वि.सं.: २०८२, पुस १ मंगलबार
इ.स.: 2025 December 16,TUESDAY
वि.सं.: २०८२, पुस १ मंगलबार
नविनतम सोचबाट परिणाम ल्याउन परम्परागत कार्य प्रणालीमा सुधार आउन जरुरी - शिक्षाविदहरु
काठमाडौँ । ‘राष्ट्रिय र अन्तरराष्ट्रिय शैक्षिक कार्यक्रमसँग काठमाडौँ महानगरपालिकाले सञ्चालन गरेका शिक्षामा नवप्रवर्तनका कार्यक्रम लाभदायी र दिगो नतिजा दिने खालका देखिए । यी कार्यक्रमबाट बालबालिकालाई लाभान्वित गराउन अन्तरसरकार सम्बन्धमा शिक्षाका
कार्यक्रमलाई तहगत सरकारले अपनत्व ग्रहण गर्ने र कार्यान्वयनमा साझेदारबिच सहकार्य गर्ने वातावरण बनाउनु पर्छ ।’ काठमाडौँ महानगरपालिकाले शुक्रबारबाट राष्ट्रिय सभा गृह र द व्लु पेभेलियनमा प्रारम्भ गरेको २ दिने शैक्षिक सम्मेलनको पहिलो दिनका सत्रहरुले दिएको सारमा यस्तो बताइएको हो । नवप्रवर्तनमा आधारित महानगरपालिकाका शैक्षिक योजना तथा कार्यान्वयनमा आएका कार्यक्रमका अनुकुलता र प्रतिकुलता विषयक शैक्षिक सम्मेलन (एजुकेसनल कन्फरेन्स अन इनेब्लिङ् इनोभेसन्स इन एजुकेसन प्लानिङ् एण्ड इम्प्लिमेन्टेसन) आजसम्म चल्नेछ ।
सम्मेलनको सारवक्ताका रुपमा राष्ट्रिय योजना आयोगका पूर्व सदस्यले, सार्वजनिक शिक्षाबाट नै सर्वसाधारणको पहुँचमा शिक्षाको अवसर प्रदान गर्न सकिने बताउनुभयो । यसकारण सार्वजनिक शिक्षाको विकास र विस्तारमा नवप्रवर्तनको प्रयोग आवश्यक रहेको उहाँको भनाइ थियो ।
काठमाडौँ महानगरपालिकाले प्रयोग गरेका, सञ्चालन गरेका र दिगो उपयोग योजनामा राखेका शैक्षिक नवप्रवर्तनका ढाँचा र विद्यमान अवस्थाका बारेमा प्रस्तुतिकरण गर्दै सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाले, विद्यार्थी र अभिभावकको रुचिलाई वर्तमान आवश्यकतासँग जोडेर कार्यक्रम तर्जुमा गरिएको बताउनुभयो । महानगरपालिकाका अभ्यासलाई राष्ट्रिय अन्तर्राष्ट्रिय विज्ञहरुको पृष्ठपोषणबाट सुधार र संस्थागत गर्दै लगिने झाको भनाइ छ ।
सम्मेलनमा भुटानका पूर्व शिक्षामन्त्री ठाकुर एस. पौड्यालले, माइ ग्रीन स्कूल : पुनस्थापनात्मक सिकाइ र मानवीय समृद्धिको ढाँचा विषयमा प्रस्तुतिकरण गर्नुभएको थियो । प्रक्रिया पूरा गराउनका लागि मात्र हुने कामले शैक्षिक रुपान्तरण गर्न नसकिने बताउँदै उहाँले प्राकृतिक वातावरण, सिकाइमा स्थानीय स्रोत साधनेको उपयोग र नवप्रवर्तनमा आधारित कार्यक्रमका लागि निष्क्रिय शैलीले नतिजा नदिने धारणा राख्नुभयो ।
समानान्तर सत्रहरुमा प्रारम्भिक बाल स्याहार र विकास तथा प्रारम्भिक बाल शिक्षा (अर्ली चाइल्डहुड एजुकेसन एण्ड डिभलपमेन्ट)का नीति र अभ्यास, भर्चुअल शिक्षण सिकाइ : डिजिटल अभियान, शिक्षकहरुको वृत्ति विकासको निरन्तरताका लागि टिचर कलेज कार्यक्रमलगायत विषयमा सामुहिक धारणा निर्माण र छलफल भएका थिए । विश्वभर प्रयोग गरिएका नोवल इञ्जिनियरिङ्, रुपान्तरण र त्यसको ग्रहण, शैक्षिक पूर्वाधार निर्माणका उपयुक्त विधि, नेपालमा शिक्षा ऐनका आयाम र प्रभाव, बदलिँदो विदेशी सहायता र यसका आयाम, आउँदा पुस्ताका लागि शिक्षा चाहिने शिक्षा, साक्षरताको अभ्यास लगायत विषय सम्मेलनमा समेटिएका छन् । प्रारम्भिक शिक्षामा लगानी र संरचनाको उपयोग, विश्व अभ्यासका सिकाइ र स्थानीयकरणको सान्दर्भिकता, हरित र स्मार्ट विद्यालय, बाल केन्द्रीत वातावरण सम्मेलनका छलफलका लागि राखिएका मुख्य विषय हुन् ।
