Logo

सूचना सञ्चार र सञ्चार प्रविधिमा महसुस योग्य नतिजा ल्याउनुपर्छ — उपप्रमुख डंगोल

सूचना सञ्चार र सञ्चार प्रविधिमा महसुस योग्य नतिजा ल्याउनुपर्छ — उपप्रमुख डंगोल


काठमाडौँ । काठमाडौँ महानगरकी उपप्रमुख सुनिता डंगोलले सूचना सञ्चार तथा सञ्चार प्रविधिका क्षेत्रमा महानगरले देखिने नतिजा ल्याउनु पर्ने बताउनुभएको छ । विभागहरुका वार्षिक कार्यक्रम र प्राप्त उपलब्धीका विषयमा जानकारी लिने क्रममा सूचना प्रविधि विभागका अधिकारीहरुसँग कुरा गर्दे उहाँले यस्तो बताउनुभएको हो । 

‘सार्वजनिक सेवा प्रदायकबाट उत्पादन हुने सूचना छिटो पाइयोस् । सेवा लिन कार्यालय जानुको सट्टा प्रविधि प्रयोग गर्न पाइयोस् । नागरिकको चाहना यस्ता छन् । नागरिकका यी अपेक्षा पूरा गराउने दायित्व सूचना प्रविधि विभागमा छ । योजनावद्ध र प्रभावकारी कार्यक्रम सञ्चालनबाट नतिजा प्राप्त गर्न सकियोस् भन्ने मैले चाहेकी छु ।’ उपप्रमुख डंगोलले भन्नुभयो, ‘भौगोलिक सूचना प्रणालीमा आधारित सहरी अवस्थालाई तथ्यचित्रमा देखाउन मिल्ने गुरुयोजना निर्माण गरौँ । सेवालाई प्रविधिमा आवद्ध गराऔँ । जनचासो र सार्वजनिक सरोकारका विषयमा समाचार, जानकारी तथा सूचना प्रवाह गरौँ । आन्तरिक आमसञ्चारलाई प्रभावकारी र समयसापेक्ष बनाऔँ । यसले नागरिकको सूचना प्राप्त गर्ने अधिकार सुनिश्चित गर्छ ।’ उपप्रमुख डंगोलको भनाइ थियो । 

छलफलमा विभागका प्राथमिक कार्यक्रमका विषयमा जानकारी दिँदै विभागका प्रमुख नमराज ढकालले, डिजिटल सिग्नेचरसहितको इलेक्ट्रोनिक विल्डिङ् परमिट सिस्टम (ईवीपीएस) .कार्यान्वयनमा ल्याइसकिएको बताउँदै अब भवन नक्सा स्वीकृत गर्न कार्यालय पुग्नै नपर्ने बताउनुभयो । ई—शिफारिसबाट सर्जमिन गर्नु नपर्ने सबै शिफारिस प्राप्त गर्न सकिने, यसका लागि नागरिकले केटीएम एप प्रयोग गर्नु पर्ने ढकालको भनाइ थियो ।  सेवालाई विद्युतीय प्रणालीमा आधारित बनाउन इन्टरनेट र इन्ट्रानेटको क्षमता बढाउँदै लगिएको, तथ्याङ्क संकलन, अभिलेखीकरण, विश्लेषण र भण्डारणको काम थालनी गरिएको बताउनुभयो । 

त्यस क्रममा न्यायिक .प्रणालीका सूचना अनलाइनमा आवद्ध गराउन इजलासको प्रयोग, राजस्व प्रणालीमा कर, दस्तर तथा सेवा शुल्कलाई डिजिटल भुक्तानी प्रणालीमा आवद्ध गराउने लगायत विषयमा छलफल भएको थियो भने हार्डवेयर, सफ्टवेयर र सर्भर क्षमताका विषयमा जानकारी गराइएको थियो । 

छलफलमा सूचना सञ्चार र सूचना प्रविधि महाशाखाका अधिकारीहरुको सहभागिता थियो ।   
 

 

  • प्रकाशित मिति: बिहीबार ७ पुस २०७९ १८:०२