वि.सं.: २०८३, असोज १ बिहीबार
इ.स.: 2026 September 17,THRUSDAY
वि.सं.: २०८३, असोज १ बिहीबार
भूउपयोग परिषदका अध्यक्ष एवं कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा बैठक
काठमाडौँ । काठमाडौँ महानगरपालिका क्षेत्रभित्रका सम्पूर्ण कित्ताको कित्तागत विवरण तयार गरी भूउपयोग वर्गीकरण गर्ने प्रक्रिया अघि बढाउने भूउपयोग परिषदले निर्णय गरेको छ । परिषदका अध्यक्ष एवं महानगरपालिका कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको बैठकले, जग्गाको वास्तविक अवस्था, उपयोग र स्वामित्व सम्बन्धी विवरणलाई भौगोलिक सूचना प्रणाली (जीआइएस) मा एकीकृत गरी भूमि व्यवस्थापन, सहरी योजना, राजस्व, विपद व्यवस्थापन तथा नागरिक सेवा प्रवाहलाई तथ्यमा आधारित बनाउने निर्णय गरेको हो ।
यो काम भूउपयोग ऐन २०७६, भूउपयोग नियमावली २०७९ तथा सम्बन्धित निर्देशिका र मापदण्डअनुसार अद्यावधिक आधार तथा मापदण्डका आधारमा गरिन्छ । यसअन्तर्गत विवरण तयार गर्ने, उपलब्ध नक्सा तथा तथ्यांक अद्यावधिक गर्ने र महानगर क्षेत्रभित्रका सम्पूर्ण कित्ताको कित्तागत विवरण तयार गरिन्छ ।
भूउपयोग तथा भूमि व्यवस्थापन सम्बन्धी कामलाई एकीकृत बनाउन महानगरपालिकाले हाललाई अस्थायी ‘भू-सूचना तथा भूमि व्यवस्थापन एकाइ’ गठन गर्ने समेत निर्णय भएको छ । उक्त एकाइले भू-उपयोग क्षेत्र वर्गीकरण तथा अद्यावधिक, कित्तागत विवरण र जियोडाटाबेस निर्माण तथा अद्यावधिक, भूमि तथा जीआइए सम्बन्धी तथ्याङ् व्यवस्थापन, नक्साङ्कन र प्राविधिक कामको समन्वय गर्नेछ ।
भूउपयोग वर्गीकरणमा कृषि, आवासीय, व्यावसायिक, औद्योगिक, खानी तथा खनिज, वन, नदी–खोला–ताल–सिमसार, सार्वजनिक उपयोग, सांस्कृतिक तथा पुरातात्विक महत्वलगायत क्षेत्र समेटिनेछन् । आवश्यकताअनुसार अन्य क्षेत्रसमेत तोक्न सकिने कानुनी व्यवस्था रहेको छ । बैठकमा नापी अधिकृत अशोक श्रेष्ठले प्रस्तुतिकरण गर्दै, हालसम्म महानगरपालिकाले घरधुरी सर्वेक्षणका लागि सम्पूर्ण क्षेत्रमा ड्रोन तथा डीजीपीएस सर्वेक्षण गरी लेयर डिजिटाइजेसन तथा म्यापिङको काम भइसकेको बताउनुभयो ।
१२ हजार ८११ वटा सडकको नक्साङकन गरी दुई हजार ८ सय भन्दा बढी सडकलाई मौलिक तथा वैज्ञानिक नेपाली नामसहित आधिकारिक जीआइएस डाटाबेसमा प्रविष्ट गरिसकिएको छ ।
त्यस्तै, घर नम्बरिङ तथा घरधुरी सर्वेक्षणका लागि दुई लाख १० हजार ९७६ भवन डिजिटल रूपमा नक्सांकन गरिएको छ । २५ हजार १९ वटा भवनको प्रमाणीकरण गरिएको छ । विद्यालय, अस्पताल, पाटी, नदी, सम्पदा स्थल तथा सार्वजनिक संरचनाको समेत डिजिटल जीआइए अभिलेख निर्माण गरिसकिएको छ ।
