Logo
  • वि.सं.: २०८३, भदौ २७ शनिबार

  • इ.स.: 2026 September 12,SATURDAY

  • वि.सं.: २०८३, भदौ २७ शनिबार

  • काठमाडौँलाई ‘आरोग्य सहर’ बनाउन टोल-टोलमा निःशुल्क योग र ध्यान केन्द्र सञ्चालन गरिने : महानगरपालिका र जीवन विज्ञान बिच सेवामा आधारित सहकार्यका लागि समझदारी

    ‘आरोग्यता निर्माणको नेतृत्व महानगरपालिकाले लिएको हो तर, यो हरेक नागरिक सक्रिय सहभागी हुनुपर्ने कार्यक्रम हो’ - कार्यवाहक प्रमुख, डंगोल

    काठमाडौँ । टोल टोलमा निःशुल्क योग र ध्यानमार्फत काठमाडौँलाई आरोग्य सहरका रुपमा विकास तथा प्रवर्धन गर्न महानगरपालिकाले ‘महानगर आरोग्य जीवन कार्यक्रम’ सञ्चालन गर्ने भएको छ । गएको असारमा सम्पन्न महानगरपालिकाको नगर सभा १९ औँ अधिवेशनबाट स्वीकृत ‘आरोग्य जीवनका लागि आयुर्वेद, वैकल्पिक चिकित्सा, योग, व्यायाम, प्राणायाम तथा ध्यानमार्फत शारीरिक, मानसिक, आत्मिक स्वच्छ जीवनशैली पद्धतिको प्रवर्धन गरिनेछ’ भन्ने नीति कार्यान्वयन गर्दै निःशुल्क योग र ध्यानका कार्यक्रम सञ्चालन गर्ने भएको हो । 

    कार्यक्रमका लागि महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल र जीवन विज्ञान प्रतिष्ठानका अध्यक्ष देवी शर्मा बिच समझदारी पत्रमा हस्ताक्षर भएको हो । व्यक्ति, परिवार र मानव समाजलाई आरोग्य जीवनमा अभ्यस्त गराउँदै पर्यावरण, सुशासन र समृद्धिको मार्गदर्शनमा अभ्यस्त गराउनु समझदारीको सैद्धान्तिक पक्ष हो । आरोग्यताको आदर्श र संस्कृतिमा आधारित ‘स्वस्थ नागरिक, आरोग्य’ नगर' कार्यक्रमको अवधारणा हो । 

    सम्झौता अवसरमा प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्याल, प्रवक्ता नविन मानन्धर, स्वास्थ्य तथा शिक्षा समितिका संयोजक चिनीकाजी महर्जन, कार्यपालिका सदस्यहरु, कर्मचारी, स्वास्थ्यकर्मी, महानगर प्रहरी, न्यायिक सहजकर्ता, अपांगता भएका व्यक्तिहरु तथा प्रतिनिधिमूलक रुपमा महानगरबासीको उपस्थिति थियो । 

    सम्झौतापछि बोल्दै कार्यवाहक प्रमुख डंगोलले, यो कार्यक्रमलाई महानगरपालिकाले प्रतिष्ठानसँगको सहकार्यमा अगाडि बढाएको भए पनि यो नागरिक विशेष कार्यक्रम भएको बताउनुभयो । आफू, आफ्नो परिवार र टोललाई आरोग्य बनाउन प्रत्येक व्यक्तिले सक्रिय नेतृत्व लिनुपर्छ । कार्यक्रम आफ्नै हो भन्ने सोचेर योग, ध्यान, प्राणायामका कार्यक्रममा सहभागी हुनुपर्छ । उहाँको भनाइ थियो । 

    ‘सरकारले सन् २०२७ लाई आरोग्य वर्षका रुपमा मनाउने तयारी गरेको छ । हामीले २०२६ बाट प्रारम्भ गरेको कार्यक्रमले सरकारको कार्यक्रमलाई सघाउ हुनेछ ।’ कार्यवाहक प्रमुख डंगोलले भन्नुभयो, ‘यो कार्यक्रम संस्था विशेषको होइन । प्रत्येक व्यक्तिलाई नेतृत्वमा पुर्‍याउने अभियान हो । त्यसैले कार्यक्रम महानगरपालिकाको भन्ने सोचेर होइन । मेरो हो भन्ने सोचेर सहभागिता जनाउनु हुन मेरो आग्रह छ ।’

    ‘चिन्तालाई चिन्तनमा, आलोचनालाई समालोचना, टिकाटिप्पणीलाई स्वध्ययनमा रुपान्तरण गरेर अभियान सफल बनाउन उहाँको आग्रह थियो । 

    समझदारी अनुसार महानगरवासीको सर्वाङ्गीण हितका लागि पाँचवटा प्रमुख आयाममा केन्द्रित रहेर कार्यक्रम सञ्चालन हुनेछन् । 

    शारीरिक आरोग्यता पहिलो आयाम हो । यसमा स्वस्थ सरीर, स्वस्थ जीवनशैली, व्यायाम, योग, पोषण, सरसफाइ तथा रोग रोकथाम सम्बन्धी अभ्यास गरिन्छ । दोस्रो आयाम मानसिक आरोग्यता हो । यसमा तनाव व्यवस्थापन, मानसिक शान्ति, ध्यान, सजगता, सकारात्मक सोच तथा मानसिक सन्तुलनको प्रवर्धन गरिन्छ । ऊर्जागत आरोग्यता तेस्रो आयाम हो । यसमा श्वास, प्राणायाम, ऊर्जा व्यवस्थापन, स्फूर्ति, सक्रियता तथा जीवन शक्तिको विकासमा अभ्यास गरिन्छ । 

