Logo

वडा १०, स्वास्थ्य प्रवर्धन केन्द्रबाट भिडियो एक्स रे, फिजियोथेरापी, प्रयोगशालासहितका सेवा सुरु

नागरिकका समस्यालाई घरमै समाधान गर्ने प्रयासमा छौँ - वडाध्यक्ष के. सी.

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको वडा नंं १० ले मध्य बानेश्वरमा स्वास्थ्य प्रवर्धन केन्द्रबाट स्वास्थ्य सेवा सुरु गरेको छ । विहीबारबाट सुरु भएको केन्द्रमा आधारभूत स्वास्थ्य सेवासँगै भिडियो एक्स रे, फिजियोथेरापी, प्रयोगशालासहितका सेवा निःशुल्क उपलब्ध छन् । 

सेवा शुभारम्भ गर्दै वडा १० का अध्यक्ष रामकुमार के. सी. ले, नागरिकका समस्यालाई घरमै पुगेर समाधान गर्ने प्रयासअन्तर्गत स्वास्थ्य प्रवर्धन केन्द्र सञ्चालनमा ल्याइएको बताउनुभयो । ‘आकस्मिक अवस्था आइ परेमा हामी नागरिकको घरमा पुगेर भिडियो एक्स–रे सम्मको सेवा दिन सक्छौँ । यसरी थालिएको सेवालाई विकास र विस्तार गर्दै लैजानेछौँ । सकेसम्म अस्पतालको सेवा लिन नपरे हुन्थ्यो । यसका लागि प्रवर्धनात्मक कार्यक्रम चलाएका छौँ । अस्पतालको सेवा लिनै परे सेवाचाहिँ गुणस्तरीय हुनुपर्छ । यसमा हामी सचेत छौँ ।’ के. सी. को भनाइ थियो । 

त्यस क्रममा प्रदेश सभा सदस्य दिपेन्द्र श्रेष्ठले, स्वास्थ्य सेवाको विस्तारका लागि अन्तर सरकार सम्बन्धलाई विकास गर्न बाँकी रहेको उल्लेख गर्नुभयो । 

महानगरपालिकाको स्वास्थ्य विभागका प्रमुख दिपक के. सी. का अनुसार रामघाट प्राथमिक स्वास्थ्य केन्द्र, वडा नं. १४ बल्खु, वडा नं. १९ कंकेश्वरी, वडा नंं २६ लैनचौर र वडा नं. ३० ज्ञानेश्वर स्वास्थ्य प्रवर्धन केन्द्रलाई स्वास्थ्य विमाको पहिलो सम्पर्क विन्दुका रुपमा प्रयोगमा ल्याइसकिएको छ । अहिले तयार भएका ५ वटामध्ये वडा नं. १० को एउटा हो । यससँगै वडा नं. १६, २७, १२ र ७ का प्रवर्धन केन्द्र विमा कार्यक्रम सञ्चालन गर्न योग्य भएका छन् । विमा वोर्डबाट अनुमोदन भएपछि कार्यान्वयनमा ल्याइनेछ । 

वडा नं. १० ले प्रवर्धन केन्द्र सञ्चालनका लागि नयाँ भवन निर्माणको कार्य थालनी गरिसकेको छ । वडा सदस्य सतिश तण्डुकार भन्नुहुन्छ, ‘अहिले हामी वहालको भवनमा छौँ । आउँदो फागुनदेखि आफ्नै भवनबाट सेवा दिने तयारीमा छौँ ।’

केन्द्रमा गर्भ र सुरक्षित मातृत्वसँग सम्बन्धित समस्या, कलेजो, मिर्गौलासम्बन्धी समस्यासहितका भिडियो एक्स–रे सुविधा उपलब्ध छ । केन्द्रका इञ्चार्ज छत्रबहादुर शाही भन्नुहुन्छ, ‘गुणस्तरीय उपचारात्मक सेवा र प्रवर्धनात्मक स्वास्थ्य सेवाका लागि केन्द्र प्रयत्नरत छ ।’


 

  • प्रकाशित मिति: शुक्रबार​ ३० कात्तिक २०८१ १३:२५