Logo
  • वि.सं.: २०८३, जेठ २ शनिबार

  • इ.स.: 2026 May 16,SATURDAY

  • वि.सं.: २०८३, जेठ २ शनिबार

  • श्री बाल व्यवसायी केन्द्र मा. वि. मा लिफ्ट जडान : दृष्टिविहिन तथा व्हीलचेयर प्रयोगकर्ता विद्यार्थीहरुको सबै कक्षा कोठामा पहुँच 

    'विशेष शारीरिक, सामाजिक तथा मानसिक अवस्था भएका बालबालिकालाई विशेष विद्यालय सञ्चालन गरेर सवै बालबालिकालाई शिक्षामा पहुँच प्रदान गर्नेछौँ' - कार्यवाहक प्रमुख डंगोल 

    काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नं. ७ सिफलमा रहेको श्री बाल व्यवसायी केन्द्र माध्यमिक विद्यालयमा लिफ्ट जडान गरिएको छ । श्रवण–दृष्टिविहीन, सुस्त श्रवण, पूर्ण र अति अशक्त अपाङ्गता भएका शारीरिक, दृष्टिविहीन, न्यून दृष्टियुक्त, अटिजम, बौद्धिक तथा वहुअपाङ्गता भएका, स्वर बोलाइ र मनोसामाजिक अपाङ्गता भएका बालबालिका अध्ययन गर्ने यस विद्यालयका सबै कक्षा कोठामा सबै विद्यार्थीको पहुँच पुर्‍याउन काठमाडौँ महानगरपालिकाले अनुदान रकम दिएर लिफ्ट जडान गरिदिएको हो । नेपालका सामुदायिक विद्यालयहरुमा लिफ्ट जडान गरिएको यो नै पहिलो हुनुपर्छ । विद्यालयको दावी छ । 

    विद्यालयमा लिफ्ट जडान भएपछि अभिभावक र विद्यार्थीमा खुशी देखियो । आफ्ना नानीबाबु विद्यालयको माथिल्लो तलामा पुग्न सक्ने भएपछि अभिभावकहरु भक्कानिएर हर्षका आँशु टिलपिल बनाउँदै हुनुहुन्थ्यो । 

    व्हील चेयर प्रयोगकर्ता बालिकालाई लिफ्टमा राखेर प्रणाली सञ्चालनको शुभारम्भ गर्दै काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले, सवै प्रकारका बालबालिकाको शिक्षा प्राप्त गर्ने नैसर्गिक अधिकारको संरक्षण गर्न काठमाडौँ महानगरपालिकाले अभिभावकत्व ग्रहण गर्ने बताउनुभयो । ‘अहिले भएका विद्यालयहरुको भौतिक पूर्वाधारमा सुधार गर्ने, सिकाइलाई सूचना तथा सञ्चार प्रविधिमा आवद्ध गराउने, विशेष विद्यालय सञ्चालन गर्ने कार्यक्रममार्फत सबै बालबालिकामा शिक्षाको उज्यालो ज्योति प्रदान गर्नेछौँ ।’ उहाँले भन्नुभयो, ‘एक दृष्टिले हेर्दा लिफ्ट जडान गर्नु अति सामान्य काम जस्तो लाग्छ । तर, हामीले यसको लाभ कस्तो छ भन्ने कोणबाट हेरेका छौँ । सामान्य व्यक्तिका लागि लिफ्ट ठुलो सुविधा नहुन सक्छ । तर, दृष्टिविहिन, व्हीलचेयर प्रयोगकर्ता बालबालिकाका लागि यो धेरै नै ठुलो सुविधा हो । यसले बालबालिकाको आत्मसम्मान र आत्मविश्वाशमा ठुलो योगदान दिनेछ ।’ विद्यालयको एकीकृत र समग्र विकासका लागि केही चाहिएको छ भने योजना पठाउनु होला । हामी लगानी गर्न तयार छौँ । डंगोलले प्रतिवद्धता व्यक्त गर्नुभयो । 

    विद्यालयमा श्रवण–दृष्टिविहीन भएका १८ जना बालबालिका हुनुहुन्छ । पूर्ण र अति अशक्त अपाङ्गता भएका, दृष्टिविहीन, अटिजम, बौद्धिक तथा वहुअपाङगता भएका र ४२ जना सामान्य तथा मध्यम प्रकृतिका सुस्तश्रवण, न्यूनदृष्टियुक्त, स्वर बोलाइ र मनोसामाविजक अपाङ्ता भएका बालबालिका अध्ययनरत हुनुहुन्छ । यस्तो अवस्था भएका बालबालिकाहरुलाई विद्यालयले भर्ना नलिएको विषय धेरै पटक समाचार बनेका छन् । तर, यस विद्यालयले सबै प्रकारका अपाङ्गता भएका बालबालिकालाई भर्ना लिने, अध्ययनसँगै थेरापी गराउने गरेको छ । विद्यालयको अर्को महत्वपूर्ण विशेषता भनेको यस्ता बालबालिकाका अभिभावकलाई सिपमूलक तालिम प्रदान गरेर आत्मनिर्भर बन्न सघाउनु हो । यसरी हेर्दा विद्यालयको आयामिक शैक्षिक सेवा उपलब्ध गराइरहेको छ । 

    वडा नं. ७ का अध्यक्ष विमलकुमार होडाले समावेशी शिक्षाका लागि महानगरपालिकासँग वडा कार्यालयले पनि विशेष लगानी गरिरहेको बताउनुभयो । 

    विद्यालयका प्रधानाध्यापक रामप्रसाद ढुङ्गानाका अनुसार वि. सं. २०२८ सालमा बाल संगठनमा आश्रय लिई बसेका असहाय, अनाथ, कैदिबन्दीका छोराछोरी र अपाङ्गता भएका बालबालिकाहरुलाई शिक्षा प्रदान गर्ने उद्देश्यले यो विद्यालय स्थापना भएको हो । 

    नेपाल बाल संगठनभित्र आश्रय लिई बसेका असहाय बालबालिकाको परनिर्भरतालाई अन्त्य गरेर दीर्घकालीन रुपमा उनीहरुलाई स्वावलम्वी तथा आत्मनिर्भर बन्न व्यवसायिक सिप सिकाइने प्रमुख लक्ष्यका विद्यालय स्थापना भएको हो । अहिले विद्यालयमा ४२७ जना बालबालिका अध्ययनरत छन् । शैक्षिक सत्र २०५६ देखि अहिलेसम्म २६  ब्याच   एसएलसी र एसईईमा परीक्षामा १ हजार ५ सय बढी विद्यार्थीहरुलाई ग्रेडेड गराएको छ । शैक्षिक सत्र २०८० मा ९४ प्रतिशत, २०८१ मा शतप्रतिशत विद्यार्थी सफल भए । शैक्षिक सत्र २०८२ मा ३ जना विद्यार्थीले ३.६ देखि ३.९ जीपीए सहित शतप्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । 

  • प्रकाशित मिति शनिबार २ जेठ २०८३ ०४:१९ PM