Logo

ताजा अपडेट

METRO FM

सप्ताहव्यापी कार्यक्रमसहित २८ औँ महानगर दिवस सम्पन्न 

सप्ताहव्यापी कार्यक्रमसहित २८ औँ महानगर दिवस सम्पन्न 

काठमाडौँ । सप्ताहव्यापी कार्यक्रमसहित मनाइएको काठमाडौँ महानगरपालिकाको २८ औँ स्थापना दिवसका औपचारिक कार्यक्रम आजबाट सकिएका छन् । बसन्तपुरमा आयोजना गरिएको विशेष समारोह स्थलमा उद्यमी मेला प्रदर्शनी, तस्विर प्रदर्शनी, चित्रकला प्रदर्शनी, मौलिक खाना मेला सञ्चालन गरिएको थियो । पूर्व निर्धारित सबै कार्यक्रम मूल समारोहसँगै सकिए पनि सेवाग्राहीको चापका कारण नेपाली सेनासँगको सहकार्यमा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरको १ दिन म्याद थप गरेर भोलिसम्म पु¥याइएको छ । 

मूल समारोहमा महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) ले, डिजिटल सिग्नेचरसहितको इलेक्ट्रोनिक विल्डिङ् परमिट सिस्टम (ईवीपीयस) प्रणाली, ई—शिफारिस, येँ देँ केएमसी हेरिटेज वक (सम्पदाको पद मार्ग र यात्राका विषयमा जानकारी दिने) मोवाइल एप्लिकेसन सार्वजनिक गर्नुभयो । कार्यक्रममा २८ औँ महानगर दिवस विशेष प्रकाशन, इन्द्रजात्रा सम्बन्धी नेपालका भाषाका पुस्तिकाहरु लोकार्पण गरिएको थियो । त्यस क्रममा चितवन देवघाटको जानकी अनाथ बालिका आश्रमका बालिकाहरुले स्वस्ति वाचन गर्नुभएको थियो । कार्यक्रममा नेपा डान्स एकेडेमीले स्वागत र कुमारी नृत्य प्रस्तुत गरेको थियो ।   

मूल समारोहमा २७ जना कर्मचारी, १३ जना जनप्रतिनिधि, ५ जना पत्रकार, १ जना कलाकार र १ जनालाई जोखिमपूर्ण पुरस्कारसहित ४७ जनालाई सम्मान प्रदान गरियो । हिजो परम्परागत बाजा गुरु, विद्यालय स्तरमा भएका प्रतियोगिताका विजेताहरुलाई पुरस्कार प्रदान गरि सकिएको छ । 

५० हजार राशीको जोखिमपूर्ण सेवा पुरस्कार सशस्त्र प्रहरी हवल्दार वीरेन्द्रबहादुर साउदलाई प्रदान गरियो । महावौद्धको आगलागीमा घाइते भएका साउदले हातको औँला गुमाउनुभएको छ । यसै गरी नेपाल सम्बतका प्रवर्तक शंखधर साख्वा सम्बन्धी अध्ययन गरेर मुखाकृतिसहितको मूर्ति बनाउने कलाकारलाई वत्सगोपाल बैद्यलाई नगद १ लाख रुपैयाँसहित सम्मान प्रदान गरियो । 

सम्मानतर्फ महानगर सेवा गौरवबाट ७ जना जनप्रतिनिधि र ५ जना कर्मचारीलाई प्रदान गरिएको छ । जनप्रतिनिधिहरुमा वडा १० का अध्यक्ष रामकुमार के. सी., वडा १३ का अध्यक्ष ध्रुवनारायण मानन्धर, १६ का अध्यक्ष मुकुन्द रिजाल, १८ का अध्यक्ष न्हुच्छेकाजी महर्जन, वडा २० का अध्यक्ष राजेन्द्र मानन्धर, वडा २१ का अध्यक्ष उदयचुडामणि बज्राचार्य र वडा ६ का वडा सदस्य नरेन्द्र थापाले प्राप्त गर्नुभयो । जनप्रतिनिधिहरुलाई पदकसहित १ लाख रुपैयाँ नगदसहित सम्मानित गरिएको हो । 

कर्मचारीतर्फ निर्देशक वुद्धरत्न मानन्धर, नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डे, वरिष्ठ उद्यान सहायक इन्द्रलाल रेग्मी, कार्यालय सहयोगी (नाइके) देवी नेपाली, हलुका सवारी चालक सुरेन्द्र पोडे हुनुहुन्छ । उहाँहरुलाई पदक र प्रमाण पत्र दिइएको हो । 

