सहिद स्मारक पार्कमा ज्ञात अज्ञात सहिदहरुको स्मृति सभा 

काठमाडौँ । सहिद सप्ताहको अन्तिम दिन आज काठमाडौँको लैनचौरस्थित सहिद पार्कमा ज्ञात अज्ञात सहिदहरुको सम्झनामा स्मृति सभा गरिएको छ । त्यस क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहिद स्तम्भमा पुष्पहार अर्पण गर्नुभएको थियो । त्यसबेला नेपाली सेनाको टुकडीले सलामी चढाएको थियो । 

स्मृति सभा सुरु हुनु अघि शान्ति बाटिकाबाट सुरु भएको प्रभातफेरी जमल, कान्तिपथ, केशरमहलहुँदै लैनचौर पुगेको थियो । उच्च पदस्थ अधिकारी, सुरक्षा निकाय, नेपाल स्काउट र सर्वसाधारण प्रभातफेरीमा सहभागी हुनुभएको थियो ।  

सभामा प्रधानमन्त्री ‘प्रचण्ड’ले, दिवसलाई सहिदले देखेको सपना र गर्नुभएको अठोटलाई शिरोधार्य गर्ने दिनका रुपमा लिनुपर्ने बताउनुभयो । ‘नेपाली समाजको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक रुपान्तरण र समावेशी लोकतन्त्र स्थापनाका निम्ति सहिदहरुले बलिदानी गर्नुभएको छ । राष्ट्रियता, जनतन्त्र र जनजीविकाको पक्षमा संघर्ष गर्ने क्रममा बलिदान गर्ने सहिदहरु विगत, वर्तमान र भविष्यका निम्ति सबैका लागि प्रेरणाका स्रोत र पथप्रदर्शक रहिरहनुहुनेछ ।’ प्रधानमन्त्री प्रचण्डको भनाइ थियो । 

‘हुुकुमी शासनको अन्त्य, जनताको स्वतन्त्रता र स्वाधीनताका लागि सहिदहरुले व्यक्तिगत सुख, सुविधा त्यागेर प्राण आहुती गर्नुभयो । त्यही बलिदानीको जगमा टेकेर आज हामी सबै जनाले शासन, स्वतन्त्रता र स्वाधीनताको उपयोग गरिरहेका छौँ ।’ सभामा महानगरपालिकाकी उपप्रमुख सुनिता डगोलले भन्नुभयो, ‘नागरिकलाई समृद्ध बनाउने मुल आधार आर्थिक विकास र रोजगारीको अवसर हो । यसलाई सार्थक बनाउन महानगरपालिकाले आफ्नो क्षेत्र र अधिकारभित्र रहेर काम गरिरहेको छ । नागरिकको आर्थिक, सामाजिक, सांस्कृतिक उत्थान, स्वास्थ्य, शिक्षामा पहुँच तथा समावेशी एवं पहुँचयुक्त विकासमा हामी प्रतिवद्ध छौँ । यसबाट महानगरबासीको मुहारमा खुसी र सुखका अनुभुति ल्याउने प्रयास गरिरहेका छौँ ।’  

स्मृति सभामा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्र मन्त्री एन. पी. साउद, सुरक्षा निकायका प्रमुख, महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार, कार्यपालिका सदस्य, वडाध्यक्ष, वडा सदस्य, नेपाल स्काउटका विद्यार्थीहरुसहित सर्वसाधारण सहभागी हुनुहुन्थ्यो । 

