वडा नं. २४ को भवन निर्माण सुरु : आज जग पूजा सम्पन्न
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको वडा नं. २४ कार्यालय भवन निर्माण सुरु भएको छ । जग पूजा गरेर आजदेखि निर्माण कार्य थालिएको हो । जग पूजा गर्दै वडाध्यक्ष बिनोद राजभण्डारीले, ३ करोड ३२ लाख रुपैयाँ लागतमा भवन निर्माण हुन लागेको हो ।
भवन साढे ३ तलाको हुनेछ । यसको जमिन तलामा बैङ्क र दर्ता चलानी राखिनेछ । पहिलो तलामा प्रशासनिक कक्ष र दोस्रो तलामा जनप्रतिनिधिको कार्यकक्ष हुनेछ । माथिल्लो तलामा सभा कक्ष हुनेछ ।
भवनको डिजाइनका बारेमा जानकारी दिँदै वडाध्यक्ष राजभण्डारीले भन्नुभयो, ‘भवनको अग्रभाग पश्चिमतर्फ हुनेछ । यो सडकतर्फको भाग हो । यहाँबाट प्रवेश गर्दा जोखिम हुने भएको प्रवेश गर्ने ठाउँ उत्तरतर्फ हुनेछ । भवनमा स झ्याः, म्हेखा झ्याः (मयुर झ्याल) राखिनेछन् । भवनका भित्री भागमा पर्खाल बनाउने योजना छैन । कोसँग के काम लुकाउनु छ र, बार बार्नु?’ राजभण्डारीले भन्नुभयो, ‘पछि हाफा पार्टेसन गरेर कक्ष छुट्टै तर सबैले सबैलाई हेर्न मिल्ने बनाइनेछ ।’
भवन २०८१ पुस मसान्तभित्र निर्माण सम्पन्न हुनेछ । निर्माणको काम भुवनेश्वरी रेड अर्थ जेभीले गर्नेछ ।