उत्कृष्ट महानगर सेवा पुरस्कारतर्फ निर्देशक देवेन्द्र पोखरेल, सहायक निर्देशक सन्तु श्रेष्ठ, अधिकृत छैटौँ इन्द्रप्रसाद खनाल, नायव सुब्बा टंकबहादुर थापासहित १० जना सम्मानित हुनुभयो । यस्तै नगर प्रहरी हवल्दार प्रयास घिमिरे, मेकानिकल हेल्पर कुलबहादुर धलान, कार्यालय सहयोगी बलराम उपाध्याय, कुचीकार बाबुचा पोडे, हलुका सवारी चालक जयकृष्ण सुवेदी, कुचीकार जमुना पोडेनी हुनुहुन्छ । यो पुरस्कार नगद ५० हजार रुपैयाँ राशीसहितको हो । 

२५ हजार रुपैयाँसहितको महानगर सेवा पुरस्कार १० जनालाई प्रदान गरियो । यो पुरस्कार पाउनेमा सहायक निर्देशक सोम राना, सहायक निर्देशक शारदादेवी सोती, सहायक निर्देशक जनस्वास्थ्य मञ्जु मास्के, सहायक निर्देशक छैटौँ विष्णुबहादुर पौडेल, कार्पेन्टर अधिकृत छैटौँ सुरेन्द्र शाक्य, कार्यालय सहयोगी गोमादेवी बजगाइँ, नगर प्रहरी हवल्दार मञ्जु के. सी., कार्यालय सहयोगी पुरुषोत्तम महर्जन, हलुका सवारी चालक फुर्वा शेर्पा हुनुहुन्छ । 

स्व. जनकमान श्रेष्ठ स्वशासन पुरस्कारमा जनप्रतिनिधितर्फ वडा २३ का अध्यक्ष मचाराजा महर्जन र वडा ११ की सदस्य यशोमती परियारलाई प्रदान गरियो । कर्मचारीतर्फ उपनिर्देशक कुमारी राई र सहायक निर्देशक सुरेशकुमार दाहाललाई प्रदान गरियो । महानगरका जननिर्वाचित पहिलो सभापति स्व. जनकमान श्रेष्ठका नाममा यो पुरस्कार स्थापना गरिएको हो । 

१ लाख रुपैयाँ नगदसहितको साधना देवी अग्रणी महिला पुरस्कारबाट वडा ९ की सदस्य श्रृजना भेटवाल, वडा १७ की सदस्य कविता दास दर्नाल, वडा १९ की सदस्य रेणुकमल शाही भारती, कार्यपालिका सदस्य कञ्चना नेपाली हरिजनलाई प्रदान गरिएको छ ।  

सुशासन पत्रकारिता पुरस्कारबाट आर्थिक दैनिकका सम्पादक प्रह्लाद रिजाल, कान्तिपुर हटलाइनका सम्पादक श्रृजन झा, गोरखापत्रका समाचारदाता भउचप्रसाद यादव, ईकान्तिपुरकी रीना मोक्तान र मेरो साप्ताहिकका रत्नकाजी महर्जनलाई प्रदान गरिएको छ । 

कार्यक्रममा उत्कृष्ट करदातामा व्यवसाय करतर्फ मेगा बैङ्क लिमिटेड, एकीकृत सम्पत्ति करतर्फ वडा नं. २८ की भावना सिंह श्रेष्ठ, बहाल करतर्फ नारायण प्रसाद वस्ताकोटी, मनोरन्जन करतर्फ,  सेन्ट्रल सिनेमा, सिभिल मल र अनलाइन प्रणालीबाट सबैभन्दा बढी बहाल कर तिर्ने  वडा नं. २६ का पवन कुमार श्रेष्ठ लाई घोषित गरिएको छ । 

मखं कुमारी मतिना डंगोललाई मासिक १५ हजारका दरले ५ महिनाको ७५ हजार रुपैयाँ प्रदान गरियो । 

प्रतियोगितात्मक तस्विर र चित्रकला
प्रतियोगितात्मक तस्विर प्रतियोगितामा शुशिल श्रेष्ठको तस्विर पहिलो, सुनिल शर्माको तस्विरले दोस्रो र महेश प्रधानको तस्विरले तेस्रो स्थान प्राप्त गरेको छ । कार्यक्रममा नतिजा सार्वजनिक गर्दै सान्त्वाना स्थानका लागि आर्यन धिमाल, हरि प्रधान, अर्चना श्रेष्ठ र दिपेश श्रेष्ठका तस्विर छानिएका छन् । 