माफी मागेर शाशकसामु झुक्नुभन्दा प्रजातन्त्रकालागि ज्यान सजाय स्वीकार गर्ने चार र अन्य ज्ञात अज्ञात सहिदहरुको सम्झनामा हरेक बर्ष माघ १० गतेदेखि १६ गतेसम्मलाई सहिद सप्ताहका रुपमा मनाइदै आएको छ । वि. सं. २०१२ सालदेखि विद्यमान महानगरको संयोजकत्व गठित समितिले सहिद सप्ताहका कार्यक्रम आयोजना गर्दै आएको छ । यस बर्ष माघ १० अर्थात पहिलो दिन शुक्रराज शास्त्रीले सहादत प्राप्त गर्नुभएको स्थान, टेकु मचलीमा, दोस्रो दिन १३ गते धर्मभक्त माथेमालाई मृत्युदण्ड दिइएको स्थान सिफल उकालोमा र १५ गते विष्णुमती नदी किनारा शोभा भगवतीमा गंगालाल श्रेष्ठ र दशरथ चन्दले सहादत प्राप्त गर्नुभएको स्थान रहेका सहिदहरुका सालिकमा पुष्पगुच्छा अर्पण तथा स्मृति सभा गरिएको थियो । ४ सहिदका सालिकमध्ये महानगरपालिकाले २०७५ सालमा शास्त्रीको र २०७६ सालमा माथेमा, श्रेष्ठ र चन्दको पूर्ण कदको सालिक स्थापना गरेको हो । 

प्राणदण्ड हुनसक्छ भन्ने जान्दाजान्दै नागरिक स्वतन्त्रताका पक्षमा निर्भीक भएर आवाज उठाउने शास्त्री, माथेमा, श्रेष्ठ र चन्दले १९९७ सालमा मृत्युदण्ड पाएपछि उहाँहरुको सपना स्मरण गर्दै सहिद दिवस मनाउने गरिन्छ । राणा शाशनको विरोध गर्दै जनतालाई प्रजातन्त्रको पक्षमा एकजुट एवं शिक्षित गरेको आरोपमा वि. सं. १९९७ साल माघ १० गतेदेखि १५ गतेविच ४ जना सहिदलाई प्राण दण्ड दिइएको थियो । 

त्यो बर्षको माघ ७ गते सिंहदरबारमा राजा त्रिभुवन र प्रधानमन्त्री जुद्धशमसेरसहितको इजलासले शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ, दशरथ चन्द र पूर्णनारायण प्रधान गरी ५ जनालाई सर्वस्वसहित ज्यान सजायको फैसला सुनाइएको थियो । पछि पूर्णनारायणको सजायलाई आजन्म कैदमा परिवर्तन गरियो । जेल सजाय भोगिरहेकै बेला उहाँहरुलाई प्राणदण्ड दिइएको थियो । 

नागरिकका मौलिक र मानव अधिकार प्राप्तिका लागि त्यसपछि समय समयमा आन्दोलन भएका छन् । ती आन्दोलनमा धेरै व्यक्तिहरु सहिद भएका छन् । राष्ट्रको स्वाधीनताका लागि ज्यान अर्पण गरेका सहिदहरुको सम्मान १ दिनको कार्यक्रमले पूरा हुँदैन । नागरिक अधिकार सम्पन्न व्यवस्थाका लागि दैनिक आचरण परिवर्तनको खाँचो छ । सहिद दिवसका दिनमा यही संकल्प गर्ने गरिएको छ । 

माथेमा पार्कमा स्मृति सभा
आज नै वडा नैे २३ ले माथेमा पार्कमा स्मृति सभा आयोजना गरेको छ । कार्यक्रममा महानगरपालिकाकी उपप्रमुख डंगोल, वडाध्यक्ष एवं विधायन समितिका संयोजक मचाराजा महर्जन, वडा सदस्यसहित स्थानीयहरुले सालिकमा पुष्पगुच्छा अर्पण गर्नुभएको थियो । 

कार्यक्रम सहिद धर्मभक्त माथेमा स्मृति गुठीले कार्यक्रम आयोजना गरेको थियो । त्यस अवसरमा अँध्यारो कालखण्डलाई उज्यालो अवस्थामा लैजानका लागि सहिदहरुले गर्नुभएका संघर्षका विषयमा चर्चा गरिएको थियो ।  

 

सम्बन्धित समाचार

Facebook Comments