सिकाइलाई विद्यार्थीहरुले बोझ महसुस गर्नु हुँदैन । विद्यार्थी, अभिभावक र देशले आवश्यकता महसुस गरेका जनशक्ति उत्पादनमा शिक्षा केन्द्रीत हुनुपर्छ । सिकाइलाई पाठ्यक्रमको घेरामा सीमित बनाउनु हुँदैन । आउँदा पुस्ताका आवश्यकतालाई पूरा गर्ने शैक्षिक नीति र कार्यक्रम आजबाटै कार्यान्वयनमा ल्याउन थाल्नु पर्छ । सम्मेलनले सुझाव दिएको छ ।
सम्मेलनमा भुटान, भारत, वङ्गालादेश, श्रीलंका, अमेरिका, क्यानाडासहित विभिन्न देशका शिक्षा क्षेत्रका विज्ञ तथा शैक्षिक रुपान्तरणमा काम गर्ने अधिकारीहरुले आफ्नो सन्दर्भमा नवप्रवर्तनको अभ्यासका विषयमा अनुभव, अभ्यास र सिकाइ प्रस्तुतिकरण गर्नुभएको छ । उहाँहरुले काठमाडौँ महानगरपालिकाले सञ्चालन गरेको पुस्तकरहित शुक्रबार (बुक फ्री फ्राइडे) कार्यक्रमका बारेमा प्रशंशा गर्दै आफ्नो परिवेशमा सञ्चालिन यस्तै प्रकृतिका कार्यक्रमका बारेमा जानकारी गराउनुभएको थियो । कार्यक्रम नतिजामूलक छ । यसलाई संस्थागत गर्दै मूल्याङ्कन प्रणाली विकास गर्नु पर्नेमा उहाँहरुको जोड थियो ।
सत्रहरुमा संघ सरकार, प्रदेश सरकार, स्थानीय सरकार, वहुक्षेत्रीय साझेदार, स्रोत शिक्षक, शिक्षा अधिकृत र विद्यालय निरीक्षक, प्रधानाध्यापक, शिक्षक, विद्यार्थी, अभिभावक र समुदायका प्रतिनिधिहरुको सहभागिता सुनिश्चित गरिएको छ ।
काठमाडौँ महानगरपालिकाले शैक्षिक सुधारका लागि ‘पूर्वाधार’, ‘शैक्षिक सामग्री’, ‘मानव पुँजी विकास’ र ‘सुशासन व्यवस्थापन तथा दिगोपना’मा लगानी बढाएको छ । ‘पुस्तकरहित शुक्रबार’ कार्यक्रमअन्तर्गत प्रारम्भिक बाल विकास कक्षादेखि कक्षा ३ सम्म एकीकृत सिकाइ, कक्षा ४ देखि ८ सम्म सिर्जनात्मक सिकाइ, कक्षा ९ र १० मा शिक्षामा सिप कार्यक्रम सञ्चालन भएका छन् । सिर्जनात्मक सिकाइका लागि २५ विधामा र शिक्षामा सिप कार्यक्रममा १० विषयका पाठ्यक्रम तर्जुमा गरेर कार्यान्वयनमा ल्याएको छ । शैक्षिक नतिजा सुधारका लागि फेस्टिभल क्याम्प, विन्टर क्याम्प, प्रविधिको पहुँच वृद्धि, पठन संस्कार, उपचारात्मक कक्षालगायत सहयोगले एसइइमा ७८ प्रतिशत नतिजा आएको छ । नोग्रेडेड परीक्षामा सहभागीमध्ये ५० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
स्वर्णिम योजना सुन्दर विद्यालयले वातावरणीय सुधार, स्वच्छता र सरसफाइका लागि काम भएको छ । स्वर्णिम योजना रचनात्मक विद्यालयले खेललाई शिक्षासँग जोडेर सञ्चालन गरिने कार्यक्रम विद्यार्थीको सर्वाङ्गीण विकासमा सहयोग पुगेको छ । कक्षा कोठाहरुमा स्मार्ट बोर्ड, ल्यापटपसहित सूचना प्रविधिका उपकरण प्रदान गरेर सूचना प्रविधिमा आधारित शिक्षण क्रियाकलाप सञ्चालन गर्ने गरिएको छ । शिक्षकहरुको क्षमता विकासका लागि टिचर्स कलेज कार्यक्रम, विषयगत तालिम सञ्चालन गरिएको छ ।
सम्मेलनको पूर्व अभ्यासका रुपमा महानगरपालिकाले गएको बैशाख महिनामा शैक्षिक गोलमेच छलफल आयोजना गरेको थियो । गोलमेच छलफल दोस्रो चरणको कार्यक्रम हो । त्यसअघि काठमाडौँ एजुकेसन फेस्ट आयोजना गरेको थियो ।
यसरी चरणगत रुपमा आयोजना गरिएका कार्यक्रमबाट विद्यार्थी, अभिभावक, शिक्षक, प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति, जनप्रतिनिधि, तहगत सरकारका अधिकारी, राष्ट्रिय अन्तरराष्ट्रिय संघसंस्थाबाट नवप्रवर्तनका लागि दृष्टिकोण, सुझाव, अनुकुलता र प्रतिकुलता सम्बन्धी पृष्ठपोषण प्राप्त गरेको छ । यसरी प्राप्त सुझावको निचोडका आधारमा आगामी शैक्षिक नीति, योजना तथा कार्यक्रम तर्जुमा गर्ने योजना रहेको शिक्षा अधिकृत केशव ज्ञवालीले जानकारी दिनुभयो ।









निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App