यसैगरी चित्रकलातर्फ निरज चित्रकार, प्रवीण श्रेष्ठ र कुन्ती श्री थापाका चित्रले क्रमशः प्रथम, दोस्रो र तेस्रो स्थान प्राप्त गरेका छन् । यस्तै अमन महर्जनको चित्रले सान्त्वाना स्थान प्राप्त गरेको छ । 

सम्पन्न कार्यक्रम 
यस बर्षका कार्यक्रमहरु वडा लक्षित गरिएका थिए । विशेष सरसफाइ, पद यात्रा र सम्पदा यात्रा, विद्यालय स्तरीय प्रतियोगिताहरुले वडाहरु समेटेका थिए । यससँगै बसन्तपुर, जयबागेश्वरी, हाँडीगाउँ, स्वयम्भू, बसन्तपुरलगायतका ठाउँमा विशेष कार्यक्रम सञ्चालन भए । आम नागरिक, सरोकारवाला तथा विकास साझेदार, विद्यालयका विद्यार्थी र शिक्षक, जनप्रतिनिधि र कर्मचारी सबैको सहभागिता सुनिश्चित गर्न यसरी कार्यक्रम गरिएको थियो । 

प्रमुख ११ र प्रमुख प्रशासकीय अधिकृत ११ समूह विच मैत्रीपूर्ण फुटबल, महानगरका कर्मचारी स्तरमा हाजिरी जवाफ प्रतियोगिता, महिला कर्मचारी र महिला जनप्रतिनिधिविच कुर्सी दौड प्रतियोगिता, विद्यालयका विद्यार्थी स्तरीय चित्रकला र निवन्ध लेखन तथा शिक्षक स्तरीय हाजिरी जवाफ प्रतियोगिता छन् । युवाहरुलाई परम्परागत बाद्यबादनमा प्रोत्साहन गर्ने उद्देश्यले धिमे बाजा प्रतियोगिता, विपद्का विषयमा जागरण बढाउन नेपाल रेडक्रम सोसाइटीसँगको सहकार्यमा कृतिम अभ्यास, बालाजुमा दकमल स्टेशनको शुभारम्भ लगायत विशेष कार्यक्रम रहे । 

नेपाली सेनाको सहकार्यमा सञ्चालन भएको निःशुल्क स्वास्थ्य शिविरलाई प्रमुख सेनापति महारथी प्रभुराम शर्मा र महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) ले संयुक्त रुपमा शुभारम्भ गर्नुभएको थियो । 

मुल समारोहमा सहरी विकास मन्त्री मेटमणि चौधरीले, सहरको मौलिकता बचाउँदै आधुनिक विकासमा काम गर्नुपर्ने बताउनुभयो । 

नागरिकमा घरमा महानगरका सेवा पु¥याउन अनलाइन सेवालाई प्रवर्धन गरिरहेको बताउँदै महानगरका प्रमुख शाहले, थालनी गरिएका कामलाई प्रभावकारी बनाउँदै लगिने बताउनुभयो । 

नयाँ नेतृत्वबाट नयाँ परिणाम आएको उल्लेख गर्दै कार्यक्रममा बागमती प्रदेशका पर्यटन तथा सस्कृति मन्त्री दिपेन्द्र श्रेष्ठले महानगरका काममा प्रदेशबाट आवश्यक समन्वयमा कमी हुन नदिने बताउनुभयो । 

काठमाडौँ आफ्नो नगरको जेठो नगर हो । यसबाट हामीले सिक्ने कुरा छन् । सहयोग लिने र समन्वय गर्ने काम छन् । यसप्रति उपत्यकाका नगरहरुका तर्फबाट एकमत प्रकट गर्न चाहन्छु । कार्यक्रममा ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले धारणा राख्नुभयो । 

कार्यक्रममा महानगरकी उपप्रमुख सुनिता डंगोलले, जनताप्रति उत्तरदायी हुँदै अधिक सरल सेवा र दिगो सुविधा वितरणमा काम गर्ने बताउनुभयो । 

काठमाडौँले स्थानीय स्वशासन र स्थानीय सरकारका गरिमा बढाउँदै लैजान चुस्त कर्मचारी प्रशासनमा काम गर्ने प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले प्रतिवद्धता व्यक्त गर्नुभयो । 

काठमाडौँ नगर १९७६ सालमा स्थापना भएको सफाइ अड्डाबाट विकसित हुँदै गएको संस्थागत संरचना हो । यस संरचनालाई २०५२ मंसिर २९ गते महानगर घोषणा गरिएको थियो ।