    भावनात्मक आरोग्यता चौथो आयाम हो । यसमा भावनात्मक सन्तुलन, आनन्द, प्रेम, करुणा, स्वस्थ सम्बन्ध तथा सकारात्मक सामाजिक व्यवहारको विकासमा अभ्यास गरिन्छ । पाँचौ आयाम बौद्धिक आरोग्यता हो । यसमा ज्ञान, विवेक, सिर्जनशीलता, निर्णय क्षमता, जीवनदृष्टि, जिम्मेवार नागरिक तथा नेतृत्व क्षमताको विकासमा अभ्यास गरिन्छ । 

    कार्यक्रममा एल.पि. भानु शर्माले (भानु गुरुदेव)ले, अहिले सञ्चालनमा रहेका सबै प्रयोगशाला र प्रशिक्षक महानगरबासीका लागि निःशुल्क उपलब्ध रहेको बताउनुभयो । ‘आरोग्यताको जग बाल्यकाल हो । यी उमेरको शिक्षासँग आरोग्यताको सैद्धान्तिक र व्यवहारिक ज्ञान दिनु पर्छ । यसबाट दिगो आरोग्यता प्राप्त हुन्छ । काठमाडौँले यसका लागि थालेको अभियानको ठुलो महत्व छ ।’ उहाँको भनाइ थियो । 

    ‘आउँदो १० वर्षभित्र आफ्नो आरोग्यताका लागि कोही प्रशिक्षक नचाहिने गरी सबै महानगरबासीलाई प्रशिक्षक सरह बनाउने हाम्रो योजना छ ।’ शर्माको भनाइ थियो ।

    ‘बुद्धि, विवेक, विचार, भावना जस्ता नदेखिने सरीरले देखिने सरीरलाई चलाइरहेको हुन्छ । देखिने सरीरमा केही समस्या भए, उपचार गरिन्छ । तर, नदेखिने सरीरको उपचारमा धेरैको ध्यान छैन । यी देखिने र नदेखिने सरीरको सन्तुलन नमिल्दा रोग, चिन्ता, विग्रह हुन्छ ।’ कार्यक्रममा रमेश नेपाल (रमेश गुरु)ले भन्नुभयो, ‘महानगरपालिकाले थालेको आरोग्य कार्यक्रम नदेखिने सरीरलाई स्वस्थ बनाउँछ । देखिने र नदेखिने सरीरको सन्तुलन मिलाएर आरोग्यता प्रदान गर्नेछ ।’

    समझदारीको एक मुख्य विशेषता ‘टोल–टोलमा आरोग्यता’ प्रवर्धन गर्नु हो । महानगरभित्रका विभिन्न टोल र बस्तीहरूमा स्थानीयको माग र वडाको सिफारिसमा नयाँ आरोग्य प्रयोगशाला सञ्चालन गरिनेछ । यसका लागि आवश्यक स्थान र भौतिक पूर्वाधारको व्यवस्थापन महानगरपालिकाले गर्नेछ भने दक्ष प्रशिक्षक र प्राविधिक व्यवस्थापन जीवन विज्ञान प्रतिष्ठानले बेहोर्नेछ ।

    ‘असल र सक्षम नागरिक’ उत्पादन गर्न सामुदायिक तथा संस्थागत विद्यालयहरूमा आरोग्यता कार्यक्रम सञ्चालन गरिनेछ । अपाङ्गता तथा बहुअपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिकका लागि विशेष लक्षित कार्यक्रमहरू सञ्चालन गरिनेछ । 

    यसरी सञ्चालन गरिने कार्यक्रमले व्यक्तिको निरोगिताका लागि कति प्रभाव पा¥यो भन्ने कुरालाई तुलनात्मक अध्ययन गरिनेछ । प्राप्त उपलब्धिलाई अभिलेखन गरिनेछ । 

    कार्यक्रमलाई व्यवस्थित र निरन्तरता दिन दुवै पक्षबाट तीन–तीन जना प्रतिनिधि रहने गरी ‘आरोग्य कार्यदल’ गठन गरिनेछ । कार्यदलले कार्यक्रम सञ्चालन कार्ययोजना बनाउनेछ । यसरी बनाइएको कार्ययोजनाको प्रभावकारी कार्यान्वयनका लागि प्रत्येक महिना बैठक बसेर समीक्षा गर्नेछ । 

    द्वन्द्वात्मक विकास तथा प्रविधिको तीब्र उपलब्धताले सिर्जना गरेको महत्वाकांक्षाले व्यक्तिलाई गहिरो मानसिक आघाततिर लगिरहेको छ । यो अदृश्य समस्या भएकोले यसको असरका बारेमा धेरै चिन्ता पाइँदैन । यस सन्दर्भमा महानगरबासीलाई स्वस्थ बनाउने लक्ष्यलाई आरोग्यताको कार्यक्रममा नागरिकलाई जोड्नु सकारात्मक कुरा हो । 

    यसमा, महानगरपालिका र प्रतिष्ठानको बिचमा दुवै पक्षसँग उपलब्ध ज्ञान, अनुभव, स्रोत तथा संस्थागत क्षमताको समन्वय गरिनेछ । यो सहकार्यबाट राजधानी सहरबासी क्रमशः आरोग्यता र मानवीयतामा आधारित सहरका रूपमा विकास हुनेछ । महानगरवासीको समग्र आरोग्य अभिवृद्धि गर्न, स्वस्थ, सन्तुलित, शान्त, ऊर्जावान, जिम्मेवार र सुखी जीवनशैलीको विकास तथा प्रवर्धन गर्न लाभ हुने अपेक्षा गरिएको छ । 


     

  • प्रकाशित मिति शनिबार २७ भदौ २०८३ ०४:०१ PM