Logo

वडा १६ को अध्यक्षमा श्रेष्ठ निर्वाचित

मंसिर १६ गते सम्पन्न उपनिर्वाचनबाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विजयी

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको वडा नं. १६ को अध्यक्ष पदका  भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रोजिना श्रेष्ठ विजयी हुनुभएको छ । मंसिर १६ गते सम्पन्न उपनिर्वाचनको परिणाम सोमबार बिहान सार्वजनिक भएको हो । जसअनुसार श्रेष्ठ २ हजार ९०२ मत ल्याएर निर्वाचित हुनुभएको हो । उहाँसँग निकटतम प्रतिस्पर्धामा रहनुभएका नेकपा एमालेका लक्ष्मीरत्न तुलाधरले २ हजार २२० मत प्राप्त गर्नुभयो । 

श्रेष्ठ निर्वाचित भएसँगै काठमाडौँ महानगरपालिकाले वडाध्यक्ष पदमा एकजना महिला प्राप्त गरेको छ । २०७४ को स्थानीय निर्वाचनमा वडा नं. १४ मा शोभा सापकोटा अध्यक्ष पदमा निर्वाचित हुनुभएको थियो । २०७९ को निर्वाचनमा अध्यक्ष पदमा महिलाको संख्या शुन्य थियो ।  

नेपाली कांग्रेसका उम्मेद्वार देवेन्द्र पाठकले २ हजार २१४ मत प्राप्त गर्नुभयो । एकीकृत समाजवादीका मीनबहादुर मानन्धरले १ हजार ९२, राष्ट्रिय प्रजातन्त्र पार्टीका श्यामकृष्ण श्रेष्ठले ७७४ मत प्राप्त गर्नुभयो । निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका उम्मेदवार राजकुमार थापाले ७३ मत, जनता समाजवादी पार्टीका उम्मेदवार सानुमैया राउन क्षेत्री पुतुवारले ४३ मत प्राप्त गर्नुभयो ।   

२१ हजार २५ मतदाता भएको वडामा १० हजार ३७६ सदर मत थिए । 

०७४ र ०७९ को निर्वाचनमा कांग्रेस उम्मेद्वार मुकुन्द रिजाल निर्वाचित हुनुभएको थियो । ०८० भदौ २१ गते रिजालको निधन भएपछि रिक्त भएको स्थानमा उपनिर्वाचन भएको हो । रिक्त स्थानमा पुष्प महर्जनले कार्यवाहक अध्यक्षका रुपमा काम गरिरहनुभएको थियो । 

नवनिर्वाचित श्रेष्ठले २०५३ सालमा एसलसी उत्तीर्ण गर्नुभएको हो । २०६९ सालमा एमबिएस गर्नुभएकी श्रेष्ठले २०७९ सालमा एलएलबि गर्नुभएको छ । 
 

  • प्रकाशित मिति: सोमबार १७ मंसिर २०८१ ०९:१९