१८ वटा छनोट केन्द्रबाट कार्तिक मसान्तभित्र खेलाडी छनोट सकिने : मंसिर १ गतेदेखि सामुदायिक विद्यालयहरुमा खेल प्रशिक्षण, माघमा प्रतियोगिता
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीमध्ये विभिन्न खेल प्रशिक्षणमा इच्छा व्यक्त गर्ने १० हजार ९९५ जना खेलाडीबाट छनोट प्रक्रिया अगाडि बढाएको छ । यस क्रममा आज विद्यालय निरीक्षक, स्रोत शिक्षक, प्रधानाध्यापक, खेल शिक्षकहरुका बिच कार्य सञ्चालन योजनाका विषयमा अन्तरक्रियात्मक अभिमुखीकरण आयोजना गरियो ।
स्वर्णिम योजना ‘रचनात्मक विद्यालय’ अन्तर्गत कक्षा ४ देखि १२ सम्मका विद्यार्थीहरुका लागि प्रशिक्षण सञ्चालन गर्न लागेको हो । सहरी योजना आयोगका सहायक विज्ञ सस्मित पोखरेलका अनुसार १६ वटा खेल विधामध्ये सबैभन्दा धेरै फुटबलमा २ हजार ३८ जनाले सहभागी हुन इच्छा व्यक्त गरेका छन् । फुटबलपछि व्याटमिन्टन (१,२४७ जना), भलिबल (१,२४७ जना), क्रिकेटमा (९६० जना), तेक्वान्दोमा (९२५ जना) विद्यार्थीले रुचिदेखाएका छन् ।
बास्केटबलमा (८,९९ जना), कराँते (८९३ जना), कवड्डी (६९० जना), एथलेटिक्स (५४९ जना), बक्सिङ् (४७१ जना), चेसमा (३४६ जना), टेबुलटेनिस (२७८ जना), खोखो (२४५ जना), हक्कीमा (१४९ जना), उसुमा (६६ जना) र जुडो (४० जना) जना विद्यार्थीको रुचि छ । पोखरेलकाअनुसार प्रारम्भिक अवस्थामा १७ वटा विधाका खेलमा विद्यार्थीको रुचि बुझ्दा १२ हजार १२१ जना विद्यार्थी आवेदनमार्फत इच्छा व्यक्त गरेका थिए । यसमा रहेको पौडी खेललाई जाडो मौसमका कारण अहिले हटाइएको छ । यसको सट्टा विद्यार्थीको रुचिका आधारमा एउटा विधा खेल थप्ने योजना रहेको पोखरेलको भनाइ छ ।
शिक्षा अधिकृत केशव ज्ञवालीकाअनुसार १८ वटा केन्द्रबाट कार्तिक मसान्तभित्र छनोट प्रक्रिया सम्पन्न हुनेछ । यसबाट छानिएका विद्यार्थीहरुलाई मंसिर १ गतेदेखि तालिम दिइनेछ । छनोट र तालिम सामुदायिक विद्यालयका विद्यार्थीबिच हुनेछ । मंसिर, पुस र माघ गरी करिब ३ महिनाभरि जुनियर छात्र र जुनियर छात्रा तथा सिनियर छात्रा र सिनियर छात्र गरी ४ समूहमा तालिम सञ्चालन हुनेछ । जुनियरमा कक्षा ४ देखि ८ सम्मका विद्यार्थीलाई र सिनियरमा कक्षा ९ देखि १२ सम्मका विद्यार्थीलाई सहभागी गराइनेछ । कक्षा १० का विद्यार्थीलाई भने खेलमा भन्दा एसइइको तयारीमा प्रोत्साहन गरिनेछ । खेलका तालिम चलाउन नियमित कक्षा अगाडि, पछाडि, विदाका दिन तथा लामो छुट्टीको अवधिलाई उपयोग गरिनेछ । यसपछि माघको अन्तिम सातातिर संस्थागत र सामुदायिक विद्यालयका विद्यार्थीहरुका बिचमा प्रतियोगिता आयोजना गरिनेछ ।
यसरी आयोजना हुने प्रतियोगितालाई अन्तरराष्ट्रिय मापन पद्धतिअनुसार सञ्चालन गरिनेछ । यसमा हार र जितभन्दा पनि खेल क्षेत्रको प्रवर्धनका मानकहरुलाई नतिजा प्राप्तिको सूचक बनाइनेछ ।
खेलका लागि सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाको अध्यक्षतामा ९ सदस्यीय निर्देशक समिति गठन भइसकेको छ ।
तस्विर : अमृत पाण्डे