Logo
  • वि.सं.: २०८३, भदौ ३० मंगलबार

  • इ.स.: 2026 September 15,TUESDAY

  • वि.सं.: २०८३, भदौ ३० मंगलबार

  • काठमाडौँ महानगरपालिकाको कार्य सम्पादन स्वमूल्याङ्कन (एलजीपास)को प्रारम्भिक नतिजामा ७०.५ अङ्क, कार्यपालिकामा पेश : पृष्ठपोषणका लागि जिसस पठाइने

    काठमाडौँ महानगरपालिकाको ५८ औँ कार्यपालिका बैठक सम्पन्न

    काठमाडौँ । आर्थिक वर्ष २०८२/०८३ अवधिमा काठमाडौँ महानगरपालिकाको कार्य सम्पादन स्वमूल्याङ्कनबाट ७०.५ प्रारम्भिक अङ्क कार्यपालिकामा पेश भएको छ । आज कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको ५८ औँ कार्यपालिका बैठकले प्रारम्भिक नतिजामा छलफल गरेर पृष्ठपोषणका लागि जिल्ला समन्वय समितिमा पठाउने निर्णय गरेको छ । वैठकमा योजना अनुगमन तथा मूल्याङ्कन एकाइका प्रमुख सुमित्रा लामिछाने सुवेदीले प्रारम्भिक नतिजा सम्बन्धी प्रस्ताव पेश समय दिइएको थियो ।

    स्थानीय तहमा गरिने बजेट, योजना तथा कार्यक्रमको प्रभावकारिता मूल्याङ्कन गर्न स्थानीय शासन कार्य सम्पादन मूल्यांकन (व्यवस्थापन तथा सञ्चालन) कार्यविधि, २०८२ बमोजिमका सूचकका आधारमा मूल्याङ्कन गरिन्छ । स्थानीय शासनको स्वमूल्याङ्कन गर्ने विगतका ३ वटा प्रणाली (‘स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन कार्यविधि, २०७७’, ‘स्थानीय तह वित्तीय सुशासन जोखिम मुल्याङ्कन कार्यविधि, २०७७’ र ‘स्थानीय आर्थिक विकास मूल्याङ्कन कार्यविधि, २०७९’)लाई एकीकृत र परिमार्जन गरेर ‘स्थानीय शासन स्वमूल्याङ्कन (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि २०८२’ जारी गरिएको हो । यसैका आधारमा स्वमूल्याङ्कन गर्ने गरिएको छ । 

    एलजीपासमा सुशासन तथा संस्थागत विकास, सामाजिक विकास, आर्थिक विकास, पूर्वाधार विकास र बन, वातावरण तथा विपद व्यवस्थापन गरी ५ वटा मूल्याङ्कनका क्षेत्र छन् । यी क्षेत्रलाई मूल्याङ्कन गर्न १ सय वटा सूचक राखिएका छन् । हरेक सूचकका २ वटा उपसूचक छन् ।  

    यस वर्ष सुशासन तथा संस्थागत विकासमा २९.५०, सामाजिक विकास क्षेत्रमा १४.४, आर्थिक विकासमा ११.३, पूर्वाधार क्षेत्रमा ८.०८ र बन वातावरण र विपद व्यवस्थापनमा ७.८३ अङ्क प्राप्त भएको छ । यी क्षेत्रहरु क्रमशः ४०, २०, २०, १० र १० अंकका हुन् । 

    स्वमूल्याङ्कन कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउन योजना अनुगमन तथा मूल्याङ्कन एकाईलाई सम्पर्क एकाइका रुपमा तोकिएको थियो । एकाइले क्षेत्रगत विभाग र शाखाहरुसँग समन्वय गरेर विवरणहरु प्रणालीमा अध्यावधिक गरेको थियो । अद्यावधिक विवरणबाट एकीकृत प्रतिवेदन सिर्जना गरी भदौ १५ गते भित्र प्रणालीवाट   प्रमुख प्रशासकीय अधिकृत समक्ष पेश गर्नु पर्ने व्यवस्था छ ।

    प्रमुख प्रशासकीय अधिकृतले स्वमूल्याङकन समन्वय समितिमा छलफल गराएर प्रमुखसँगको समन्वयमा कार्यपालिकामा पेश गर्ने, प्रमुखले सूचक सम्वद्ध शाखाले प्राप्त प्रारम्भिक नतिजा विषयगत समितिमा छलफलका लागि पठाउने, र भाद्र मसान्तभित्र प्रमुख प्रशासकीय अधिकृतमार्फत पृष्ठपोषणका लागि जिल्ला समन्वय समितिमा पठाउनु पर्ने कार्यविधिमा उल्लेख छ । 

    असोज १५ भित्र समन्वय समितिबाट प्रविष्ट कागजातको अध्ययन गरी महानगरपालिकालाई पृष्ठपोषण उपलब्ध गराउनेछ । कार्यपालिकाले सूचकगत अंक र सो को पुष्ट्याइँको प्रमाण तथा कागजातको अध्ययन तथा विश्लेषण गरी स्वमूल्याङकनको नतिजालाई असोज मसान्तभित्र अन्तिम रुप दिएर निर्णय सहित मन्त्रालयमा पठाइनेछ । 

    मन्त्रालयले गुणस्तर परीक्षण सम्पन्न गरी कायम भएको नतिजा ७ दिनको म्याद दिई सुधारका लागि महानगरपालिकालाई उपलव्ध गराउनेछ । मन्त्रालयले अन्तिम नतिजा पौष मसान्तभित्र सार्वजनिक गर्नेछ । 

    वैठकले नगरनगर साझेदारी कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । यस्तै सेवारत हुँदै निधन हुनुभएका गजेन्द्रबहादुर कार्कीको सेवा अवधि थप गरेर परिवारले चाहेको निवृत्तिभरण या उपदान प्रदान गर्ने निर्णय गरेको छ । 
     

  • प्रकाशित मिति मंगलबार ३० भदौ २०८३ ०८:४५ PM