Logo
  • वि.सं.: २०८३, साउन ११ सोमबार

  • इ.स.: 2026 July 27,MONDAY

  • वि.सं.: २०८३, साउन ११ सोमबार

  • वार्षिक कार्ययोजना र खरिद योजना साउनभित्रै स्वीकृत गराउन तथा असोजभित्र सबै बोलपत्र आव्हान गरिसक्न कार्यवाहक प्रमुख डंगोलको निर्देशन

    आर्थिक वर्षको बजेट नीति तथा कार्यक्रमलाई प्राथमिकताका आधारमा तत्काल कार्यान्वयनमा ल्याउन जोड

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले, चालु आर्थिक वर्षका लागि स्वीकृत नीति, योजना तथा कार्यक्रमको प्राथमिकता निर्धारण गरेर शतप्रतिशत कार्यान्वयनको सुनिश्चित गर्न निर्देशन दिनुभएको छ । आज सहरी योजना आयोग, विभाग, आयोजना, सचिवालय र कार्यक्रमका प्रमुखहरुसँगको बैठकमा उहाँले, योजना अनुगमन तथा मूल्याङ्कन एकाइले उपलब्ध गराएको ढाँचामा एक हप्ताभित्र वार्षिक कार्ययोजना बनाएर पेश गर्न, प्रमुख प्रशासकीय अधिकृत र विभागीय प्रमुख बिच सूचक सहितको कार्य सम्पादन सम्झौतालाई साउनभित्रै सम्पन्न गर्न, सार्वजनिक खरिद प्रक्रियामा लैजानु पर्ने योजनालाई असोजभित्र सूचना प्रकाशन गरिसक्न सम्बन्धित विभागलाई निर्देशन दिनुभयो । 

    ‘वडाको चुस्त सेवाका लागि केन्द्रबाट प्रदान गर्नुपर्ने सहायता प्रदान गर्नु, मितव्ययी कार्यालय सञ्चालन प्रबन्ध गर्नु, पुराना बस्तु तथा सामान मर्मत गरेर चलाउन मिल्छ भने मर्मत गराउनु ।  यदि मर्मत गरेर चलाउन सकिँदैन भने लिलाम प्रक्रियामा लैजानू । सेवा प्रवाहमा चुस्त र सहजपन ल्याउन, वित्तीय अनुशासनमा अब्बल हुनुहोला ।’ कार्यवाहक प्रमुख डंगोलले भन्नुभयो, ‘गएको वर्षका असल अभ्यासलाई निरन्तरता दिनुहोला । करको दायरा फराकिलो बनाउनुहोला । सहरी योजना आयोगबाट प्राप्त गर्नु पर्ने सहायताका लागि ३ दिनभित्र माग पठाउनुहोला ।’ 

    वैठकमा उहाँले, आन्तरिक तथा वाह्य समन्वय र सञ्चारलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो । 

    वैठकमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले, उत्तरदायी, पारदर्शी र मितव्ययी महानगरपालिकाको पहिचानका लागि दत्तचित्तले काम गर्न आग्रह गर्नुभयो । ‘हरेक नीति, योजना तथा कार्यक्रमका लक्षित नतिजा छन् । ती नतिजा प्राप्त हुने गरी योजनावद्ध कार्यक्रम कार्यान्वयनका लागि विभागीय प्रमुखले मातहतका कर्मचारीहरुलाई मूल्याङ्कन सूचकसहित कार्यविवरण दिनुहोला ।’ गुरागाईँले अपेक्षा राख्नुभयो । 

    बैठकमा सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारीले, आयोगसँग विभाग, आयोजना र सचिवालयहरुको निकट सम्बन्धबाट दिगो नतिजा प्राप्त हुने अपेक्षा राख्नुभयो । यस्तै आयोगका सदस्य डा. सुरज काफ्लले, साझा संकल्प र समान दृष्टिबाट नतिजा प्राप्त हुने धारणा राख्नुभयो । 

    बैठकपछि लगत्तै प्रमुखको सचिवालयले सबै विभाग, आयोजना र सचिवालयहरूलाई निर्णय कार्यान्वयनका लागि परिपत्र गरिसकेको छ । 

    वैठक, प्रशासनिक तथा सेवाा सुधार, कर तथा राजस्व र खर्च प्रणालीको सुधार गर्ने संकल्पसहित यो वर्ष बजेटको पूर्ण कार्यान्वयनमा केन्द्रित थियो ।

    सेवाग्राहीमैत्री वातावरणका लागि कर्मचारीको आचरण र उपस्थितिलाई समेत कडा निगरानी गर्ने, वित्तीय सुशासनमा प्रतिवद्ध रहने बैठकले निर्णय गरेको छ । 

    निर्णय अनुसार हरेक कर्मचारीले एक हप्ताभित्र आफ्नो स्पष्ट कार्यविवरण पाउनेछन् । कर्मचारीहरू कार्यालय समयभर तोकिएको पोशाकमा उपलब्ध हुनु पर्नेछ । प्रत्येक हप्ताको शुक्रबार या कामको चापका आधारमा कुनै एक दिन अनिवार्य रुपमा विभागीय वैठक गर्नुपर्नेछ । यसरी गरिने वैठकमा हुने प्रगतिको विवरण प्रमुखको सचिवालय, प्रमुख प्रशासकीय अधिकृतको सचिवालय र प्रशासन विभागमा पठाउनु पर्नेछ । 

    विभागीय दायित्वलाई प्रभावकारी बनाउने आज नै कार्यवाहक प्रमुख डंगोलले, सहरी व्यवस्थापन विभाग र सूचना प्रविधि विभागका अधिकारीहरुसँग छलफल गरेर विभागीय समस्या र समाधानका उपायका विषयमा कुराकानी गर्नुभएको छ । 

  • प्रकाशित मिति सोमबार ११ साउन २०८३ ०८:४३ PM