वि.सं.: २०८३, जेठ २ शनिबार
इ.स.: 2026 May 16,SATURDAY
वि.सं.: २०८३, जेठ २ शनिबार
बालबालिकासँग संवाद गर्दै कार्यवाहक प्रमुख डंगोलले भन्नुभयो, ‘राम्ररी पढ्नु, तपाईँहरु असल नागरिक हुनु पर्छ है’
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले राधास्वामी सत्संग व्यास आश्रम होल्डिङ् सेन्टरमा रहेका १४ जना बालबालिकालाई आवासीय (होस्टेल) सुविधासहित निःशुल्क अध्ययनका लागि विद्यालय पठाएको छ । शुक्रबार महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको बैठकले महानगरपालिका, सुविधा उपलब्ध गराउने विद्यालय र अभिभावक बिच त्रिपक्षीय सम्झौता गरेर बालबालिकाका लागि कक्षा १० सम्म निःशुल्क आवासीय सुविधा र अध्ययनको प्रबन्ध गरेको हो । सम्झौतामा महानगरपालिकाका तर्फबाट शिक्षा अधिकारी नमराज ढकाल, विद्यालयका तर्फबाट प्रधानाध्यापक र विद्यार्थीका तर्फबाट अभिभावकले हस्ताक्षर गर्नुभएको छ ।
सम्झौतापछि विद्यालयका अधिकारीहरुले विद्यार्थी र अभिभावकसँग परामर्श गर्नुभएको थियो । विद्यार्थीहरुको निःशुल्क आवासीय अध्ययनका विषयमा बैठकले विभिन्न ४ प्रस्तावमा निर्णय गरेको छ । विद्यार्थीहरु आउँदो आइतबारदेखि विद्यालय जानेछन् ।
सम्झौता अवसरमा महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले, पढ्न पाउने बालबालिकाहरुको नैसर्गिक अधिकार सुरक्षित गर्ने दायित्वमा आफूहरुले अविचलित रुपमा काम गरिरहेको बताउनुभयो । त्यस क्रममा उपस्थित भएका बालबालिकासँग संवाद गर्दै कार्यवाहक प्रमुख डंगोलले, तपाईँहरु भ्विष्यमा के बन्न चाहनुहुन्छ भन्ने प्रश्न गर्नुभयो । प्रश्नको जवाफमा बालबालिकाहरुले डाक्टर, सेना, प्रहरी, शिक्षक, फुटबलर, क्रिकेटर, नृत्यकार बन्ने सपना बताएका थिए ।’ उनीहरुको सपना बुझेपछि डंगोलले भन्नुभयो, ‘तपाईँहरुको यही सपना पूरा गराउन हामी प्रतिवद्धताका साथ काम गर्नेछौँ । तपाईँहरु राम्रो पढ्नु । हामी तपाईँहरु असल नागरिक भएको हेर्न चाहन्छौँ ।’
महानगरपालिकाले गरेका काममध्ये यो उत्कृष्ट काम हो । कार्यक्रममा वडाध्यक्ष कुश ढकालले भन्नुभयो, ‘प्रतिकुल परिस्थितिको सामना गरिरहेका बालबालिकाको अध्ययनका लागि जसजसले हात अगाडि बढाउनुभएको छ । उहाँहरु सबैलाई पुण्य प्राप्त भएको छ ।’
‘यो शैक्षिक क्रियाकलाप मात्र होइन । कार्यवाहक प्रमुखले भने जस्तै मानवीय सेवा पनि हो । यो सेवाप्रति हामी प्रतिवद्ध छौँ ।’ प्याब्सन जिल्ला कार्यसमितिका अध्यक्ष गगनसिंह ऐरले भन्नुभयो, ‘बालबालिकाले देखेको सपना हाम्रो पनि सपना हो ।’ ‘महानगरपालिका हाम्रो पनि अभिभावक हो । महानगरपालिकाको निगरानी र समन्वयमा हामी तपाईँहरुलाई उच्चस्तरीय शैक्षिक कार्यक्रम उपलब्ध गराउँछौँ ।’ सम्झौता अवसरमा एनप्याब्सन महानगर समितिका अध्यक्ष नवराज पाण्डेले भनाइ राख्नुभयो ।
राधा स्वामी होल्डिङ् सेन्टरमा ६१ जना बालबालिकाको नाम दर्ता भएको छ । शिक्षा विभागका अनुसार नाम दर्ता गरेका केही बालबालिका अभिभावकसँग बाहिर भाडाको घरमा बस्न गएका छन् ।
प्याब्सन अन्तर्गतका १० वटा विद्यालयसँग सम्झौता गरिएको छ । प्याब्सनका जिल्ला अध्यक्ष नवराज भट्टका अनुसार सम्झौता गरिएका विद्यालयहरु एन्जल हर्ट स्कूल मनमैजु, गेटवे एकेडेमी पेप्सीकोला, भ्याली पब्लिक स्कूल कपन बुढानीलकण्ठ, नेक्सस इन्टरनेशनल स्कूल पेप्सीकोला, इनोभेटिभ स्कूल शंखमुल, हेम्स स्कूल कालोपुल, केएमसी शंखमुल, केभिसी नागार्जुन, भेनस पब्लिक स्कूल जोरपाटी र सुप्रिम इन्टरनेशनल स्कूल चावहिल हुन् ।
एनप्याब्सन अन्तर्गतका ३ वटा विद्यालयसँग सम्झौता भएको छ । एनप्याब्सन महानगर समिति अध्यक्ष नवराज पाण्डेका अनुसार प्रोग्रेसिभ सेकेण्डरी स्कूल चावहिल, नेरिक एकेडेमी, बानेश्वर बुद्धनगर र नेशनल आइडल बोर्डिङ स्कूल मन्डिकाटारसँग सम्झौता भएको हो ।
