Logo

जनस्वास्थ्यको सवालमा महानगरले कुनै कुरामा सम्झौता गर्दैन — प्रमुख शाह 

जनस्वास्थ्यको सवालमा महानगरले कुनै कुरामा सम्झौता गर्दैन — प्रमुख शाह 

 

असार १२

काठमाडौँ । जनस्वास्थ्यको सवालमा महानगरले कुनै पनि कुरामा सम्झौता नगर्ने काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) को भनाइ छ । काठमाडौँमा हैजाको प्रकोप फैलिन नदिन नागरिकलाई पानी उमालेर मात्र प्रयोग गर्न अपिल गर्दै उहाँले आज यस्तो बताउनुभएको हो । ‘जुनसुकै स्रोतको भए पनि पानी उमालेर मात्र पिउनुहोला । स्वास्थ्यमा कुनै गडबडी देखिए स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहोला । महानगरले आफ्नोतर्फबाट गर्नु पर्ने कामहरु अगाडि बढाइरहेको छ ।’ उहाँको अपिलमा उल्लेख छ । 

अहिले वडा २८ को बागबजार र २९ को डिल्लीबजार क्षेत्रमा हैजाका जीवाणु देखिएको छ । जनस्वास्थ्य विभागका प्रमुख बलराम त्रिपाठीकाअनुसार, काठमाडौँ महानगरका २ जना गरी उपत्यकाका १२ जना विरामी अस्पतालमा हैजाको उपचार गराइरहेका छन् ।

हैजाका जीवाणु देखिएका ठाउँहरुबाट महानगरले पानीको नमूना लिएर परीक्षण गर्ने, पानीको स्रोत र ढल निकासको अवस्था निरीक्षण तथा सुधार गर्ने, सचेतनाका लागि घरदैलो कार्यक्रम गर्ने कार्यक्रम गरिरहेको छ । 

  • प्रकाशित मिति: आइतबार​ १२ असर २०७९ २०:०३