वि.सं.: २०८३, भदौ २७ शनिबार
इ.स.: 2026 September 12,SATURDAY
वि.सं.: २०८३, भदौ २७ शनिबार
एसईई उत्तीर्ण ३७ जनालाई शैक्षिक उन्नतिमा प्रोत्साहन गर्दै सम्मान
काठमाडौँ । बालबालिकाहरुलाई औपचारिक शिक्षासँगै प्राविधिक र व्यावहारिक सिप तथा आचरण विकासमा काम गरिरहेको बताउँदै काठमाडौँ महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले, अहिले पढाइमा राम्रो अंक ल्याएसँगै परिवारलाई सम्मान गर्न जान्ने नागरिक उत्पादन गर्नु पर्ने बेला आएको धारणा राख्नुभएको छ । वडा नं. १७ भित्रबाट गएको वर्ष एसईई उत्तीर्ण गरेका विद्यार्थीहरुलाई शैक्षिक प्रोत्साहनका वडाले आयोजना गरेको सम्मान कार्यक्रममा विद्यार्थीहरुलाई सम्मानित गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
‘औपचारिक शिक्षामा अब्बल हुनु राम्रो हो । यससँगै घर व्यवहारका कुरा पनि सिकेको हुनुपर्छ । परिवारमा रहनुभएका आमाबुबा, दाजुभाइ, दिदीवहिनीलाई सम्मान गर्ने हुनुपर्छ । व्यक्तिगत स्वतन्त्रताभन्दा पारिवारिक समृद्धिमा रमाउने हुनुपर्छ ।’ उहाँले भन्नुभयो, ‘यसका लागि हामी काम गरिरहेका छौँ ।’
सम्मान कार्यक्रममा ४ जीपीए प्राप्त गर्ने २ जनासहित ३७ जना विद्यार्थीलाई चाँदीजडित तक्मासहित प्रमाण पत्रबाट सम्मान गरिएको थियो । यस्तै सेवा प्रारम्भ गरेदेखि निवृत्त हुञ्जेल वडामै रहेर काम गर्नुभएकी कार्यालय सहयोगी गीता के. सी. लाई पनि सम्मान गरिएको थियो ।
वडा १७ भित्र शान्ति शिक्षा मन्दिर मा. वि., कन्या मा. वि., बाल विकास आधारभूत विद्यालय र राष्ट्रिय आधारभूत विद्यालय गरी ४ वटा सामुदायिक विद्यालय छन् । यस्तै १७ वटा संस्थागत विद्यालय छन् ।
प्रवक्ता मानन्धरले कार्यक्रममा सामुदायिक शैक्षिक गुणस्तर सुधारका लागि कक्षा ८ देखि १० सम्मका विद्यार्थीहरुको नतिजा सुधारका लागि अतिरिक्त अंग्रेजी कक्षाहरु सञ्चालन गरिएको बताउनुभयो । ‘भाषालाई औपचारिक प्रयोगका लागि मात्र सिकाएर हुँदैन । यसको प्रयोग सामान्य जनजीवनमा पनि गरिनुपर्छ । यसका लागि थप अंग्रेजी कक्षाको व्यवस्था गरेका हौँ ।’ उहाँको भनाइ थियो ।
सम्मान कार्यक्रमका संयोजक एवं वडा सदस्य जितेन्द्र खड्गीले, वडाबाट सबै उमेर समूहका लागि छुट्टाछुट्टै कार्यक्रम सञ्चालन गरिएको र ती सबै कार्यक्रमको उद्देश्य सामाजिक सद्भाव र विकास रहेको बताउनुभयो ।
सम्मानपछि बोल्दै एसईई उत्तीर्ण विद्यार्थीहरु दृष्टि मानन्धर, पियुश श्रेष्ठ र निशंका रिजालले, वडाबाट प्राप्त गरेको सम्मानले शिक्षा र समाजप्रति समान दायित्व बोध गराएको धारणा राख्नुभयो । ‘विद्यालयमा पढ्दा औपचारिक ज्ञान पाएका थियौँ । वडाले कार्यक्रम आयोजना गरेर बोलाएपछि सामाजिक र पारिवारिक जिम्मेवारी बुझ्न पायौँ ।’ उहाँहरुको भनाइ थियो ।
कार्यक्रममा अभिभावकका तर्फबाट धारणा राख्दै प्रतिमा मानन्धरले, शैक्षिक क्रियाकलापमा हरेक समयका फरकफरक चुनौती रहेको बताउनुभयो । आफूले एसएलसी दिएको स्मरण गर्दै उहाँले भन्नुभयो, ‘एसएसी दिएपछि म डाक्टर बन्न चाहन्थेँ । बुबा इञ्जिनियर बनाउन चाहनुहुन्थ्यो । आखिर मैले आफ्नो इच्छा त्यागेर बुबाको इच्छा पूरा गर्न लागेँ । अहिले शिक्षामा अभिभावकले विद्यार्थीको कुरा बुझेको जस्तो लाग्छ । तर, व्यावहारिक ज्ञान घट्दै गएको छ ।’ त्यस्तै अभिभावक रञ्जिता बज्राचार्यले, वडाको सम्मानबाट विद्यार्थीहरु कर्तव्यप्रति थप जिम्मेवार भएको आफूले महसुस गरेको बताउनुभयो ।





निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App