वि.सं.: २०८२, फागुन ३० शनिबार
इ.स.: 2026 March 14,SATURDAY
वि.सं.: २०८२, फागुन ३० शनिबार
'गएको वर्षको सिकाइ र स्थानीयवासीको अपेक्षा अनुसार यस वर्ष वडाभित्रका विभिन्न ८ वटा स्थानमा महोत्सवका क्रियाकलाप हुनेछन्' - वडाध्यक्ष, डंगोल
काठमाडौँ । आउँदो वर्षको प्रारम्भसँगै काठमाडौँ महानगरपालिकाको वडा नम्बर १५ ले वैशाख १२ गतेदेखि १९ गतेसम्म स्वयम्भू महोत्सव आयोजना गर्ने भएको छ । महोत्सवमा स्थानीय सहभागिताका विषयमा छलफल गर्न आज आयोजना गरिएको वृहत छलफल कार्यक्रममा महोत्सवको मिति तय गरिएको हो । छलफलमा स्थानीयबासी, समुदाय, संघसंस्था तथा साझेदारलाई बोलाइएको थियो ।
‘वडाको प्राचीन धार्मिक, सांस्कृतिक, पुरातात्विक तथा सामाजिक मठ मन्दिर, चैत्य, गुम्बासहितको पहिचान, मूर्त सम्पदा तथा संस्कृति र परम्परा जस्ता विविधतायुक्त अमूर्त सम्पदाको अवस्थिति अद्वितीय छ ।’ छलफलमा वडाध्यक्ष ईश्वरमान डंगोलले भन्नुभयो, ‘वडाले नेतृत्व लिएर प्रस्ताव ल्याएको हो । स्थानीयबासीको चाहना र यहाँहरुले गरेको निर्णयका आधारमा महोत्सव सञ्चालन हुनेछ । यो ढाँचाको महोत्सवले वडाको पहिचान र समृद्धिमा दिगोपना प्राप्त हुनेछ । यसकारण महोत्सवमा वडाबासी तथा छिमेकी वडावासी, समुदाय, निजी तथा सामाजिक क्षेत्र सबैको सहभागिताको अपेक्षा गरेका छौँ ।’
उहाँका अनुसार यस वर्ष भुईँखेल, भूकम्प पार्क छाउनी, किमडोल, विजेश्वरी, डल्लु, डल्लु आवास गणेश स्थान, चमती दवू र अन्नपूर्ण क्षेत्र गरी ८ स्थानमा महोत्सव हुनेछ ।
छलफलबाट वडाध्यक्ष डंगोलको अध्यक्षतामा मूल समारोह समिति गठन भएको छ । समितिको सदस्यहरुमा कार्यपालिका सदस्य मैयाँलक्ष्मी महर्जन, वडा सदस्यहरु विजु श्रेष्ठ, अप्सरा खत्री र रीता मिजार हुनुहुन्छ । समितिको सदस्य सचिवमा वडासचिव प्रमोद अधिकारी हुनुहुन्छ ।
छलफलबाट कार्यपालिका सदस्य महर्जनको संयोजकत्वमा आर्थिक तथा समग्र व्यवस्थापन उपसमिति, वडा सदस्य विजु श्रेष्ठको संयोजकत्वमा स्वयमसेवक तथा शान्ति सुरक्षा व्यवस्थापन उपसमिति, वडा सदस्य अप्सरा खत्रीको संयोजकत्वमा सरसफाइ समिति र वडा सदस्य रीता मिजारको संयोजकत्वमा स्वागत तथा प्रचार प्रसार समिति गठन भएको छ । समितिका सदस्यहरुमा वडावासीहरुलाई स्वेच्छिक र खुला रुपमा सहभागी हुन आमन्त्रण गरिएको छ । वडाबासी जसलाई जुन उपसमितिमा बसेर काम गर्न मन छ । नाम टिपाउन सकिने वडा सचिव अधिकारीले जानकारी दिनुभयो ।
कार्यपालिका सदस्य महर्जनले छलफलमा स्वयम्भू क्षेत्रको विशेषताका विषयमा चर्चा गर्दै, महोत्सवले प्राचीन तर आझेलमा परेका स्मारकहरुलाई पर्यटकीय स्थलका रुपमा प्रवर्धन गर्न, स्थानीय उत्पादनको विक्रीबाट वडाबासीको आयआर्जनमा टेवा पुग्ने र स्थानीय प्रतिभाको पहिचानमा सहयोग पुग्ने अपेक्षा राखिएको बताउनुभयो ।
