वि.सं.: २०८३, साउन ८ शुक्रबार
इ.स.: 2026 July 24, FRIDAY
वि.सं.: २०८३, साउन ८ शुक्रबार
‘महेन्द्र भवन महानगर विद्यालय’ का नामबाट सञ्चालन हुने विद्यालयलाई गुणस्तरीय र समावेशी शैक्षिक गन्तव्य बनाउन महानगरपालिका र गुठि बिच सम्झौता
काठमाडौँ । काठमाडौँको सानो गौचरन क्षेत्रमा रहेको महेन्द्र भवन माध्यमिक विद्यालयको गुमेको सामाजिक प्रतिष्ठालाई फिर्ता गर्ने तथा उत्कृष्ट शैक्षिक गन्तव्यका रुपमा विकास गरिने भएको छ । यसका लागि आज महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल र वडा नं. ५ का अध्यक्ष वीरेन्द्र प्रजापतीको रोहवरमा महानगरपालिकाका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ र महेन्द्र भवन शैक्षिक गुठीका तर्फबाट अध्यक्ष प्रा. डा. प्रमिला राईले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ ।
सार्वजनिक शैक्षिक गुठीबीच महेन्द्र भवन माध्यमिक विद्यालयलाई आधुनिक र नमुना विद्यालयका रूपमा सञ्चालन गर्न सम्झौता गरिएको हो । आजभन्दा करिब ४५ दिन अगाडि महेन्द्र भवनका पूर्व विद्यार्थीहरु आएर कार्यवाहक प्रमुख डंगोललाई भेटेर विद्यालय जोगाउन महानगरपालिकालाई आग्रह गर्नुभएको थियो । त्यस भेटमा कार्यवाहक प्रमुख डंगोलले, उचित समयमा निर्णय लिइने बताउनुभएको थियो ।
सम्झौतापछि कार्यवाहक प्रमुख डंगोलले, विद्यालयको सामाजिक प्रतिष्ठा उच्च भएका बेलाका असल अभ्यासको अध्ययन, समय सुहाउँदो प्रविधिसहित विद्यालयलाई उत्कृष्ट शैक्षिक गन्तव्यका रुपमा विकास गरिने बताउनुभयो । ‘विद्यालय संरक्षण गर्नु भनेको पूर्वाधार जोगाउनु मात्र होइन । त्यसैले विद्यालयको प्रतिष्ठा पुनस्थापना गर्न विद्यालयको गुरुयोजना निर्माण गरेर संयुक्त प्रयत्नबाट योजना कार्यान्वयन गर्नुपर्छ ।’
त्यस अवसरमा वडाध्यक्ष प्रजापतीले, विद्यालयको सामाजिक छवि फिर्ता गरेपछि वडाको पनि खास फिर्ता हुनेछ । ‘उत्कृष्ट व्यवस्थापनमा उत्कृष्ट शैक्षिक क्रियाकलाप वडा ५ को पहिचान बन्नेछ ।’ उहाँले प्रतिक्रिया दिनुभयो ।
आज हाम्रा लागि उत्सवको दिन बनेको छ । विद्यालयमा विद्यार्थीको संख्या घटेपछि हामीलाई विद्यालय जोगाउन त कठिन थियो नै, यससँगै विद्यालय रहेको जमिन बचाउन अझ चुनौतीपूर्ण रह्यो । गुठीका अध्यक्ष प्रा. डा. राईले भन्नुभयो, ‘महानगरपालिकाको साथले अब हामी ढुक्क भयौँ ।’
वि. सं. २०१४ सालमा युनाइटेड मिसन नेपालको सहयोगमा गैरसरकारी विद्यालयका रुपमा महेन्द्र भवन माध्यमिक आवासीय विद्यालय स्थापना भएको हो । संस्थाको दायित्व २०५४ सालमा पूरा भयो । २०६१ सालमा महेन्द्र भवन सार्वजनिक शैक्षिक गुठि गठन गरेर विद्यालय सञ्चालनको दायित्व लिएको थियो ।
केही वर्षदेखि विद्यार्थी संख्यामा आएको कमी आएपछि आर्थिक अभाव सुरु भयो । यसबाट व्यवस्थापकीय चुनौती सिर्जना भयो । यसपछि क्रमशः विद्यालयको भौतिक तथा शैक्षिक गुणस्तरमा ह्रास आयो । विद्यालयलाई यो क्षतिबाट बचाउन अब, शैक्षिक गुठी र महानगरपालिका बिच ‘संयुक्त व्यवस्थापन’ को मोडलमा काम हुनेछ ।
सम्झौता बमोजिम अब विद्यालयको नाम ‘महेन्द्र भवन महानगर विद्यालय’ हुनेछ । विद्यालयको स्वामित्व र भौतिक सम्पत्ति गुठीमै रहने भए तापनि यसको सञ्चालन र व्यवस्थापनमा महानगरपालिकाले प्रत्यक्ष भूमिका रहनेछ । विद्यालयलाई आगामी दिनमा उच्च शिक्षाको केन्द्रका रूपमा स्तरोन्नति गर्ने र अन्तर्राष्ट्रिय स्तरको प्रतिस्पर्धी शैक्षिक संस्था बनाउने लक्ष्य राखिएको छ ।
विद्यालयको भौतिक संरचनाको मर्मत, नवनिर्माण र आधुनिक प्रविधि जडानका लागि आवश्यक वित्तीय स्रोतको व्यवस्थापन काठमाडौँ महानगरपालिकाले गर्नेछ । विद्यालयको नीतिगत निर्णय र मार्गदर्शनका लागि महानगरका उपप्रमुखको संयोजकत्वमा ‘विद्यालय निर्देशक समिति’ गठन हुनेछ । उक्त समितिमा गुठीका अध्यक्ष सहसंयोजक रहने व्यवस्था गरिएको छ ।
त्यसैगरी, हाल कायम रहेका ९ जना गुठियारहरूमा महानगरले तोकेका ८ जना थप गरी १७ सदस्यीय शैक्षिक गुठी बनाइनेछ ।
विद्यालय परिसरमा शैक्षिक कार्यक्रमका अतिरिक्त विशेष विद्यालय, स्पोट्र्स एकेडेमी र बाल विकास कार्यक्रमहरू समेत सञ्चालन हुनेछ ।
महानगरपालिकाले वार्षिक बजेट र कार्यक्रममार्फत विद्यालयको गुरुयोजना कार्यान्वयन गर्नेछ । यस सहकार्यले सार्वजनिक शिक्षाको गुणस्तर सुधारमा एउटा नयाँ मानक स्थापित गर्ने विश्वास लिइएको छ ।


निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App