्यवस्थापन समितिको बैठकमा उहाँले यस्तो निर्देशन दिनुभएको हो । 

    काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ मा १९ हजार ९४६ जना छात्रालाई सेनिटरी प्याड वितरण गरेको छ । एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली र विद्यालयबाट प्राप्त भएको निवेदनका आधारमा ८६ वटा विद्यालयहरुलाई प्याड खरिदका लागि रकम निकासा पठाएको थियो । सेनिटरी प्याड वितरण तथा व्यवस्थापन निर्देशिका २०७६ को नियम २० (६) मा स्थानीय तहले निर्णय गरेर विद्यालयमा रकम पठाउन सक्ने व्यवस्था गरेको उल्लेख गर्दै विभागले विद्यालयमा रकम निकासा पठाएको जानकारी दिएको हो । यसरी पठाएको रकम अङ्क १ करोड ४३ लाख ६१ हजार १२० रुपैयाँ छ ।  

    वितरित प्याड प्रयोगमैत्री हुनु पर्नेमा जोड दिँदै बैठकका अध्यक्ष डंगोलले छात्राहरुको उमेर, शारीरिक बनावटका आधारमा स्वच्छ, गुणस्तरीय र वातावरणमैत्री रुपमा नष्ट गर्न सकिने खालको प्याड वितरण सुनिश्चित हुनु पर्ने धारणा राख्नुभयो । 

    यो शिक्षा क्षेत्रको कार्यक्रम हो । यसका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘सेनिटरी प्याड वितरण तथा व्यवस्थापन निर्देशिका’ जारी गरेको छ । यसअनुसार उपप्रमुखको संयोजकत्वमा समिति गठन हुने व्यवस्था छ । यसमा १ जना कार्यपालिका सदस्य र प्रधानाध्यापकमध्येबाट २ जना सदस्य रहने व्यवस्था छ । 

    महानगरका सामुदायिक विद्यालयहरुमा ०७६ सालबाट प्याड वितरण सुरु भएको हो । शिक्षा विभागका प्रमुख गोविन्द्रप्रसाद शर्माका अनुसार प्याड वितरण सम्बन्धी विद्यालयले प्याड वितरण सम्बन्धी नाम नामेसीसहितको विवरण उपलब्ध गराउनुपर्छ । कतिपय विद्यालयले विवरण पठाएका छन् । कतिबाट पठाउन बाँकी छ । 

    छात्राहरुलाई विद्यालयका सम्पर्क व्यक्तिले एउटा महिनावारी चक्रका लागि बढीमा १६ वटासम्म प्याड उपलब्ध गराउने गरिएको छ । 

    बैठकमा पदमकन्या माध्यमिक विद्यालयका प्रधानाध्यापक रीता तिवारीले, कक्षा ४ र ५ मा अध्ययन गर्ने बालिकाहरुमा पनि मासिक स्राव सुरु हुने गरेको अनुभव सुनाउनुभयो । कतिपय छात्राहरुको अधिक स्राव हुन्छ । ती छात्रालाई धेरै प्याड चाहिन सक्छ । तिवारीको भनाइ छ । 


     

  • प्रकाशित मिति मंगलबार २३ वैशाख २०८२ ०७:४५ PM