वि.सं.: २०८२, माघ २७ मंगलबार
इ.स.: 2026 February 10,TUESDAY
वि.सं.: २०८२, माघ २७ मंगलबार
आर्थिक वर्ष २०८०/०८१ बाट कार्यान्वयनमा आएको यो योजना अन्तर्गत यस वर्षका लागि ५ करोड रुपियाँ विनियोजित
काठमाडौँ । सामुदायिक विद्यालयको सुन्दरता र स्वच्छता बढाउन काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले विद्यार्थी, शिक्षक र अभिभावकलाई एकै ठाउँमा राखेर अभिमुखीकरण आयोजना गरेको छ । वडा नं. १ देखि १५ सम्मका विद्यालय र वडा नं. १६ देखि ३२ सम्मका विद्यालयहरुलाई छुट्टाछुट्टै समूह बनाएर अभिमुखीकरण आयोजना गरेको हो । २ समूहमा गरी २४५ जनाले भाग लिनुभयो ।
विद्यार्थीहरुको नेतृत्व र सहभागितामा विद्यालयहरुलाई स्वच्छ र सुन्दर बनाउन महानगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ देखि स्वर्णिम योजना ‘सुन्दर विद्यालय’ कार्यान्वयनमा ल्याएको छ । विद्यालयहरुलाई सुन्दर, कलात्मक र हरियाली बनाउन यस वर्षका लागि ५ करोड रुपियाँ विनियोजन गरिएको छ । जसमध्ये विद्यार्थीमार्फत कक्षा कोठा सजावट गर्न सामग्री खरिद अनुदानका लागि ४९ लाख रुपियाँ, विद्यालय हाताको सौन्दर्य बढाउन ८५ लाख रुपियाँ, हरियाली प्रवर्धन र फोहर व्यवस्थापनका लागि ३ करोड ५० लाख रुपियाँ विनियोजित छ ।
अभिमुखीकरणमा शिक्षा स्वास्थ्य समितिका संयोजक चिनीकाजी महर्जनले, जसका लागि कार्यक्रम ल्याइएको हो । जसले योजना कार्यान्वयन गर्ने हो । उसैसँग बसेर कार्यान्वयन योजना तयार गर्ने क्रममा शिक्षक, अभिभावक र विद्यार्थीहरुसँग एकै ठाउँमा बसेर छलफल गरिएको बताउनुभयो । समतामूलक समाज निर्माणमा शिक्षा नै आधार भएको धारणा राख्दै महर्जनले भन्नुभयो, ‘सामुदायिक विद्यालयहरुमा सुशासनयुक्त प्रशासन र पारदर्शी वित्तीय व्यवस्थापनको जग बसाएर विद्यार्थीहरुलाई व्यावहारिक, प्रयोगात्मक र समयानुकुल शिक्षा प्रदान गर्ने लक्ष्य पूरा गर्नुु पर्नेछ । यसका लागि सरकारको गतिमा विद्यालय, शिक्षक, विद्यार्थी र अभिभावकको लय एउटै बनाउन आवश्यक छ । यसका लागि हामी एकै ठाउँमा भेला भएका हौँ ।’
महानगरपालिकाले सामुदायिक शिक्षाको गुणस्तर सुधारका लागि बढाएको लगानीबाट प्रतिफलको अपेक्षा गरेको छ । शिक्षा विभागका प्रमुख नमराज ढकालले भन्नुभयो, ‘विद्यालयमा विद्यार्थीहरुले सिक्ने स्वच्छताको अभ्यासले जीवनभर सकारात्मक नतिजा दिन्छ । यो पनि सिकाइको एउटा चरण हो ।’
अभिमुखीकरणमा शिक्षा अधिकृत केशव ज्ञवालीले शिक्षक, अभिभावक, स्रोत शिक्षक, विद्यार्थीका साझा बुझाइ र भिन्नता थाहा पाउन अन्तरक्रिया गराउनुभएको थियो । यसबाट सुन्दर विद्यालय परियोजना, नयाँ र जीवन उपयोगी भएको समान मत भेटियो । यसलाई सञ्चालन गर्ने विधि र सहभागिताका पक्षमा भने फरक फरक मत आएका थिए ।
कार्यक्रम कार्यान्वयनका लागि विद्यालयहरुमा बुक फ्री फ्राइडे अन्तर्गत बालबालिका र वातावरण (वाबा) उपसमूह गठन गरिएका छन् । समूहलाई नेतृत्व निर्देशन गर्न फोकल शिक्षक तोकिएको छ । श्रमप्रति सम्मान बोध गराउन, सामाजिकीकरण तथा सामाजिक उत्तरदायित्व सिकाउन, पर्यावरणको रक्षा गर्न, स्वच्छता सम्बन्धी जीवन उपयोगी सिप विकास गर्न यो उपसमूह निर्माण गरिएको हो । परियोजनाका फोकल पर्सन शिक्षा अधिकृत लक्ष्मी पौडेल भन्नुहुन्छ, ‘विद्यालय हाता, कक्षा कोठा, बगैँचा, शौचालयको सरसफाइ, फुलबारी बनाउने, हाताभित्र औषधिजन्य जडीवुटीका विरुवा रोप्ने, गमला राख्ने, आफ्नो कक्षा कोठा र आफूले उत्पादन गरेको फोहर आफैँ व्यवस्थापन गर्ने, विद्यालय हातालाई धुलोरहित बनाउने, भित्तामा चित्र बनाउने, प्रेरणादायी भनाइहरु लेख्ने जस्ता काम यस परियोजनामा विद्यार्थीहरुले नेतृत्व गर्छन् । आवश्यक सामग्री विद्यालयले उपलब्ध गराउँछ ।’
यस प्रकारका अभिमुखीकरणले योजना कार्यान्वयनमा सहज हुनेछ । वरिष्ठ अधिकृत शुशिल सुवेदी भन्नुहुन्छ, ‘सरसफाइ संस्कार हो । विद्यालय उमेरमा यसको अनुभूति गराउनु ठुलो उपलब्धी हो ।’



निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App