महोत्सवलाई सद्भावयुक्त र सुरक्षित बनाउन महानगरीय प्रहरी वृत्त स्वयम्भू र महानगर प्रहरी वलका बिच समन्वय हुनेछ । छलफलमा महानगर प्रहरी बलका प्रमुख विष्णुप्रसाद जोशीले, विगत महोत्सवको अनुभवबाट यस वर्ष थप सुरक्षित हुने विश्वाश व्यक्त गनुभयो । यस्तै महानगरीय प्रहरी वृत्त स्वयम्भूका प्रमुख मोहनमणि अधिकारीले, स्थानीयबासीको समान सहभागिताबाट शान्ति सुरक्षा प्रभावकारी हुने बताउँदै यसका लागि महानगर प्रहरी बलसँग सहकार्य गरिने बताउनुभयो ।
वडा सचिव अधिकारीका अनुसार वडाले उद्यमशीलताका लागि तालिम दिएका व्यक्तिहरुबाट उत्पादित बस्तु तथा सामग्रीलाई महोत्सवमा प्रदर्शनीका लागि प्रोत्साहन गरिनेछ । महोत्सवमा आउने व्यक्तिले देखेको, हेरेको र भेटेको वस्तुको फरकपन महसुस गराउनु पर्ने बताउनुभयो । ‘स्टोरी मेकिङ् र स्टोरी टेलिङ् (कथा बनाउनु र भन्नु) पर्यटनका महत्वपूर्ण पक्ष हुन् । यसमा ध्यान दिनुपर्छ ।’
छलफलमा स्थानीय सहभागी वक्ताहरुले, पर्यटन प्रवर्धनमा ध्यान दिनुपर्ने, गएको वर्षको महोत्सवबाट प्राप्त भएको लाभको समीक्षा गर्नुपर्ने, महोत्सवका क्रमशः विस्तार गर्दै लैजानु पर्ने, सांस्कृतिक कार्यक्रममा वडाका कलाकारहरुलाई अवसर दिनुपर्ने, स्थानीय खाद्य तथा अन्य आर्थिक गतिविधिमा टेवा पुग्ने, शिक्षा, स्वास्थ्य, खेलकुल, संगीत, गायन, बादन, नृत्यजस्ता सांगीतिक तथा सांस्कृतिक क्रियाकलाप प्रोत्साहन हुने कार्यक्रमलाई प्राथमिकतामा राख्नु पर्ने सुझाव दिनुभएको छ ।
स्वयम्भू महाचैत्य, महाचैत्य स्थापनासँग मञ्जुश्रीको सम्बन्धका विषयमा जोडिएको लोककथा, जामुन गुमाजुको तान्त्रिक विद्यामा आधारित शान्तिपुर यस क्षेत्रका महत्वपूर्ण स्मारक हुन् । यस्तै शक्तिपीठहरुमा शोभा भगवतीको मन्दिर, तान्त्रिक विद्यामा आधारित विजेश्वरी मन्दिर, गीता मन्दिर सांस्कृतिक पर्यटनका सम्भावित स्थान हुन् । नेपाल संवत्का प्रवर्धक शंखधर साख्वाःले वालुवा उठाउँदा सुन प्राप्त गरेर त्यही सुनबाट किसानको ऋण मोचन गरिएको लखतीर्थ यस क्षेत्रको अर्को महत्वपूर्ण स्थान हो । प्राकृतिक विज्ञान संग्रहालय आन्तरिक तथा वाह्य पर्यटक दुवैका लागि अवलोकन योग्य स्थान हो ।
वडामा मनाइने जात्राहरुमा गुंला मेला, वुद्ध जयन्ती, बौद्धबाट सुरु भएर स्वयम्भूमा सकिने तेमाल जात्रा, हिमाली भेगका मानिसले मनाउने साकाधावा, साउनमा हुने रोपाइँ मेला मुख्य हुन् ।
नेवार समुदायको बाहुल्यता भएको वडामा आर्य, तामाङ्, गुरुङ्, मगरसहित विभिन्न जातजातिको मिश्रित बसोबास छ ।




निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App