Logo
  • वि.सं.: २०८३, असर २७ शनिबार

  • इ.स.: 2026 July 11,SATURDAY

  • वि.सं.: २०८३, असर २७ शनिबार

  • वडा नं. १८ ले तपिंताँ पार्कमा काठमाडौँ महानगरपालिकाका संस्थापक प्रमुख स्वर्गीय सिंहको प्रतिमा राख्यो : कार्यवाहक प्रमुखबाट अनावरण

    अनावरण कार्यक्रममा स्व. सिंहको व्यक्तित्व माथि चर्चा

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाको वडा १८ ले तपिंताँ पार्कमा महानगरपालिकाका पूर्व प्रमुख स्वर्गीय प्रेमलाल सिंह (पीएल सिंह) को प्रतिमा राखेको छ । आज एक कार्यक्रम बिच महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले, प्रतिमा अनावरण गर्नुभयो । कार्यक्रममा स्वर्गीय सिंहको स्मृतिमा १ मिनेट मौन धारण गरिएको थियो । यस्तै प्रतिमामा पुष्पगुच्छा अर्पण गरिएको थियो । यस क्रममा कार्यवाहक प्रमुख डंगोलसहित वडाध्यक्षहरु, कार्यपालिका सदस्य, वडा सदस्यहरु, सिंहका परिवारका सदस्यहरु र स्थानीयबासी सहभागी हुनुहुन्थ्यो । 

    करिब ९ लाख ३८ हजार रुपियाँ लागतमा निर्माण भएको धातुको प्रतिमा मूर्तिकार श्याम तुलाधरले बनाउनुभएको हो । स्व. सिंहसँगै वडाले पुष्पलाल पार्कमा मनमोहन अधिकारी, मदन भण्डारी, पुष्पलाल श्रेष्ठ, पद्मरत्न तुलाधर र शंखधर साख्वाको प्रतिमा राखेको छ । यस्तै किलागलमा नारायण गोपालको, तुन्छे गल्लीमा चित्तधर हृदयको र वडा कार्यालयमा चन्द्रानन्द नेवाको प्रतिमा स्थापना गरेको छ । वडामा जन्मिएर वा वडामा बसेर राजनीति, गीत, संगीत, सामाजिक सेवालगायत क्षेत्रबाट वडाको पहिचान अभिवृद्धि गर्न योगदान गर्नुहुने व्यक्तित्वहरुको प्रतिमा राखिएको हो । 

    प्रतिमा अनावरण गर्दै कार्यवाहक प्रमुख डंगोलले, इतिहास मेटेर होइन, पुस्तान्तरण गर्ने वडाको उदार कार्यक्रमको प्रशंशा गर्नुभयो । स्व. सिंहको व्यक्तित्वमाथि चर्चा गर्दै उहाँले भन्नुभयो, 'नागरिकलाई आफ्नो ठानेर सेवाको संस्कार बसाएर उहाँले जुगजुगसम्मका लागि नागरिक र महानगरपालिकालाई जोडेर जानुभएको छ । उहाँका योजनामा जोडिएर आज पनि हामीले काम गरिरहेका छौँ । यसकारण उहाँ मार्गदर्शक मात्र नभएर नागरिक र सरकार जोड्ने सम्बन्ध सेतु पनि हुनुहुन्छ ।’

    कार्यक्रममा वडाध्यक्ष न्हुच्छेकाजी महर्जनले, युगलाई बाटो देखाएर परलोकको यात्रामा जानुभएका सिंहले, प्रजातन्त्र र लोकतन्त्रका लागि व्यक्तिगत र पारिवारिक अपेक्षा, आकांक्षा त्यागेर नागरिककै लागि जीवन अर्पण गर्नु सामान्य त्याग नभएको उल्लेख गर्नुभयो । ‘उहाँ हाम्रो वडाको पहिचान र गौरव हुनुहुन्छ । उहाँले थालनी गरेको स्वच्छ, सफा हराभरा काठमाडौँ कार्यक्रम अहिले पनि हामी कार्यान्वयन गरिरहेका छौँ ।’ महर्जनले सिंहको व्यक्तित्व र उहाँका योजनाहरुको चर्चा गर्नुभयो । 

    २०३५ सालमा आफू मजदुर आन्दोलनका क्रममा पक्राउ परेको बेला भेट्न आउँदा सिंहसँग पहिलो भेट भएको प्रसङ्ग उल्लेख गर्दै वडा ११ का वडाध्यक्ष हीरालाल तण्डुकारले भन्नुभयो, ‘उहाँ असाधारण व्यक्ति हुनुहुन्थ्यो । प्रजातन्त्र र लोकतन्त्रप्रति त्याग, सहर निर्माणका लागि दृष्टि र योजना शव्दमा उतार्न सकिँदैन ।’ 

    उहाँ पदमा हुँदा, राजनीतिमा सक्रिय हुँदा भेट्न आउनेहरुको भिड हुन्थ्यो । उत्तरार्ध कालमा जव उहाँ विरामी पर्नुभयो । त्यसपछि उहाँलाई बोलाउन कोही आएनन् । ठुलो बाका बारेमा आफूले थाहा पाएको कुरा बताउँदै सिंहका भतिज डा. जेनिथ लाल सिंहले भन्नुभयो, ‘ठुलो सानो, आफ्नो अर्काको भनेर नछुट््याइ निस्वार्थ सेवा गर्ने उहाँको व्यक्तित्व पछ््याउने प्रयासमा छु । यसबाट उहाँको सपना पूरा हुनमा केही योगदान हुनेछ ।’

    साविक स्थानीय निकायलाई ‘निर्णय गर्ने’ र ‘निर्णय कार्यान्वयन गर्ने’ अधिकार प्रदान गर्न सिंहको अहम योगदान महत्वपूर्ण मानिन्छ । उहाँको २०८१ पुस १ गते निधन भएको  हो । 

    प्रजातन्त्र पुनःस्थापना भएपछि भएको स्थानीय निर्वाचनबाट पहिलो प्रमुखका रुपमा निर्वाचित भएपछि उहाँको दृष्टि स्थानीय स्वायत्ततामा थियो । २०४९ सालको स्थानीय निर्वाचनबाट काठमाडौँ नगरपालिकाको प्रमुखका रुपमा निर्वाचित सिंहले २०५२ साल मंसिर २९ गते महानगरपालिका घोषणा गरेर महानगरपालिकाको प्रमुख बन्नुभएको थियो ।

    वि. सं. १९९६ साल चैत ११ गते ताम्सिपाखामा जन्मनुभएका सिंह जीवनको अन्तिम समयमा उपचारसँगै ठमेल चाक्सीबारी निवासमा हुनुहुन्थ्यो । अल्सर भएपछि २०८० सालमा उहाँको पेटको शल्यक्रिया गरिएको थियो । 

  • प्रकाशित मिति शनिबार २७ असर २०८३ ०५:३१ PM