स्वस्थ्य सहर निर्माणका लागि काठमाडौँ महानगरसँग नीति, कार्यक्रम र बजेटको व्यवस्था छ — उपप्रमुख डंगोल

काठमाडौँ । काठमाडौँलाई स्वस्थ्य सहरका रुपमा रुपान्तरण गर्न काठमाडौँ महानगरले उपयुक्त नीतिगत प्रबन्ध, यसलाई कार्यान्वयन गर्ने कार्यक्रम र बजेट तर्जुमा गरेको महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले बताउनुभएको छ । महानगरपालिकाको सहयोगमा राष्ट्रिय युवा गैर सरकारी संस्था महासंघले आयोजना गरेको ‘स्वस्थ्य सहरका लागि साझेदारी’ विषयक कार्यशालामा उहाँले यस्तो धारणा राख्नुभएको हो । कार्यक्रमलाई प्राथमिकताभित्रको पनि प्राथमिक बनाउन महानगरको ‘गौरवका योजना’,  ‘स्वर्णिम योजना’ मा समावेश गरिएको उहाँको भनाइ थियो । 

‘परियोजनाबाट तथ्य प्राप्त हुनेछन् । ती तथ्य काठमाडौँ महानगरपालिकालाई प्रमाणका आधारमा निर्णय गर्ने प्रक्रियाका लागि काम लाग्ने हुनेछन् ।’ डंगोलले भन्नुभयो, ‘तथ्याङ्क प्राप्त भइसकेपछि उपयोगमा ल्याउनु पर्छ । हामी यसको दायित्व लिन्छौँ ।’

गोष्ठीमा प्रवक्ता नविन मानन्धरले, काठमाडौँलाई पर्यावरणमैत्री सहरका रुपमा विकास गर्ने महानगरको नीति र यससँग सम्बन्धित कार्यक्रमको कार्यान्वयनमा सहभागिताका लागि आव्हान गर्नुभयो ।  

प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले, अन्तरहृदयबाट चाहना गरिएको कार्यक्रमको चाँडै नतिजा आउने बताउँदै वायु प्रदुषण नियन्त्रणका कामबाट पनि छिट्टै महसुस गर्न सकिने परिणाम देखिने अपेक्षा गर्नुभयो । महानगरका स्वास्थ्य सल्लाहकार डा. जगदीश अग्रवालले, वायु प्रदुषण नियन्त्रण भएपछि यसको लाभ स्वास्थ्य, वातावरण, आर्थिक र सामाजिक क्षेत्रमा समान रुपमा वितरण हुने धारणा राख्नुभयो ।    

महानगरपालिका क्षेत्रभित्र सञ्चालन गरिने परियोजनाको मुख्य उद्देश्य वायु गुणस्तर मापन सञ्जालका विद्यमान अन्तर पत्तला लगाउने, वायु गुणस्तर अनुगमनलाई व्यवस्थित र सबल बनाउने हो । यसका लागि बिभिन्न स्थानहरुमा प्रदुषण मापन यन्त्र जडान हुनेछन् । तथ्याङ्क सङ्कलन र रिपोर्टिङको विद्यमान प्रणालीलाई स्तरोन्नति गरिनेछ । तथ्याङ्कमा आधारित भएर स्थानीय समुदायमा असर र सुधारका विषयमा सूचना प्रवाह गरिनेछ । 

प्रदुषण मापन यन्त्रहरुबाट प्राप्त एकीकृत सूचना, समस्या समाधानका लागि ठोस कार्ययोजना निर्माणको आधार बन्न सक्छ । कार्यशालामा विज्ञहरुबाट सुझाव प्राप्त भएको छ । 

वहुपक्षीय यस क्षेत्रको सुधारका लागि सम्बद्ध संघसंस्था तथा निकायहरुको सहभागिता आवश्यकता रहन्छ । यसलाई संयोजन व्यवस्थापन गर्ने काममा गैरसरकारी क्षेत्रको सक्रिय सहयोग रहनेछ । कार्यक्रममा राष्ट्रिय युवा गैर सरकारी संस्था महासंघका केन्द्रीय अध्यक्ष शशी शर्मा मजगैँयाको भनाइ थियो । 

कार्यशालामा बन तथा वातावरण मन्त्रालय, विश्वविद्यालयका प्राध्यापकहरु, महानगर क्षेत्रभित्र वायु गुणस्तर मापन एवं वायु गुणस्तर सुधारमा कार्यरत गैरसरकारी तथा सामाजिक संघ संस्थाका प्रतिनिधिसहित वातावरण क्षेत्रका विज्ञहरुले भाग लिनुभएको थियो । 

स्वस्थ्य सहर परियोजना गैर संक्रामक रोग र चोटपटक रोकथाम गरेर जीवन बचाउन प्रतिबद्ध ७० वटा सहरहरूको विश्वव्यापी सञ्जाल हो । बिश्व स्वस्थ्य संगठन र विश्वव्यापी स्वास्थ्य संगठनको महत्वपूर्ण रणनीतिसँगको साझेदारी र ब्लुमवर्ग फिलान्थ्रोपिजको सहयोग परियोजना सञ्चालन हुन्छ । 

महानगरपालिकाले वायु गुणस्तर अनुगमन प्रणालीको आवश्यकतालाई स्वीकार गर्दै कार्यक्रम सञ्चालन गर्न राष्ट्रिय युवा गैर सरकारी संस्था महासंघसँग सहकार्य थालनी गरेको छ । वातावरण विभागका प्रमुख रविनमान श्रेष्ठकाअनुसार वायु गुणस्तर सुधार गर्न आवश्यक कदम चाल्न, स्वस्थ्य सहरहरूका लागि साझेदारी थालिएको हो । यसका उद्देश्य प्राप्त गर्न स्रोत साधनहरूलाई आपसी रूपमा परिचालन गरिनेछ । आयोजनाका गतिविधिहरूको स्वामित्व र निरन्तरता महानगरपालिकाको नेतृत्वमा रहनेछ । 

 

 

 

सम्बन्धित समाचार

Facebook Comments