वडा नं. २१ मा फायर फाइटिङ् पाइप लाइन (ड्राइ राइजर) को सफल परीक्षण 

पुस २०, काठमाडौँ । 

काठमाडौँ महानगरपालिका वडा नंं २१ मा फायर फाइटिङ्ग पाइप लाइन (ड्राइ राइजर) को सफल परीक्षण भएको छ । ह्युमत करुणामय मार्गदेखि दलाछी गणेश स्थानसम्म दमकल छिर्न नसक्ने गल्लीमा वडाले जडान गरेको १३० मिटर लामो फायर फाइटिङ्ग पाइप लाइनमा वारुण यन्त्र कार्यालयका अग्नि नियन्त्रकहरुले परीक्षण गरेका हुन् । परीक्षणका क्रममा एक ठाउँमा पानी चुहिएको थियो । त्यस ठाउँमा परीक्षणकै क्रममा सुधार गरिउको थियो । 

प्रणाली जडानको लागत करिब ८ लाख रुपैयाँ रहेको वडा कार्यालयले जनाएको छ । 

परीक्षण सफल भयो । यसबाट थप सुरक्षा महसुस गर्ने वातावरण बनेको छ । परीक्षणपछिको प्रतिक्रियामा वडाध्यक्ष उदयचुडामणि बज्राचार्यले भन्नुभयो, ‘आउँदो बर्ष अरु गल्लीहरुमा पनि प्रणाली जडान गर्नेछौँ ।’

अग्नि नियन्त्रक नरेशराज कुँवरका अनुसार १३० मिटर लामो पाइप लाइनको दुवैतिर इनलेट राखिएको छ । दुवै इनलेटबाट दमकलको पानी जोड्न सकिन्छ । लाइनको बिचमा ४ वटा आउटलेट छन् । आगलागीको स्थानमा नजिक पर्ने कुनै पनि आउटलेटबाट पाइप जोडेर आगो नियन्त्रण गर्न सकिन्छ ।‘ कुँवर भन्नुहुन्छ, ‘८ बारको प्रेसरमा पानी पठाउँदा ७ तले अग्लो भवनमा आगो निभाउन सकिने प्रेसरमा पानी पुगेको थियो ।’ 

दमकल जान नसक्ने साँघुरा सडक तथा गल्लीमा आगलागीका समयमा आगो निभाउन प्रयोग गर्न सकिने गरी राखिएको पाइप लाइन ड्राइ राइजर हो । यसको दुवैतर्फ दमकल पुग्ने ठाउँमा इनलेट भल्व राखिएको हुन्छ । यसपछिका विभिन्न विन्दु (४५ मिटरदेखि ७५ मिटरको दुरी) मा आउटलेट राखिएको हुन्छ । दमकलको पानी इनलेटमा राखेपछि आवश्यकताका आधारमा पाइपलाइनका बिचमा जुनसुकै आउटलेट खोले पनि पानी प्राप्त हुन्छ । यसमा डेलिभरी होर्ज जोडेर आगो नियन्त्रण गरिन्छ । 

 

सम्बन्धित समाचार

Facebook Comments