वि.सं.: २०८३, भदौ २९ सोमबार
इ.स.: 2026 September 14,MONDAY
वि.सं.: २०८३, भदौ २९ सोमबार
असोज ३ गतेदेखि काठमाडौँ उपत्यकामा २८ वटा रात्रि बसले ६ वटा नयाँ रुटमा सेवा दिने
काठमाडौँ । रात्रिकालीन यातायात सेवा सञ्चालनका लागि अन्तर नगर सहकार्य, समन्वय र साझेदारिताको प्रस्ताव लिएर काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल आज भक्तपुर नगरपालिका र मध्यपुर थिमी नगरपालिका पुग्नुभएको छ । छलफलका लागि उहाँ प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्याल, निर्देशक वसन्त आचार्य, साझा यातायातका अध्यक्ष शुशिलराज प्याकुरेल, कार्यकारी निर्देशक भुपेन्द्र अर्यालसहित जानुभएको हो । त्यस क्रममा उहाँले भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापती, उपप्रमुख रजनी जोशी, मध्यपुर थिमी नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ र उपप्रमुख विजयकृष्ण श्रेष्ठसँग भेटेर छलफल गर्नुभएको छ ।
भेटघाटमा कार्यवाहक प्रमुख डंगोलले भन्नुभयो, ‘आज म रात्रिकालीन यातायात सञ्चालन गर्न सहकार्य अगाडि बढाउने एजेन्डा नै बोकेर आएकी हूँ । यो ट्रान्सबाउन्ड्री इस्यु हो । यसलाई कुनै भुगोल वा प्रशासनिक सीमाभित्र सीमित गरिनुहुँदैन । काठमाडौँ उपत्यकाको जनजीवनलाई सहज र आर्थिक गतिविधिलाई वृद्धि गर्न जुन पालिकामा रात्रिकालीन यातायात सञ्चालन हुन्छ । ती नगरपालिकाहरुले अपनत्व हुने गरी सेवा थाल्ने विषयमा हामीले धेरै चरणमा छलफल गरिसकेका छौँ । यसका लागि ३ महिनाको परीक्षण पनि गरेका छौँ । यसबाट अन्तरनगर साझेदारिताबाट रात्रिकालीन बस सेवा सञ्चालनका सम्भावना देखिएको छ । यसमा सहकार्य गरौँ ।’
कार्यवाहक प्रमुख डंगोलको प्रस्ताव सुनेपछि भक्तपुर नगरपालिकाका प्रमुख प्रजापतीले ट्रली बस सञ्चालन हुँदाको अनुभव स्मरण गर्दै भन्नुभयो, ‘ट्रली बस सञ्चालन हुँदा काठमाडौँ र भक्तपुर राम्ररी जोडिएका थिए । स्थानीयलाई आवातजावत गर्न धेरै सजिलो थियो । जव, नियोजित रुपमा ट्रली बस समाप्त गरियो । त्यसपछि सार्वजनिक यातायातमा समस्या बढ्न थाल्यो । साँझ पर्न थालेपछि त झन कठिन भयो । यसकारण काठमाडौँ महानगरपालिकाले अगाडि सारेको व्यवस्थित सार्वजनिक यातायात सञ्चालनको प्रस्ताव सकारात्मक छ । यो प्रस्तावमा हामी आन्तरिक छलफल गर्छौँ ।’
उहाँले यसप्रकारको सेवा अति जरुरी रहेको बताउँदै यस प्रकारको सेवालाई केवल नाफा–घाटाको दृष्टिले मात्र हेर्न नहुने धारणा राख्नुभयो ।
भक्तपुरबासीहरुको काठमाडौँ र ललितपुरबासीसँग घरजम छ । साँझमा सार्वजनिक यातायात सहज नहुँदा घर माइत आवतजावत गर्न, संस्कार, संस्कृति र परम्परालाई धान्न कठिन भइरहेको थियो । भक्तपुर नगरपालिका उपप्रमुख जोशीले भन्नुभयो, ‘यो जरुरी सेवा हो । सबैले दायित्व लिएर सञ्चालन गर्नुपर्छ ।’
