Logo
  • वि.सं.: २०८२, चैत २५ बुधबार

  • इ.स.: 2026 April 8,WEDNESDAY

  • वि.सं.: २०८२, चैत २५ बुधबार

  • इट्टापाखा फल्चा पुनःनिर्माण कार्यको शिलान्यास

    / फल्चाको पुनःनिर्माणबाट हामी संस्कृति, परम्परा र समाजलाई जोड्न चाहन्छौँ' - वडाध्यक्ष, संगत  

    काठमाडौँ । फल्चाहरुको पुनःनिर्माण, मर्मत सम्भार र संरक्षण तथा हराएका फल्चा खोजेर पुनःस्थापना गरेर संस्कृति, परम्परा र समाजलाई जोड्ने प्रयासमा काम गरिरहेको महानगरपालिकाको सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगतले बताउनुभएको छ । पशुपति क्षेत्रको इट्टापाखामा रहेको प्राचीन फल्चा (पाटी) को पुनःनिर्माणका लागि शिलान्यास गर्दै उहाँले भन्नुभयो, ‘पुनःनिर्माण गरिएका ६ वटा फल्चाको हामीले एकै दिन उद्घाटन गरेका छौँ । यी फल्चा स्थानीय जात्रा, पर्व, संस्कार, गायन वादन जस्ता सामाजिक, धार्मिक तथा सांस्कृतिक परम्पराको निरन्तरताका लागि प्रयोग हुनेछन् ।’ 

    विगत एक शताब्दीदेखि भग्नावशेषको अवस्थामा रहेको यस संरचनालाई स्थानीयवासीको माग र सांस्कृतिक आवश्यकतालाई दृष्टिगत गर्दै पुनर्जीवन दिन लागिएको हो । शिलान्यासका क्रममा संगतले इट्टापाखा फल्चाको ऐतिहासिक र धार्मिक गरिमा उच्च रहेको उल्लेख गर्नुभयो । विशेषगरी प्रसिद्ध बज्रेश्वरी जात्राको शुभारम्भ गरिने बिन्दु र जात्राका क्रममा प्रयोग हुने प्रमुख स्थल भएकाले यसको संरक्षण अनिवार्य रहेको उहाँको भनाइ थियो ।

    पुनर्निर्माणका क्रममा प्राचीन वास्तुकला र मौलिक निर्माण सामग्रीको प्रयोगलाई प्राथमिकता दिइनेछ । संरचनाको ऐतिहासिक स्वरूप कायम राख्न आधुनिक सिमेन्टको सट्टा परम्परागत चुना, सुर्की र झिँगटीको प्रयोग गरिनेछ । 

    करिब १४ लाख रुपियाँको लागतमा निर्माण हुन लागेको यो फल्चा एकतले हुनेछ । इट्टापाखा क्षेत्र र यहाँबाट सुरु हुने बज्रेश्वरी जात्रासँग स्थानीयको गहिरो भावनात्मक एवं सांस्कृतिक सम्बन्ध रहेकाले फल्चा निर्माण कार्यले स्थानीयमा उत्साह थपेको छ ।


     

  • प्रकाशित मिति बुधबार २५ चैत २०८२ १०:०९ AM