स्थानीय माग र आवश्यकतालाई प्राथमिकता निर्धारण गरेर काम गरिरहेका छौँ — उपप्रमुख डंगोल
काठमाडौँ । काठमाडौँ महानगरकी उपप्रमुख सुनिता डंगोलले, स्थानीय माग र संघीय राजधानी सहरको आवश्यकतालाई प्राथमिकता निर्धारण गरेर काम गरिरहेको बताउनुभएको छ । वैदेशिक अध्ययनमा अध्ययनरत विद्यार्थीहरुसँगको भेटका क्रममा सोधिएका प्रश्नको उत्तरमा उहाँले यस्तो बताउनुभएको हो । उहाँसँग भेटका लागि काठमाडौँ विश्वविद्यालय, स्कूल अफ इञ्जिनियरिङ्का प्राध्यापक भीमप्रसाद श्रेष्ठ नेतृत्वमा संयुक्त राज्य अमेरिकाको वैदेशिक अध्ययनमा अध्ययनरत विद्यार्थी आएका थिए ।
१ घण्टा लामो भेटमा विद्यार्थीहरुले फोहोर उत्पादन, संकलन, ढुवानी र अन्तिम व्यवस्थापन, फोहोरमैला व्यवस्थापनका आर्थिक, सामाजिक तथा वातावरणीय सम्बन्धका विषयमा मुख्य प्रश्न राखेका थिए । यसैगरी न्यायिक निरुपण, युवा नेतृत्वका अवसर र चुनौती, महिला सशक्तिकरण र नेतृत्व विकासजस्ता विषयमा प्रश्न सोधिएका थिए ।
प्रश्नहरुको उत्तरमा उपप्रमुख डंगोलले, फोहोरमैला व्यवस्थापनसँग सम्बन्धित काम गर्दा मानव स्वास्थ्य र वातावरणमा असर नहोस् भन्ने विषयमा आफू सचेत रहेको बताउनुभयो । विवाद निरुपणका विषय उल्लेख गर्दै उपप्रमुख डंगोलले, ‘वडा स्तरमा मेलमिलापकर्तामार्फत मेलमिलापलाई प्राथमिकतामा राखेको बताउनुभयो ।’ महिला सशक्तिकरणका लागि उपलब्धी हासिल भएका छन् । यसको पूर्णताका लागि परिवारको मनोविज्ञानसँग सम्बन्धित पक्षलाई सुधार गर्दै जानुपर्छ । उहाँको भनाइ थियो ।
युवा पुस्ताको नेतृत्वका विकासका लागि महानगरकी उपप्रमुखको संघर्ष युवाहरुलाई प्रोत्साहित गर्ने खालको छ । विश्वविद्यालयका प्राध्यापक श्रेष्ठले, उहाँबाट धेरै कुरा सिक्न सकिने बताउनुभयो ।
वातावरण व्यवस्थापन विभागका प्रमुख सरिता राईकाअनुसार विद्यार्थीहरुलाई टेकुस्थित बायोग्याँस प्लान्ट, ट्रान्सफर स्टेशनका बारेमा स्थलगत जानकारी गराइएको थियो ।
भेटका लागि १६ जना विद्यार्थी आएका थिए । नेपालस्थित अमेरिकी दूतावासको सहयोगमा विचारगोष्ठी सञ्चालन भइरहेको हो ।