Logo
  • वि.सं.: २०८३, साउन २२ शुक्रबार​

  • इ.स.: 2026 August 7, FRIDAY

  • वि.सं.: २०८३, साउन २२ शुक्रबार​

  • १२ वटा सामुदायिक विद्यालयको भौतिक विकास गर्न ६२ करोड २८ लाख रुपियाँ लागतमा खरिद प्रक्रिया 

    'बालबालिकाको शारीरिक, मानसिक तथा सामाजिक जस्ता चौतर्फी पक्षको सन्तुलित विकासका लागि शिक्षामा लगानी बढाएका हौँ ' – कार्यवाहक प्रमुख, डंगोल

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाले १२ वटा सामुदायिक विद्यालयको पूर्वाधार विकास तथा सुधारका लागि छुट्टाछुट्टै बोलपत्रमार्फत करिब ६२ करोड २८ लाख रुपियाँ लागतको खरिद प्रक्रिया अगाडि बढाएको छ । विद्यालयहरूको भौतिक अवस्थालाई प्रचलित मापदण्ड अनुकुल बनाउन विद्यार्थी संख्या, जग्गाको स्वामित्व, भौगोलिक जोखिम र पूर्वाधारको आवश्यकताका आधारमा लगानी बढाएको हो । यसका लागि सहरी योजना आयोगबाट अध्ययन गरिएको थियो । अध्ययनबाट प्राप्त तथ्यका आधारमा खरिद प्रक्रिया अगाडि बढाएको हो । 

    ‘सामुदायिक शैक्षिक गुणस्तरलाई प्रतिस्पर्धी र समयको माग अनुरुप बनाउन हामीले लगानी बढाएका छौँ ।’ योजना कार्यान्वयनका विषयमा कार्यवाहक प्रमुख सुनिता डंगोल भन्नुहुन्छ, ‘बालमैत्री सिकाइ, प्रविधिमा आधारित कक्षा कोठा, वातावरणीय सुधार र सजावट, प्रयोगात्मक अभ्यासको अवसर जस्ता सुविधालाई समान रुपमा वितरण गर्ने हाम्रो योजना छ । हामीले गरेको लगानीबाट शिक्षकहरुलाई शिक्षणका लागि प्रोत्साहन हुनेछ । विद्यार्थीहरुलाई सिकाइप्रति रुचि जाग्नेछ । समग्रमा, बालबालिकाको शारीरिक, मानसिक तथा सामाजिक जस्ता चौतर्फी पक्षको सन्तुलित विकास सबल बन्नेछ ।’

    ‘माध्यमिक तहसम्मका विद्यालय व्यवस्थापनको जिम्मेवारी स्थानीय तहको हो । यसका लागि हामी संघ सरकारको सहयोग र समन्वयमा आर्थिक, प्राविधिक तथा व्यवस्थापकीय रुपमा काम गरिरहेका छौँ ।’ शिक्षा स्वास्थ्य समितिका संयोजक चिनीकाजी महर्जन भन्नुहुन्छ, ‘हामीले गरेको लगानीबाट शैक्षिक क्रियाकलापमा नतिजा आउन थालेको छ ।’

    शिक्षा विभागका प्रमुख नमराज ढकालका अनुसार महानगरले प्रत्येक विद्यालयको जीपीएस लोकेसन, विद्यार्थी र जग्गाको अनुपात, बाढी जस्ता प्राकृतिक जोखिमको अवस्था अध्ययन गरेपछि मात्र लगानीको प्रस्ताव अगाडि सारिएको हो । लगानीको आधार पनि यही हो । 

    शिक्षा विभागका महाशाखा प्रमुख सुशिल सुवेदीका अनुसार विभिन्न विभाग र वडाबाट खरिद प्रक्रिया अगाडि बढाइएको हो । जसमा शिक्षा विभागबाट वडा नं. १४ मा रहेको जनविकास माध्यमिक विद्यालय र वडा नं. २८ मा रहेको पद्मोदय माध्यमिक विद्यालयको भवन निर्माणको प्रक्रिया अगाडि बढाएको हो । यसको लागत क्रमशः ५ करोड ६७ लाख ६८ हजार ८६२ रुपियाँ र १५ करोड ३५ लाख ८४ हजार रुपियाँ रहेको छ । 

    सार्वजनिक निर्माण विभागबाट ६ वटा विद्यालयको खरिद प्रक्रिया अगाडि बढाएको छ । जसमा वडा नं. २४ मा रहेको श्री कान्ति ईश्वरी राज्यलक्ष्मी आधारभूत विद्यालय, वडा नं. २६ मा रहेको शान्ति विद्यागृह माध्यमिक विद्यालयको भवन निर्माण र वडा नं. २९ को अटिजम स्कूल निर्माण विभागले अगाडि बढाएका नवनिर्माणका ठुला योजना हुन् । यी योजनाहरुको लागत क्रमशः ५ करोड ५७ लाख ४९ हजार रुपियाँ, ८ करोड ५७ लाख ४२ हजार रुपियाँ र १० करोड ९१ लाख ७९ हजार रुपियाँ रहेको छ । 

    यस्तै विभागबाट १ करोड ८३ लाख २९ हजार रुपियाँ लागतमा दरबार हाइस्कूलको वहुउद्देश्यीय सभा कक्ष, ८४ लाख १२ हजार रुपियाँ लागतमा महेन्द्र बौद्ध मा. वि. को मर्मत कार्य, ९ करोड ६२ लाख ५४ हजार रुपियाँमा कन्या माध्यमिक विद्यालयको छात्राबास र कक्षा कोठा निर्माण कार्य खरिद प्रक्रियामा गइसकेको छ । 

    वडा नं. १३ ले १ करोड ६६ लाख ७२ हजार रुपियाँ लागतमा ज्ञानोदय मा. वि. को भवन निर्माणको प्रक्रिया अगाडि बढाएको छ । यस्तै वडा नं. ३ ले २ करोड २६ लाख ८५ हजार रुपियाँ लागतमा रानीदेवी माध्यमिक विद्यालय भवन निर्माण र वडा नं. २२ ले ७० लाख २९ हजार लागतमा आदर्श मा. वि., गणवहालको जमिन तलाको मर्मत तथा सुधार कार्यको खरिद प्रक्रिया अगाडि बढाएका छन् । 

    जग्गाको स्वामित्वमा रहेको कानुनी जटिलता र सीमित क्षेत्रफलका कारण कुनै विद्यालयमा नयाँ भवन निर्माण गर्ने, कुनैमा मर्मत सम्भार र सुधार गर्ने त कतै कक्षा कोठा, सभा कक्ष निर्माण हुनेछ । यो, स्रोत परिचालनमा प्राविधिक र व्यवस्थापकीय कुशलता हो । 

    महानगरपालिकाले सामुदायिक विद्यालयको पूर्वाधारमा गरेको यो लगानीले शैक्षिक गुणस्तरलाई अन्य क्षेत्रसँग प्रतिस्पर्धी बनाउन, सुरक्षित शैक्षिक क्रियाकलाप सुनिश्चित गर्न र प्रविधिमैत्री शैक्षिक हबका रूपमा स्थापित हुन मद्दत पुग्नेछ । 

    महानगरपालिकाभित्र २ वटा कारागारमा भएका विद्यालय सहित ८३ वटा सामुदायिक विद्यालय छन् । 

  • प्रकाशित मिति शुक्रबार​ २२ साउन २०८३ ०७:४१ PM