Logo
  • वि.सं.: २०८३, असोज ६ मंगलबार

  • इ.स.: 2026 September 22,TUESDAY

  • वि.सं.: २०८३, असोज ६ मंगलबार

  • जीवित देवता  श्री गणेश र श्री भैरवको आसन अर्पण : आसन प्रतिस्थापन र स्थिर पूजा

    'श्री गणेश र श्री भैरवको स्थायी निवास स्थानका लागि संरचना बनाउँदैछौँ, अहिले तत्काल सुधारका काम गरिएको हो' - कार्यवाहक प्रमुख, डंगोल

    काठमाडौँ । आज काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले जीवित देवता श्री गणेश र श्री भैरवको आसन अर्पण गर्नुभएको छ । तःवहालमा आयोजना गरिएको आसन प्रतिस्थापनको तान्त्रिक पूजामा सहभागी भएर उहाँले श्री गणेश र श्री भैरवका अभिभावकलाई आसन अर्पण गर्नुभएको हो । सिंहासन काठमाडौँ महानगरपालिका हनुमानढोका दरबार क्षेत्र संरक्षण कार्यक्रमको खर्चमा निर्माण गरिएको हो । 

    त्यस क्रममा बोल्दै कार्यवाहक प्रमुख डंगोलले, व्यवस्थापनका दृष्टिले यस वर्षको जात्रा विशेष हुने बताउनुभयो । ‘श्रीहरुको घरमा येँयाः (इन्द्रजात्रा) का अवसरमा अब श्री गणेश र श्री भैरवको पनि आसनमा पूजा हुनेछ । यसअघि श्रीहरुको घरमा उहाँहरुको आसन थिएन ।’ उहाँले जात्रा अन्य थप कार्यक्रमका बारेमा भन्नुभयो, ‘करिब २५ वर्षदेखि काठमाडौँबासीले बजाउन छोडेको म्वाःली बाजा यस वर्ष काठमाडौँबासीले बजाउनुहुनेछ । कुमारी घरको छाना जीर्णोद्धार गरिसकेका छौँ । दाँगीका दिन चन्द्रागिरीस्थित इन्द्र दहमा जाने श्रद्धालुहरुका लागि निःशुल्क यातायातको व्यवस्था गर्दैछौँ ।’

    उहाँले स्थानीय सरकारले जात्रा पर्व व्यवस्थापनमा अभिभावकत्व बढाउँदै लगेको बताउनुभयो । 

    आज अर्पण गरिएको श्री गणेशको आसन उहाँको निवास स्थान वडा नं. १८ नरदेवी र श्री भैरवको आसन कोहिटी बहाल लगेर स्थिर पूजा गरियो । तलेजुका मूल पुजारी उद्धवमान कर्माचार्यका अनुसार तान्त्रिक विधिबाट आसन प्रतिस्थापन पूजा गरिएको हो । यसरी पूजा गरिसकेपछि आसन लगेर जुन ठाउँमा राखिन्छ । त्यसपछि स्थिर पूजा हुन्छ । स्थिर पूजा गरिसकेपछि आसनलाई चलाउन वा सार्न हुँदैन । श्रीको पूजा गर्दा यही आसनमा राखेर गरिन्छ । 

    यी आसनहरु चाँपको काठ, पित्तल र कपडाबाट बनाइएको हो । वर्तमान तथा भुपू जीवित श्री गणेश श्री भैरव संरक्षण समितिका सदस्य एवं पूर्व श्री भैरव बाल पुरुषोत्तम शाक्यका अनुसार आसन ३ फिट चौडाइ, साढे ३ फिट लम्बाइ र साढे ५ फिट उचाइका छन् । काठमा फूल बुट्टा र कलश कुँदिएको छ । आसनको माथिल्लो भागमा पञ्च नाग राखिएको छ । आसनको दायाँबायाँ द्वारपालका रुपमा २ वटा सिंह राखिन्छ । 

    आज नै सरकारको तर्फबाट श्रीगणेश र श्रीभैरवलाई येँयाः जात्रामा सहभागिता जनाउन निमन्त्रणा पूजा अर्पण भएको छ । 


     

  • प्रकाशित मिति मंगलबार ६ असोज २०८३ ०९:०७ PM