वि.सं.: २०८३, असर ८ सोमबार
इ.स.: 2026 June 22,MONDAY
वि.सं.: २०८३, असर ८ सोमबार
भोलि विहान ९ बजे भरतपुर महानगरपालिकाका विरुद्ध पोखरा महानगरपालिका र दिउँसो १ बजे वीरगञ्ज महानगरपालिका विरुद्ध विराटनगर महानगरपालिका बिच खेल
काठमाडौँ । पीएल सिंह मेमोरियल टी–२० कपको छैटौँ खेलमा पोखरा महानगरपालिकाले र सातौँ म्याचमा विराटनगर महानगरपालिकाले जित दर्ता गरेका छन् । प्रतियोगिता अन्तर्गत सम्पन्न रोमाञ्चक प्रतिष्पर्धाहरूमा पोखराले काठमाडौँलाई ६ रनले र विराटनगरले ललितपुर महानगरपालिकालाई ८ विकेटले पराजित गरेका हुन् ।
असार ५ गते त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा प्रतिस्पर्धा चलिरहेको छ । उद्घाटन खेल काठमाडौँ महानगरपालिका र ललितपुर महानगरपालिका बिच भएको थियो । यस खेलमा काठमाडौँ महानगरपालिकाले ललितपुर महानगरपालिकालाई ६ विकेटले पराजित गरेको थियो । दोस्रो दिनको पहिलो खेलमा भरतपुरद्वारा वीरगञ्ज ७४ रनले र दोस्रो खेलमा पोखराद्वारा विराटनगर ९ विकेटले पराजित भएका थिए । तेस्रो दिनको पहिलो खेलमा काठमाडौँ महानगरपालिकाले वीरगञ्ज महानगरपालिकामाथि ६ विकेटको सहज जित दर्ता गर्यो । त्यस दिनको दोस्रो खेलमा ललितपुर महानगरपालिकाले भरतपुर महानगरपालिकालाई ४ विकेटले पराजित गर्दै रोमाञ्चक जित निकाल्यो ।
प्रतियोगिताको छैटौँ खेलमा आज काठमाडौँले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको थियो । वर्षा र अन्य प्राविधिक कारणले १० ओभरमा छोट्याइएको उक्त खेलमा पहिले ब्याटिङ गरेको पोखरा महानगरपालिकाले २ विकेट गुमाएर १०७ रनको बलियो योगफल खडा गर्यो ।
पोखराका लागि ओपनिङ ब्याटर अर्जुन कुमालले विष्फोटक ब्याटिङ गर्दै मात्र २४ बलमा ५० रनको अविजित अर्धशतकीय इनिङ खेल्नुभयो । उहाँलाई सन्दीप खत्री क्षेत्रीले १५ बलमा ३५ रन बनाउँदै बलियो साथ दिनुभयो । काठमाडौँका बिशाल फुयाँलले २ ओभरमा ३० रन खर्चेर १ विकेट लिनुभयो ।
१०८ रनको विजयी लक्ष्य पछ्याएको काठमाडौँ महानगरपालिकाले १० ओभरमा ७ विकेट गुमाउँदै १०१ रन मात्र बनाउन सक्यो । काठमाडौँका लागि कृष कार्कीले २५ र उत्तम थापा मगरले अविजित १८ रन जोडे पनि टोलीलाई जित प्राप्त हुन सकेन । पोखराका अपराजित पौडेल, कृष्ण पौडेल र बिपिन खत्रीले समान २-२ विकेट लिँदै काठमाडौँको ब्याटिङ लाइनअप ध्वस्त पार्नुभयो । खेलमा उत्कृष्ट प्रदर्शन गरेका पोखराका अर्जुन कुमाल ‘प्लेयर अफ द म्याच’ चुनिनुभयो ।
प्रतियोगिताको सातौँ खेलमा विराटनगर महानगरपालिकाले टस जितेर ललितपुर महानगरपालिकालाई पहिले ब्याटिङको निम्तो दिएको थियो । पहिले ब्याटिङ गरेको ललितपुरले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १५१ रनको चुनौतीपूर्ण स्कोर खडा गर्यो । ललितपुरका लागि रोशन बिकेले २५ बलमा अविजित ४२ रन र आदिल खानले २३ रन बनाउनुभयो । विराटनगरका कृष शर्मा र प्रतिक पोखरेलले समान २-२ विकेट लिनुभयो ।
१५२ रनको लक्ष्य पछ्याएको विराटनगर महानगरपालिकाले उत्कृष्ट ब्याटिङको नमूना प्रस्तुत गर्दै मात्र १६.५ ओभरमा २ विकेट गुमाएर लक्ष्य भेट्टायो । विराटनगरको जितमा नायक बनेका सुजन थापलियाले मात्र ३७ बलमा ८१ रनको विष्फोटक इनिङ खेल्नुभयो । त्यस्तै रोबिन मण्डलले ३९ बलमा ४४ रनको योगदान दिनुभयो । ललितपुरका तिलक राज भण्डारी र बिबेक राना मगरले १-१ विकेट लिनुभयो । १९ बल बाँकी छँदै ८ विकेटको सहज जित निकालेको विराटनगरका सुजन थापलिया खेलको ‘प्लेयर अफ द म्याच’ घोषित हुनुभयो ।
भोलि विहान ९ बजे भरतपुर महानगरपालिकाका विरुद्ध पोखरा महानगरपालिका र दिउँसो १ बजे वीरगञ्ज महानगरपालिका विरुद्ध विराटनगर महानगरपालिका बिच खेल हुँदैछ ।
काठमाडौँ महानगरपालिकाले आयोजना गरेको अन्तर महानगर टी-२० खेल आन्तरिक प्रतियोगितामध्ये सबैभन्दा धेरै राशीपुरस्कार भएको खेल हो । यसका विजेताले ११ लाख रुपियाँ र उपविजेता टीमले ५ लाख रुपियाँ नगदसहित पुरस्कार प्राप्त गर्नेछ । यस्तै वेष्ट बलर, वेष्ट वाट्स म्यान, प्लेयर अफ द टुर्नामेन्टलाई जनही ५ हजार रुपियाँसति पुरस्कृत गरिनेछ ।
यस वर्षको प्रतियोगितामा काठमाडौँ, ललितपुर, पोखरा, भरतपुर, विराटनगर र वीरगञ्ज गरी ६ वटा महानगरपालिकाबाट राष्ट्रिय खेलाडीसहितको टोली प्रतिस्पर्धामा हुनुहुन्छ । नेपाल सिनियर, नेपाल ए को सिनियर टीमबाट खेलेका, नेपाल अन्डर नाइन्टीन र अन्डर सिक्सटीनबाट खेलेका खेलाडीहरुले प्रतियोगितामा भाग लिएका छन् ।

निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App