वि.सं.: २०८२, माघ २४ शनिबार
इ.स.: 2026 February 7,SATURDAY
वि.सं.: २०८२, माघ २४ शनिबार
महिलाहरुमा हुने पाठेघरको मुखको क्यान्सरबाट बच्न खोप र नियमित परीक्षण गराउनुपर्छ – कार्यवाहक प्रमुख डंगोल
काठमाडौँ । माघ २७ गतेदेखि काठमाडौँ महानगरपालिकाभित्र महिलाहरुको पाठेघरको मुखमा हुने क्यान्सर विरुद्ध एपपीभी खोप सञ्चालन हुने भएको छ । आज महानगरमा कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको स्थानीय तह स्तरीय खोप समन्वय समितिको वैठकले खोप सञ्चालन सम्बन्धी विषयमा छलफल गर्दै यस्तो निर्णय गरेको हो । यो खोप कक्षा ६ मा अध्ययनरत सबै छात्रा र विद्यालय वाहिर रहेका १० वर्ष उमेरका किशोरीहरुलाई दिइन्छ ।
यस्तै गएको वर्षको खोप कार्यक्रममा छुटेका अहिले कक्षा ७ देखि १० सम्म अध्ययनरत छात्राहरु र विद्यालय बाहिर रहेका ११ वर्षदेखि १४ वर्ष उमेर समूहका किशोरीहरुलाई पनि यो खोप दिइनेछ ।
बैठकमा कार्यवाहक प्रमुख डंगोलले, पाठेघरको मुखको क्यान्सरलाई जनस्वास्थ्य समस्याका रुपबाट बाहिर निकाल्न खोप, स्क्रिनिङ् र उपचार गरेर ३ चरणका कार्यक्रमलाई प्रभावकारी बनाउँदै लैजानु पर्ने बताउनुभयो । ‘यी हरेक चरणका कार्यक्रममा ९० प्रतिशत लक्ष्य हासिल गर्ने सरकारको लक्ष्य पूरा गर्न सहभागितामूलक कार्यक्रम सञ्चालन गरौँ र नतिजामा पुगौँ ।’ उहाँले आग्रह गर्नुभयो ।
पाठेघरको मुखको क्यान्सरबाट बच्ने ३ चरणका उपायमध्ये, १० वर्षदेखि १४ वर्षसम्म उमेरका किशोरीहरूले एचपीभी खोप लगाउनु पहिलो उपाय हो । दोस्रो उपायमा ३० वर्षभन्दा माथिको उमेरका हरेक महिलाले पाठेघरको मुखको परीक्षण (स्क्रिनिङ्ग) गराउनु पर्छ । तेस्रोमा पाठेघरको मुखको क्यान्सर रोग पहिचान भएका महिलाले उपचार गराउनु पर्छ ।
स्वास्थ्य तथा शिक्षा समितिका संयोजक चिनीकाजी महर्जन भन्नुहुन्छ, ‘सरकारले यो कार्यक्रमलाई सेवामूलक बनाएको छ । पैसा तिर्नु नपर्ने भएपछि मानिसहरुले अनेक अड्कल र शंका गर्ने गरेका छन् । तर, यो खोप छात्राहरुलाई पो निःशुल्क हो । कसैले मूल्य नलगाइ त कसरी प्राप्त हुन्छ र?’ पैसा तिरेर खोप लिँदा उपभोक्ताले यसको गुणस्तरका बारेमा प्रश्न गरेको देखिँदैन । सरकारले निःशुल्क दिँदा किन गुणस्तरको प्रश्न पेचिलो हुने गरेको छ । यस विषयमा सर्वसाधारणलाई बुझाउनु पर्छ । उहाँको भनाइ थियो ।
महानगरपालिकाले ३० जना छात्रालाई खोप दिनु पर्ने विद्यालयलाई एउटा खोप केन्द्र बनाएर कार्यक्रम सञ्चालन गर्दैछ । ३० जनाभन्दा कम विद्यार्थी भए भने संयुक्त खोप केन्द्र सञ्चालन हुनेछ । स्वास्थ्य विभागका प्रमुख दिपककुमार के. सी. ले भन्नुभयो, ‘लक्षित छात्राहरुलाई समेट्न विभागले जनप्रतिनिधि, स्वास्थ्य प्रवर्धन केन्द्र र स्वयमसेवक समेटेर सुक्ष्म योजना बनाएका छौँ । गएको वर्षभन्दा यस वर्षको कभरेज धेरै बनाउन साथसाथै काम गरौँ ।’
‘नेपालमा हरेक वर्ष करिब १ हजार ३१३ जना महिलामा पाठेघरको मुखको क्यान्सर पत्ता लाग्ने गरेको छ । पत्ता लागेकामध्ये हरेक ६ जनामध्ये ३ जाको मृत्यु हुने गरेको छ ।’ परिवार कल्याण महाशाखा, बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौत्तमले भन्नुभयो, ‘खोप परीक्षणका लागि ल्याइएको भन्ने गलत प्रचार पनि पाइन्छ । यो विश्व स्वास्थ्य संगठनले शिफारिस गरेको र नेपालका औषधि व्यवस्था विभागमा दर्ता छ । यो शतप्रतिशत सुरक्षित छ ।’
खोप केन्द्र, वडा क्लिनिक र स्वास्थ्य प्रवर्धन केन्द्रले विद्यालयहरुसँग समन्वय गरेर निर्धारण गर्नेछन् । जनस्वास्थ्य अधिकृत तथा खोप कार्यक्रमका फोकल पर्सन मैयाँ सैजुका अनुसार विद्यालयमा खोप लिन छुटेका र विद्यालयभन्दा बाहिरका किशोरीहरुका लागि कार्यक्रमको अन्तिम दिन स्वास्थ्य प्रवर्धन केन्द्रबाट खोप दिइनेछ ।
गएको वर्ष महानगरपालिकाले ३९ हजार ३१३ जना छात्रालाई यस प्रकारको खोप दिएको थियो ।
पाठेघरको मुखको क्यान्सरका कारण नेपालमा प्रत्येक दिन ४ जना महिलाहरूको मृत्यु भइरहेको छ । महिलाहरुलाई क्यान्सर मृत्यु हुनेमा पाठेघरको मुखको क्यान्सर पहिलो कारण हो । यो क्यान्सर ह्यूमन प्यापिलोमा भाइरसको संक्रमणबाट हुन्छ । यो भाइरसलाई एच.पि.भी. भाइरस भनिन्छ । एचपिभी भाइरसबाट संक्रमित व्यक्तिसँग यौन सम्पर्क हुँदा यो भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्न सक्छ । यसबाट पटक पटक संक्रमण भएर २० वर्षसम्म संक्रमण रह्यो भने पाठेघरको मुखको क्यान्सर हुन सक्छ ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App