साझा यातायात सञ्चालक समितिका अध्यक्ष सुशिल प्याकुरेलले, स्थानीय सरकारको साझेदारितामा साझा यातायात सञ्चालन हुने भएपछि यात्रुहरुमा सुरक्षाप्रति आत्मविश्वाश हुन्छ । यसले यात्रुको संख्यामा वृद्धि गराउँछ । ‘यो कार्यका लागि काठमाडौँ महानगरपालिकाले लिएको नेतृत्वबाट श्रमिक र विद्यार्थी वर्गका बिचमा सार्वजनिक यातायातको सहज पहुँच बढ्नेछ । रात्रि व्यवसाय सञ्चालन गर्ने व्यवसायी, बिरामी तथा आन्तरिक पर्यटकलाई सहज हुनेछ ।’
यो सेवा असोज ३ गतेदेखि सुरु हुनेछ । सेवा राति ८ बजेदेखि १२ बजेसम्म सञ्चालन गर्ने योजना छ । यो सेवाबाट यात्रुहरुलाई थप सहजता प्रदान गर्न पालिकाहरुका विभिन्न स्थानमा चार्जिङ् स्टेशन बनाएर राती त्यही स्टेशनमा राख्ने र विहान सबेरैदेखि विद्यार्थी लक्षित सेवा प्रदान गर्ने लक्ष्य राखिएको छ ।
साझा यातायातमा नेपाल सरकारको ३ अरब रुपियाँ, काठमाडौं महानगरपालिकाको १५ करोड रुपियाँ शेयर लगानी छ । अहिले साझा यातायातमा १११ वटा बस छन् । छलफलमा वडाध्यक्ष श्यामकृष्ण खत्री, हरिराम सुवाललगायत अधिकारी सहभागी हुनुहुन्थ्यो ।
भक्तपुर नगरपालिकापछि कार्यवाहक प्रमुख मध्यपुर थिमी नगरपालिका पुग्नुभएको थियो । त्यहाँ नगर प्रमुख र उपप्रमुखसँग साझेदारिताको प्रस्ताव राखेपछि नगर प्रमुख र उपप्रमुख दुवै जनाले सराहनीय काममा साझेदारी गर्न आफूहरु इच्छुक रहेको बताउनुभयो ।
नगर प्रमुख श्रेष्ठले भन्नुभयो, ‘पहिले त मध्यपुर साह्रै सुगम थियो । ट्रली बस सकिएसँगै हामी दुर्गम ठाउँको जस्तो भयौँ । काठमाडौँ महानगरपालिकाको रात्रिकालीन यातायात सञ्चालन गर्ने योजनाले हामीलाई पुनः सुगमता प्रदान गर्नेछ । यसमा सहकार्य गर्न प्रतिवद्ध छौँ ।’
असोज ३ गतेदेखि साझा यातायातका २८ वटा विद्युतीय बसबाट उपत्यकाको उत्तर दक्षिण र पूर्व पक्षिम दुवै भागलाई जोड्ने गरी सेवा थालनी गरिनेछ । यसअन्तगृत गोदावरीदेखि बुढानीलकण्ठसम्म ६ वटा, भक्तपुरको जगातीदेखि रत्नपार्क हुँदै ठमेलसम्म ६ वटा, एअरपोर्टदेखि चन्द्रागिरीको नागढुङ्गासम्म ४ वटा बस, कीर्तिपुरदेखि काठमाडौँको नयाँ सडक नेपाल बायु सेवा निगमसम्म ४ वटा र चक्रपथमा दुईतर्फी फन्को लगाउन ८ वटा बस सञ्चालन हुनेछन् ।
चक्रपथमा यातायात सेवा प्राप्त भएपछि एक ठाउँमा बस परिवर्तन गर्दा सेवा सञ्चालन गरेका हरेक ठाउँमा पुग्न सकिनेछ । यसरी यात्रा गर्दा अधिकतम ८० रुपियाँ भाडा लाग्नेछ ।

निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App