विभागीय प्रमुखहरुबाट अहिलेसम्मका प्रगतिका विषयमा संक्षिप्त प्रस्तुति
काठमाडौँ । ‘दायित्व निर्वाह गर्ने क्रममा नियत सफा राखेर काम गर्नुपर्छ । यो कर्मचारीको धर्म हो ।’ विभागीय प्रमुखहरुसँग कुरा गर्दै काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले भन्नुभयो, ‘काम गर्दै जाँदा परिस्थितिजन्य प्रशासनिक संकट आउन सक्छ । यो संकटबाट केवल कानुनले मात्र बचाउन सक्छ । यसकारण तपाईँहरु कानुनी व्यवस्थाप्रति पूर्ण इमान्दार र प्रतिवद्ध हुनुपर्छ ।’
वार्षिक लक्ष्य, लक्ष्यमा पुग्न विभागहरुले अहिलेसम्म सम्पादन गरेका काम र यसबाट प्राप्त नतिजाका विषयमा जानकारी लिँदै उहाँले, स्वीकृत, नीति, बजेट तथा कार्यक्रमले निर्धारण गरेको लक्ष्य प्राप्त गर्न स्वतःस्फूर्त उत्प्रेरित हुन प्रोत्साहन गर्नुभयो । कतिपय समस्याहरु आपसी संवादबाट पनि सुल्झिन्छन् । यसकारण आन्तरिक सञ्चारलाई बलियो बनाउनोस् । आपसी सहयोग र सद्भाव कायम राख्नोस् । उहाँको आग्रह थियो ।
त्यस क्रममा विभागीय प्रमुखहरुले विभाग स्तरीय कार्यक्रमबाट प्राप्त उपलब्धीसँगै आगामी कार्यक्रमका बारेमा जानकारी गराउनुभएको थियो ।
नगर सभाको १५ औँ अधिवेशनबाट चालु आर्थिक वर्षका लागि २५ अरब ७० करोड ६३ लाख २५ हजार रुपैयाँ विनियोजन गरेको छ । विनियोजित यो रकममध्ये अहिलेसम्म ४ अरब १८ करोड ८६ लाख रुपैयाँ खर्च भएको आर्थिक प्रशासन प्रमुख श्याम न्यौपानेले जानकारी दिनुभयो । यो १६.८१ प्रतिशत हो ।
यस वर्ष आयतर्फ १२ अरब ९० करोड ६३ लाख २५ हजार रुपैयाँ लक्ष्यमध्ये आन्तरिक राजस्व असुलीको लक्ष्य ८ अरब ३ करोड ५७ लाख रुपैयाँ रहेको छ । राजस्व विभागका प्रमुख दिपक अधिकारीका अनुसार अहिलेसम्म ४ अरब ८४ करोड ७२ लाख रुपैयाँ राजस्व संकलन भएको छ ।