सत्तलमा सुकुल ओछ्याएर, 'स्वयमसेवक तालिम' सुरु

काठमाडौँ । काठमाडौँको टेकु, पचली भैरवसँगैको तीन देवल (बमबिकटेश्वर मन्दिर परिसर) मा आजदेखि नगर स्वयमसेवकको तालिम सुरु भएको छ । महानगरपालिकाको सम्पदा तथा पर्यटन विभागले सांस्कृतिक तथा पुरातत्व अध्ययन केन्द्र (कार्क) सँगको सहकार्यमा स्वयमसेवक कार्यक्रम अगाडि बढाएको हो । सम्पदा क्षेत्रको मौलिक उपयोगको व्यवहारिक अनुभूति प्रदान गर्दै त्यस्ता संरचनाको महत्व, यस्ता संरचनासँग समाज निर्माण तथा व्यवस्थापनको वास्तविक अवस्था महसुस गराउन सत्तललाई तालिम स्थलका रुपमा छानिएको हो ।  

महानगरपालिकाले सम्युवा (सम्पदामा युवा र वालबालिका) र वाबा (वातावरण र बालबालिका) सञ्चालन गर्दैछ । यस कार्यक्रमका लागि गएको महिना सार्वजनिक सूचनामार्फत आवेदन माग गरिएको थियो । 

आवेदकले आफू स्वयमसेवक बन्नु पर्ने कारण के हो, भन्ने विषयमा धारणा लेखेर गुगल लिङ्कमार्फत पठाउनुभएको थियो । फागुन २० गते राती ११ बजेर ५९ मिनेट प्राप्त आवेदनमा प्राप्त धारणा र व्यक्तिगत विवरण (वायोडाटा) मूल्याङ्कन गरेर सर्ट लिष्ट तयार पारिएको थियो । यसपछि अन्तर्वार्ता लिँदा समय दिन सक्ने अवस्थामा जानकारी लिएर यसैलाई छनोटको मुख्य आधार बनाइएको थियो । 

कार्यक्रममा सहभागी हुन ४३७ जनाबाट आवेदन प्राप्त भएको थियो । यसको सर्टलिष्टमा २४७ जना छानिनुभयो । उहाँहरुमध्ये अन्तरर्वार्तामा १६५ जना उपस्थित हुनुभएको थियो । उहाँहरुसँग लिइएको अन्तरर्वार्ताबाट ४५ जना सम्युवा कार्यक्रमका लागि र १ सय जना वाबा कार्यक्रमका लागि छानिनुभएको छ । यस्तै दुवै समूहमा रहेर काम गर्न इच्छा राख्ने र समय दिन सक्ने ५ जनालाई दुवै समूहमा रहेर काम गर्नका लागि छनोट गरिएको, विभागका निमित्त प्रमुख कुमारी राईले जानकारी दिनुभएको छ । 

‘तालिमपछि स्वयमसेवकहरुलाई जात्रा पर्व सञ्चालनका समयमा खटाइनेछ । मूर्त अमूर्त सांस्कृतिक सम्पदाको अध्ययन गर्न लगाइनेछ । यस्तै समुदाय र विद्यालयमा गएर सम्पदाका अन्तर बस्तुका विषय, यसले मौलिकता र सामाजिक व्यवस्थापनमा राख्ने सम्बन्धका विषयमा प्रवर्धनात्मक कार्यक्रम सञ्चालन गर्न लगाइनेछ ।’ राईको भनाइ छ ।   

‘स्वयमसेवकहरुको परिचालनबाट सम्पदाको अवस्थाका विषयमा जानकारी प्राप्त हुनेछ । यी सूचनाबाट सम्पदाको संरक्षण र प्रवर्धनको योजना निर्माणमा सघाउ पुग्नेछ ।’ वडा नं. १२ का सदस्य पुष्प प्रजापतीले धारणा राख्नुभयो । 

आज सुरु भएको तालिम सम्युवा समूहको हो । दोस्रो दिन (भोलि) नरदेवीमा तालिम हुनेछ । ४ दिनको तालिममध्ये तेस्रो दिनको तालिम आउँदो हप्ताको शुक्रबाट पशुपति क्षेत्र र चौथो दिनको तालिम त्यसै हप्ताको शनिवार हाँडीगाउँमा हुने, केन्द्रका अध्यक्ष सुदर्शन अर्यालले जानकारी दिनुभयो । 

यो २४ हप्ताका लागि हो । स्वयमसेवकले हप्तामा २ दिन समय दिनुपर्छ । 

वाबा कार्यक्रम विद्यालय र वातावरणसँग केन्द्रीत छ । सम्युवा कार्यक्रम समुदायसँग बढी सम्बन्धित छ । निर्धारित समयको ६० प्रतिशत समय दिन सक्ने स्वयमसेवकलाई प्रमाण पत्र दिइनेछ । 

तालिममा स्वयमसेवक र सम्पदा सम्बन्धी चिनारी, स्वयमसेवकको जिम्मेवारी, नेतृत्व विकास, समूहगत कार्यको विकास, आफू उत्प्रेरित हुने र अरुलाई उत्प्रेरित गराउन सक्ने विषयमा ज्ञान, सिप र क्षमताको विकास गरिने पर्यटन महाशाखा प्रमुख श्रृजु प्रधानको भनाइ छ ।  

यो वातावरण, शिक्षा, सम्पदा, सांस्कृतिक, पुरातात्विक र ऐतिहासिक मूर्त अमूर्त सम्पदा, वातावरणीय अवस्था (प्राकृतिक सम्पदा) र यससँग आर्थिक, सामाजिक तथा सांस्कृतिक सम्बन्ध बुझ्ने अवसर हो । 

‘महानगरपालिकाले वि. सं. २०६७ सालमा ४० जना स्वयमसेवकमार्फत सम्युवा कार्यक्रम सञ्चालन थालेको हो । २०७२ सालको भूकम्पको अवधिमा करिब १ सय जना स्वयमसेवकहरु सक्रिय रुपमा काम गरिरहेका थिए । भूकम्पले पु¥याएको क्षति व्यवस्थापनमा उनीहरु सक्रिय थिए । प्रतिकुल अवस्थामा स्वयमसेवकको व्यवस्थापनमा महानगरपालिकालाई कठिन भएपछि यो कार्यक्रम विस्तारै निष्क्रिय हुँदै गएको थियो ।’ पहिलो व्याचका स्वयमसेवक निरोज महर्जनले अनुभव सुनाउँदै भन्नुभयो, ‘यो कार्यक्रमबाट आफूजस्तै जोसिला स्वयमसेवक उत्पादन गर्दै सामाजिक कामका लागि ठूलो सञ्जाल बनाउने लक्ष्य राख्नुपर्छ ।’

 

सम्बन्धित समाचार

Facebook Comments