प्रारम्भिक बाल विकासदेखि कक्षा ९ र १० सम्मका शिक्षकलाई दिइने तालिमबाट शिक्षण क्षमता विकास र एसइई नतिजा सुधार गर्ने लक्ष्य
काठमाडौँ । काठमाडौँ महानगरपालिकाकाको शिक्षा विभागले ७२० जना शिक्षकका लागि विषयगत, प्रारम्भिक बाल विकास केन्द्र सञ्चालन व्यवस्थापन र एकीकृत पाठ्यक्रम विषयमा तालिम आयोजना गर्ने भएको छ । ‘टिचर कलेज कार्यक्रम’अन्तर्गत शिक्षकहरुको क्षमता विकास गराएर यसबाट प्राप्त योग्यता र सिपलाई नतिजा सुधारको लक्ष्य राखेर तालिम सञ्चालन गर्न लागिएको हो । माघ ३ गते सुरु हुने तालिममा महानगरपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका जुनसुकै विद्यालयमा अध्यापन गराइरहेका शिक्षकलाई सहभागी गराइनेछ । तालिममा सहभागी हुन महानगरपालिकाले जारी गरेको क्युआर कोड वा लिङ्कबाट आवेदन गर्न सकिनेछ ।
आवेदकमध्येबाट सामुदायिक विद्यालयका शिक्षकलाई छनोट प्राथमिकतामा राखिनेछ । शिक्षकको क्षमता विकास गराएर शैक्षिक क्रियाकलापलाई सिर्जनात्मक, एकीकृत, सिप र व्यवहारमा आधारित बनाउने लक्ष्य राखेर सञ्चालन गर्न लागिएको तालिममा ७२० जना शिक्षकलाई सहभागी गराइनेछ । यसमा काठमाडौँ महानगरपालिकाभित्र स्थायी बसोबास भएका र महानगरपालिकाभित्रका जुनसुकै विद्यालयमा अध्यापन गराइरहेका शिक्षकलाई दोस्रो प्राथमिकतामा राखिने । स्थायी बसोबास जहाँको भए पनि काठमाडौँ महानगरपालिकाभित्रका जुनसुकै विद्यालयमा अध्यापन गराउने शिक्षकलाई छनोटको तेस्रो प्राथमिकतामा राखिएको छ ।
शिक्षा विभागले आज शिक्षकहरुलाई तालिम सम्बन्धी सूचना जारी गरेको छ । यसअन्तर्गत माघ ३ र ४ गते कक्षा १० का गणित, विज्ञान, सामाजिक, नेपाली, अंग्रेजी, अर्थशास्त्र विषयका शिक्षकहरुलाई तालिम हुनेछ । हरेक विषयमा ६० जना शिक्षकलाई तालिममा सहभागी गराइनेछ ।
माघ ३ गतेदेखि ८ गतेसम्म प्रारम्भिक बाल विकास केन्द्रका शिक्षकहरुका लागि केन्द्र सञ्चालन व्यवस्थापनका लागि तालिम हुनेछ । यस समूहमा ९० जना शिक्षकलाई सहभागी गराइनेछ ।
कक्षा १ देखि कक्षा ३ सम्म अध्यापन गराइरहेका २७० जना शिक्षकलाई माघ ३ गतेदेखि माघ ७ गतेसम्म तालिम सञ्चालन हुनेछ । एकीकृत पाठ्यक्रम तथा निर्माणात्मक मूल्याङ्कन यस समूहका शिक्षकलाई प्रदान गरिन लागेको हो ।
यो क्युआर कोड स्क्यान गरेर प्राप्त हुने फाराममा विवरण भरेर पनि आवेदन दिन सकिनेछ ।
यसरी सञ्चालन हुने तालिमले शिक्षकको वृत्ति विकास र विद्यार्थीको नतिजा सुधार दुवै पक्षमा सकारात्मक नतिजा ल्याउने महानगरपालिकाको अपेक्षा छ ।
तालिममा सहभागी हुन इच्छुक शिक्षकहरुले माघ २ गते दिउँसो १ बजेभित्रमा अनलाइनबाट आवेदन दर्ता गराउनु पर्नेछ । तालिममा सहभागी आवेदकको नाम र तालिम केन्द्र यसै दिन प्रकाशन गरिनेछ ।
यो लिङ्क थिचेर प्राप्त हुने फाराममा विवरण भरेर आवेदन दिन सकिनेछ । https://shorturl.at/Ey4Jr