Logo

पहिलो चरणमा महानगरका २४ देखि ३२ वडामा राष्ट्रिय परिचय पत्रको विवरण संकलन हुने  

पहिलो चरणमा महानगरका २४ देखि ३२ वडामा राष्ट्रिय परिचय पत्रको विवरण संकलन हुने  

काठमाडौँ । काठमाडौँ महानगरका वडाबाट राष्ट्रिय परिचय पत्र विवरण संकलन गर्ने क्रमको थालनीमा ९ वटा वडामा काम हुने भएको छ । यी वडाहरु २४ देखि ३२ सम्म क्रमशः हुन् । यसको व्यवस्थापकीय तयारीका लागि आज प्रशासन विभागले वडा सचिवहरुसँग तयारी बैठक गरेको छ ।  

अहिलेसम्म राष्ट्रिय सभा गृहबाट विवरण संकलन हुने गरेको थियो ।  

नागरिकको पहिचानलाई डिजिटल पहिचान गर्ने, व्यक्तिगत र जैविक पहिचानलाई एकीकृत गर्ने राष्ट्रिय परिचय पत्र बनाउनुको अवधारणा हो । राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण ऐन २०७६, कार्यविधि २०७७ परिचय पत्रका कानुनी आधार हुन् । यसमा जनसांख्यिक र जैविक विवरण समावेश हुन्छ । जनसांख्यिक विवरणमा नाम थर, जन्म मिति, लिङ्ग, राष्ट्रियता, स्थायी अस्थायी ठेगाना, बुबा आमा, पति पत्नी, बाजे बज्यैको नाम थर, नागरिकता सम्बन्धी सूचना पर्छन् । यसैगरी जैविक विवरणमा दश औलाको छाप, आँखाको रङ्ग, अनुहारको फोटोलगायत विवरण पर्छन् । यसप्रकारका विवरणबाट नागरिकको वास्तविक पहिचान प्रमाणीकरण हुन्छ । सार्वजनिक सेवा प्रवाह, शान्ति सुरक्षा, सामाजिक सुरक्षा, कर प्रणाली, राहदानी जस्ता सेवा यससँग आवद्ध हुने भएकोले सेवा वितरण र व्यवस्थापनमा सहज हुन्छ । हरेक व्यक्तिलाई १० अङ्कको छुट्टाछुट्टै परिचय पत्र दिइन्छ ।      

विवरण दिन जाँदा नेपाली नागरिकताको प्रमाणपत्रको सक्कल प्रति, नागरिकताको प्रमाण पत्रमा जन्म मिति नखुलेको भए शैक्षिक योग्यताका प्रमाण पत्र, राहदानी वा यस्तै खालका मिति खुल्ने आधिकारिक प्रमाण चाहिन्छ । नागरिकताको प्रमाणपत्रमा उल्लेखित भन्दा फरक स्थायी ठेगाना भएमा बसाइँ सराइ दर्ताको प्रमाणपत्र सक्कल प्रति लैजानुपर्छ । राज्य पुनःसंरचनाका कारण ठेगाना परिवर्तन भएको हकमा त्यस्तो कागजात आवश्यक पर्दैन । 

विवाहितको हकमा नागरिकताको प्रमाणपत्रमा पति वा पत्नीको नाम उल्लेख नभएमा वा फरक परेमा विवाह दर्ताको प्रमाण पत्रको सक्कल प्रति आवश्यक पर्छ । 

 

  • प्रकाशित मिति: बुधबार ११ माघ २०७९ १५:४०