भूमि व्यवस्थापनतर्फ गत वैशाख २ गतेदेखि महानगरपालिकाका १० वडाबाट सुरु गरिएको सेवामा भदौ ३० गतेसम्ममा ३५० भन्दा बढी निवेदन परिसकेको छ । २८० भन्दा बढी लिखत पारित तथा ५० भन्दा बढी नामसारी सम्बन्धी निवेदन फस्र्योट र स्वामित्व हस्तान्तरण गरिएको छ । वडा नं १५ बाट मात्रै ६५ वटा कारोबार सम्पन्न भएको छ । अब सबै ३२ वडाबाट भूसेवा सञ्चालन गरी केन्द्रबाटै नापी तथा मालपोत सेवा उपलब्ध गराउने लक्ष्य महानगरपालिकाले अघि सारेको छ ।
भूउपयोग वर्गीकरणको अन्तिम प्रक्रियामा नापी विभागबाट प्राप्त नक्सा तथा तथ्याङकको अध्ययन, जनप्रतिनिधिलाई जानकारी, आधार तथा मापदण्ड तयारी, सरोकारवालासँग छलफल, भूउपयोग उपक्षेत्रमा वर्गीकरण, नक्सा तयार तथा स्वीकृति र अन्तिम कित्तागत विवरण सार्वजनिक गर्ने काम हुनेछ । स्वीकृत नक्सा तथा कित्तागत विवरण महानगरपालिकाको वेबसाइट र सूचना पाटीमार्फत सार्वजनिक गर्ने तथा सम्बन्धित मालपोत र नापी कार्यालयमा पठाउने प्रक्रिया हुनेछ । बैठकमा नापी विभागका भूउपयोग शाखाका प्रमुख नापी अधिकृत खिम राना र नापी अधिकृत प्रकाश दुलाले भूउपयोग प्रक्रियाका विषयमा प्रस्तुतिकरण गर्दै प्रक्रियाका विषयमा जानकारी दिनुभयो ।
महानगरपालिकाले आगामी दिनमा ड्रोन तथा लाइडार, तथ्यांक प्रशोधन र विश्लेषणमार्फत डिजिटल प्रशासन तथा स्थानमा आधारित योजना निर्माणलाई प्राथमिकता दिने जनाएको छ । जीआइएसको प्रयोगबाट स्मार्ट टोल, सडक सुरक्षा तथा यातायात व्यवस्थापन, ई–रेजिष्ट्रेसन, सामाजिक नक्सांकन, घरधुरी सर्वेक्षणलगायत नियमित काममा विस्तार गर्ने योजना छ । यसबाट जग्गा तथा भवन सम्बन्धी विवरणलाई एउटै प्रणालीमा जोडेर योजना निर्माण र सेवा प्रवाहमा प्रयोग गर्ने लक्ष्य राखिएको छ ।
भूउपयोग ऐन २०७६ को व्यवस्था अनुसार पालिकाका प्रमुखको अध्यक्षतामा भूउपयोग परिषद्को व्यवस्था गरिएको छ । प्रमुख प्रशासकीय अधिकृत सदस्य सचिव रहने परिषदमा कार्यपालिकाका सदस्य रहने व्यवस्था छ ।
यस्तै प्रमुखको संयोजकत्वमा भूउपयोग कार्यान्वयन समिति, वडाध्यक्ष संयोजक र वडा सचिव सदस्य सचिव रहने भूउपयोग कार्यान्वयन उपसमिति रहने व्यवस्था छ ।
ऐनमा सांस्कृतिक तथा पुरातात्विक महत्व क्षेत्र, औद्योगिक क्षेत्र, सार्वजनिक उपयोग क्षेत्र, नदी खोला, ताल, सिमसार क्षेत्र, व्यवसायिक र आवासीय क्षेत्र गरी जमिनलाई विभिन्न क्षेत्रमा बर्गीकरण गर्ने प्रबन्ध गरेको छ ।




निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App