Logo

ताजा अपडेट

METRO FM

सकियो ‘सिप मेला २०८१’ : प्रशिक्षार्थीलाई एक हप्ताभित्र प्रमाण पत्रसँगै परामर्श दिइने

सकियो ‘सिप मेला २०८१’ : प्रशिक्षार्थीलाई एक हप्ताभित्र प्रमाण पत्रसँगै परामर्श दिइने

काठमाडौँ । विश्व श्रमिक दिवस २०८१ (वैशाख १९) को अवसर पारेर काठमाडौँ महानगरपालिकाले टुँडिखेलमा सुरु गरेको ‘सिप मेला २०८१’ आज सकिएको छ । २०८१ सालको शुभारम्भसँगै २०८१ जनालाई सिपमूलक तालिम दिएर ‘स्वरोजगार’, ‘रोजगार’ र ‘अन द जब टे«निङ्’ उपलब्ध गराउने लक्ष्य राखेर तालिम सुरु गरिएको थियो । मेलामा १० वटा विधाका ३० वटा पेशासँग सम्बन्धित तालिम कक्षा सञ्चालन भए । यसमध्ये स्क्रिन प्रिन्टिङ् विधामा आवेदकको संख्या न्यून भएकोले तालिम सञ्चालन गरिएन । ग्राफिक्स डिजाइनिङ्का लागि हाइ कन्फिगरेसनका कम्प्युटर आवश्यक पर्ने भएकोले यसलाई कम्प्युटर ल्याबमा प्रशिक्षण सञ्चालन गर्ने गरी टुँडिखेलमा तालिम गराइएन । यस्तै केही पेशाहरु मिश्रित कक्षा चलाएर अवधि बढाइयो । जेष्ठ २० गते तालिम कक्षा समापन हुने समयमा ९ वटा विधाका २७ पेशासँग सम्बन्धित तालिम थिए । १५ दिन र ३० दिन अवधिका तालिमबाट २ हजार ७१५ जना प्रशिक्षार्थीले तालिम लिनुभएको छ ।  

तालिम समापन गर्दै महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले भन्नुभयो, ‘प्रशिक्षण कार्यक्रम सम्पन्न भयो । यो सफलताले सिपयुक्त जनशक्तिका लागि बजारमा जोडिने अवसर प्राप्त भएको छ । मेलाबाट तालिम पाएका व्यक्तिलाई स्वरोजगार र रोजगारको गन्तव्यमा लैजाने अबको कामले हाम्रो प्रयासको वास्तविक नतिजा देखाउँछ ।’

‘अप्रमाणित दक्ष, प्रमाणित दक्ष, अप्रमाणित अर्धदक्ष तथा अदक्ष र प्रमाणित अर्धदक्ष तथा अदक्ष जनशक्तिको व्यावसायिक सिप परीक्षण, स्तर र योग्यताका लागि महानगरपालिकाले नियमित काम गर्नेछ ।’ उपप्रमुख डंगोलको भनाइ थियो । 

‘तपाईँहरु के चाहनुहुन्छ? आवश्यकता पठाउनोस् । हामी महानगरपालिकाको नीति तथा कार्यक्रममा समावेश गरेर कार्यक्रम निर्माण गर्छौँ ।’ सामाजिक समितिका संयोजक रामकुमार के. सी. ले भन्नुभयो, ‘सकारात्मक सोच निर्माण गरौँ । सम्भावना हामीभित्रै छ । आफैँभित्र भएका सम्भावनालाई जीविकोपार्जनमा रुपान्तरण गर्न हामी सहयोग गर्नेछौँ ।’

प्रशिक्षण समाप्त गर्ने प्रशिक्षार्थीहरुलाईलाई स्वरोजार र रोजगार क्षेत्रमा जोडिने परामर्शसहित आउँदो १ हप्ताभित्र प्रमाण पत्र प्रदान गर्ने कार्यक्रम रहेको सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाले जानकारी दिनुभयो । यस्तै सामाजिक विकास विभागकी प्रमुख बिमला कोइरालाले, महानगरपालिकाबाट समृद्धिको यात्रा सुरु भएको उल्लेख गर्नुभयो । 

सिपमेलाका लागि महानगरपालिकाले नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघ (एफपीटीइएन), उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ, नेपाल (हिसान), ललितकला प्रज्ञा प्रतिष्ठान, नेपाल उद्योग परिसंघ, सिप्रदी, ग्लोकल, सीसीटिभी स्टेशन एण्ड स्मार्ट होम, सीभी मिडिया स्कील्स र नेपाल इलेक्ट्रोनिक टेक्निसियन एण्ड रिसर्च सेन्टरसहितका संघसंस्थासँग साझेदारी गरेको थियो । कार्यक्रममा साझेदार संघसंस्थाकातर्फबाट बोल्दै एफपीटीइएनका अध्यक्ष अच्युत नेपालले भन्नुभयो, ‘लामो समय एउटै तालिमका लागि अल्झिनु पर्ने विगतको झन्झटिलो पाठ््यक्रममा सुधार गरेर महानगरपालिकाले छोटो र प्रयोगात्मक तालिमको ढाँचा स्थापित गरेको छ । यसको विकास, विस्तार र प्रवर्धन गर्न हामी नियमित सहकार्य गर्न तत्पर छौँ ।’