यसरी बालबालिकालाई निःशुल्क पढ्ने अवसर प्राप्त गरेकोमा अभिभावकहरुले खुशी व्यक्त गर्नुभयो । अभिभावक मनोज महतोले भन्नुभयो, ‘खुशी लागेको छ ।’ मनमा लागेका खुल्दुली मेटाउन प्रश्न गर्दै गीता लामाले भन्नुभयो, ‘आजसम्म मैले मेरो नातिलाई छुट्टै सुताएको थिएन । अब अलग्गै सुत्ने भयो । यसमा दुःख लागेको छ । तर, राम्रो ठाउँमा पढ्न पाउने भो, यसमा हौसला भएको छ ।’
‘हामी गरिब मान्छे । एसईई दिएपछि के गर्ने भन्ने थियो । हामीलाई कम्प्युटर सिकाइदिनुभयो । यस्तो अवसर त हामीले सोचेकै थिएनौँ ।’ निर्जला पासवानले खुशी सुनाउनुभयो । अर्का अभिभावक स्मृति राईले, छोराछोरीको पठनपाठन बिचमै छोड्न पर्ने दिन आउला कि भन्ने पिर लागेको बताउनुभयो ।
वैठकका निर्णयहरु
१) काठमाडौँका नदी किनार तथा जोखिमयुक्त स्थानहरुबाट संरक्षित परिवारका बालबालिकालाई काठमाडौँ महानगरपालिकाको व्यवस्थापन, संयोजन तथा सहजीकरणमा शिक्षाको न्यायोचित प्रबन्धका लागि थालिएको पहल अन्तर्गत हाल कीर्तिपुरस्थित राधास्वामी सत्संग भवनको होल्डिङ सेन्टरमा आश्रित बालबालिकाका लागि संस्थागत विद्यालयहरुमा एसइईसम्मको आवासीय सुविधा सहित पठनपाठनका लागि काठमाडौं महानगरपालिका, सम्बन्धित विद्यालय र अभिभावकबिच यस निर्णय पुस्तिकामा टाँस भएबमोजिमको त्रिपक्षीय समझदारी गर्ने निर्णय गरियो ।
२) नदी किनार, जोखिमयुक्त स्थान तथा अव्यवस्थित क्षेत्रमा बसोबास गरेका परिवारका लागि तत् तत् स्थानबाट नेपाल सरकार समेतको निर्णयानुसार संरक्षित परिवारका बालबालिकाका लागि विद्यालयस्तरको पाठनपाठनलाई निःशुल्क व्यवस्था गर्न, काठमाडौँ महानगरपालिका तथा संस्थागत विद्यालय सम्बद्ध संघसंस्थाहरुका पदाधिकारीहरु बिच छलफल हुँदा आवासीय सुविधा प्राप्त हुन नसक्ने बालबालिकाका लागि निजहरुलाई पायक पर्ने प्याब्सन, एनप्याब्सन, हिसान तथा एपेनमा आबद्ध विद्यालयमा व्यवस्था गर्न/गराउन अनुरोध गर्ने ।
३) हाल काठमाडौँ महानगरपालिका, नेपाल सरकार तथा अन्य निकायहरुको संरक्षणमा रहेका परिवारका माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ग्रेडेड भएका छात्रछात्रालाई कक्षा ११ तथा १२ मा निःशुल्क पठनपाठनको प्रबन्ध गर्न गराउन विद्यार्थीले पढ्न चाहेका विद्यालयहरुलाई समेत अनुरोध गर्ने ।
४) अन्य संरक्षित बालबालिकाको पठनपाठनको व्यवस्थालाई प्रभावकारी र न्यायोचित बनाउन सम्बन्धित बालबालिका, अभिभावक, सम्भावित विद्यालय र सम्बद्ध संघसंस्थासँग आवश्यक र निरन्तर समन्वय र सहजीकरण गर्न काठमाडौँ महानगरपालिका शिक्षा विभागलाई निर्देशन दिने ।
सम्झौता पत्रमा उल्लेख भएका दायित्वहरु
विद्यार्थीको अध्ययन निरन्तरताका लागि काठमाडौँ महानगरपालिकाले अभिभावकीय भूमिका निर्वाह गर्नेछ । विद्यार्थीका लागि आवश्यक पर्ने विद्यालयले तोकेको पोशाक, झोला, स्तेशनरी तथा अन्य शैक्षिक सामग्री उपलब्ध गराउनेछ ।
विद्यालयले आवास सुविधासहित निःशुल्क पठनपाठनको व्यवस्था मिलाउनेछ । विद्यार्थीहरुलाई अन्य विद्यार्थी सरह सुविधा उपलब्ध गराउनेछ । व्यवहार गर्नेछ । अभिभावकसँग भेट गराउनेछ । महानगरपालिका र अभिभावकहरुसँग समन्वय गर्ने, सहजीकरण गर्ने तथा शैक्षिक सूचना प्रदान गर्नेछ ।
अभिभावकहरुले समय समयमा विद्यालयमा उपस्थित भएर विद्यार्थीको शैक्षिक प्रगतिका विषयमा जानकारी लिनुपर्नेछ । लामो समय विद्यालय छुट्टी भएमा विद्यार्थीहरुलाई जिम्मा लिएर परिवारसँग बस्ने प्रबन्ध मिलाउनु पर्नेछ । विद्यालयले तोकेको अवधिका विद्यालय लैजानु पर्नेछ । काठमाडौँ महानगरपालिका र विद्यालय प्रशासनसँग नियमित सम्पर्कमा रहनु पर्नेछ ।



निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App