तालिम प्राप्त प्रशिक्षार्थीकातर्फ डिजिटल मार्केटिङ्गका प्रशिक्षार्थी अशोक न्यौपानेले भन्नुभयो, ‘निराश युवाहरुलाई महानगरपालिकाले आफैँभित्रको सम्भावना देखाउने कार्यक्रम आयोजना गरेको महसुस गरेका छौँ । अहिले प्रदान गरिएका तालिमलाई बढाउँदै लैजाने अवसर पाए धेरै युवाहरु सिपयुक्त जनशक्तिमा रुपान्तरित हुन सक्ने थिए ।’

कार्यक्रममा सिप नभएको शिक्षा अधुरो हुने भएकोले शिक्षा र सिपलाई सँगसँगै अगाडि लैजानु पर्ने कुरालाई समापन अवसरमा जोड दिएर उठाइएको थियो । 

सिप परीक्षण र सिपयुक्त जनशक्तिको व्यवस्थापन प्रयास 
तालिम सञ्चालनकै अवधिका महानगरपालिकाले निजी, उद्योग तथा वाणिज्य, शैक्षिक र सामाजिक क्षेत्र तथा दातृ निकायका प्रतिनिधिहरुसँग सिप मेलाबाट उत्पादन भएका सिपयुक्त जनशक्तिलाई रोजगारी दिने विषयमा अन्तरक्रिया भएको थियो । गौरव योजना ‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ कार्यक्रमका फोकल पर्सल शान्ता पहाडीकाअनुसार मानव स्रोतलाई उत्पादनमूलक बनाउन उसमा भएको व्यावसायिक सिपलाई वृत्ति विकास तथा योग्यता मापनको तहमा आवद्ध गराउने नीति तर्जुमा गर्न पृष्ठपोषण प्राप्त गर्न ‘नीति संवाद’ कार्यक्रम आयोजना गरिएको हो । ‘सिपमूलक, व्यावसायिक र रोजगारमूलक तालिममा, युवाहरुको सहभागिता, आत्मनिर्भर, दक्ष र उद्यमी जनशक्ति उत्पादनमा, महानगरपालिकाको प्राथमिकता’ नारा तय गरेर यसै विषयमा क्षेत्रगत अधिकारी र प्रशिक्षार्थीहरुबाट पृष्ठपोषण लिइएको थियो । 

‘सिप मेला’ बाट प्रशिक्षण पाएका जनशक्तिलाई रोजगारदातासँग भेट गराउन जेठ २४ र २५ गते ‘रोजगार मेला’ मेला आयोजना गरिएको थियो । २ दिनको कार्यक्रममा ७० भन्दा धेरै कम्पनी तथा संघसंस्थाका प्रतिनिधि आएर सिपयुक्त जनशक्तिसँग भेटेर कुरा गर्नुभएको थियो । 

रोजगार मेलाका आवेदक 
महानगर गौरव योजना ‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ कार्यक्रमअन्तर्गत तालिम लिनका लागि ६८ हजार ८६६ जनाको आवेदन दिनुभएको थियो । यसमध्ये ४३ हजार ५८ जनाले ‘सिप मेला’ बाट तालिम लिनका लागि आवेदन दिनुभएको थियो । कार्यक्रम शुभारम्भका दिन (वैशाख १९) टुँडिखेलमा आउनु भएका सहभागीहरूको ठुलो संख्याले प्रशिक्षणको अवसरका लागि माग गर्नुभएपछि त्यहीँबाट पनि फाराम भर्ने अवसर दिइएको थियो । त्यो एक दिनमा ४ हजार १८२ जनाले फाराम भर्नुभयो । त्यसदिनभन्दा अगाडि ७ हजार ३८२ जनाको आवेदन प्राप्त भइसकेको थियो । वैशाख २० गतेदेखि ३० गतेसम्म दिइएको फाराम भर्ने अवसरमा १४ हजार ३ सय जनाले फाराम भर्नुभयो । यस्तै अनलाइनबाट १३ हजार ९९४ जनाको आवेदन प्राप्त भएको थियो । 

यससँगै समय समयमा विभिन्न पेशा (जुत्ता बनाउने, डकर्मी, मालीलगायत) सँग सम्बन्धित तालिमका लागि गरिएको आव्हानका क्रममा ५ हजार ६८९ जनाले आवेदन दिनुभयो ।   

‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ कार्यक्रमअन्तर्गत ११ हजार २६४ जनाले आवेदन दिनुभयो । यसअघि आयोजना गरेको साइबर सेक्युरिटी तालिमका लागि आव्हानबाट ८ हजार ८८५ जनाले आवेदन दिनुभयो । जसमध्ये ६ हजार ६९४ जनाले साइबर सेक्युरिटीकै लागि आवेदन दिनुभएको थियो । बाँकीले अन्य विभिन्न विषयका आवेदन दिनुभएको थियो । 

विधा, पेशा र तालिम प्राप्त गर्ने प्रशिक्षार्थीको संख्या 

तालिम संयोजक देवेन्द्र के. सी. का अनुसार सबैभन्दा धेरै सूचना तथा सञ्चार प्रविधि क्षेत्रबाट ६३९ जनाले प्रशिक्षण प्राप्त गर्नुभएको छ । १५ दिन अवधिको यस तालिममा डिजिटल मार्केटिङ्, कम्प्युटर हार्डवेयर, सीसीटिभी र मोवाइल मर्मत पेशा थिए । यी ४ पेशासँग सम्बन्धित तालिममध्ये पनि डिजिटल मार्केटिङ्मा २१९ ले तालिम लिनुभएको छ ।  

व्युटिसियन विधामा ५८० जनाले तालिम लिनुभएको छ । यसमा नेलआर्ट, मेकअप, आइलेस, हेयर कट र सैलुन पेशाको तालिम भएको थियो । यसभित्र पनि सबैभन्दा धेरै नेल आर्टका १५१ जना प्रशिक्षार्थी हुनुहुन्छ । 

वेकरी, फास्टफुड, बारिस्ता, बार टेण्डिङ् र वेटर÷वेट्रेसमा ५३१ जना प्रशिक्षित हुनुभएको छ । १५ दिन अवधिको तालिमबाट २ समूहले तालिम पाएका छन् । 

टेलरिङ् र फेसन डिजाइनिङ् पेशा समेटिएको गार्मेन्ट विधाबाट ३५५ जनाले तालिम पाउनुभएको छ । १५ दिन अवधिका यी तालिमहरुमा टेलरिङ्मा धेरै सहभागीको माग भएपछि २ वटा कक्षा सञ्चालन गरिएका थिए । 

डकर्मी, टाइल एण्ड मार्वल फिटिङ्, इलेक्ट्रिसियन र प्लम्बिङ् पेशा समेटिएको निर्माण क्षेत्रको तालिमबाट १७९ जना प्रशिक्षित हुनुभएको छ । 

ज्योतिष र पुरोहित विधाबाट अन्तर्गत पुरोहितमा ५० जना र ज्योतिषमा ११० जना गरी १६० जना प्रशिक्षित हुनुभएको छ । अटोमोवाइल्सअन्तर्गत अटो इलेक्ट्रिकमा ५५ जना र इभी (विद्युतीय) मा ७६ जना गरी १३१ जनाले तालिम लिनुभएको छ ।  

के. सी. का अनुसार मेकानिकलअन्तर्गत वेल्डिङ्मा ६० जना र एसी रेफ्रिजेरेटरमा ५६ गरी ११६ जनाले तालिम पाउनुभएको छ । आर्टस एण्ड स्कप्चर विधामा २५ जनाले तालिम पाउनुभयो । 

सिप मेलाका अवलोकनकर्ता 
सिप मेला अवलोकन गर्न संघीय सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री, डोलप्रसाद अर्यालसहित विभिन्न मन्त्रालयका पदाधिकारी, व्यवस्थापिका संसद सदस्य, प्रदेश सभा सदस्य, धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमाल, जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख राजन पौडेलसहित स्थानीय सरकारका प्रमुख, उपप्रमुख तथा प्रतिनिधि, दातृ तथा साझेदार संस्थाका प्रतिनिधिहरु अवलोकनका लागि आउनु भयो । 

अन्तरराष्ट्रिय सम्बन्ध सल्लाहकार सन्तोष गिरीका अनुसार ‘नेपालका लागि कोरियाका राजदूत पार्क, ताइ-योङ्, अष्ट्रेलियाका राजदूत फेलिसिटी भोल्क, फिनल्याण्डकी राजदूत रीना–रीक्का हेक्का, श्रीलंकाका राजदूत सुदर्शन पथिराना, मलेसियाका कार्यवाहक राजदूत मोहम्मद फिर्दुस अजमान सिप मेला अवलोकनका लागि आउनुभयो । यस्तै, युनेस्को नेपालका आवासीय प्रतिनिधि माइकल क्रप्ट, युएनडीपीका उपआवासीय प्रतिनिधि जुलियन चेभिलार्ड, नेपालका लागि अमेरिकाको दूताबासका सार्वजनिक मामिला प्रमुख ग्यारेट विल्कर्सनले अवलोकन भ्रमण गर्नुभयो ।