Logo
  • वि.सं.: २०८२, जेठ २५ आइतबार​

  • इ.स.: 2025 June 8,SUNDAY

  • वि.सं.: २०८२, जेठ २५ आइतबार​

  • पानीमा डुबेर हराएको व्यक्तिलाई खोज्ने र भेट्टाएर उद्धार गर्ने अवस्थाको कृतिम अभ्यास सम्पन्न

    सम्भावित विपदको प्रतिकार्यका लागि क्षमताको अद्यावधिकताका लागि अभ्यास, स्रोत, साधन र उपकरणको तयारी 

    काठमाडौँ । पानीमा डुवेको व्यक्तिको खोजी र उद्धारका लागि महानगर प्रहरी बलले आज कृतिम अभ्यास सम्पन्न गरेको छ । रानीपोखरीमा सम्पन्न अभ्यासमा डुङ्गामा यात्रा गर्दागर्दै पानीमा खसेका व्यक्ति हराएपछि खोजेर बाहिर निकालिएको थियो ।  

    ‘गएको वर्ष जल उत्पन्न प्रकोपले काठमाडौँमा जनधनको क्षति गरेको थियो । यस वर्ष औसतभन्दा धेरै बर्षा हुने अनुमान गरिएको छ । यसबाट आउन सक्ने बाढी र डुवानजस्ता विपदबाट जनधनको क्षति घटाउन हामीले अभ्यास गरेका हौँ ।’ महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी उपरीक्षक विष्णुप्रसाद जोशीले भन्नुभयो, ‘१ जना नगर प्रहरी निरीक्षक, १६ जना नगर प्रहरी हवल्दार र ३ जना नगर प्रहरी जवान गरी २० जनालाई गएको चैत महिनामा विपद व्यवस्थापन प्रतिकार्यको तालिम दिइसकिएको छ । उहाँहरुको क्षमतालाई अभ्यासबाट निपूर्ण बनाउने, साधन, स्रोत तथा उपकरणको प्रबन्ध गर्ने क्रममा आजको अभ्यास गरिएको हो ।’

    विपद व्यवस्थापन तालिम शिक्षालय, कुरिनटारमा सम्पन्न विपद प्रतिकार्य क्षमता विकास तालिममा अग्नि निवारण, जीवन उद्धार, जल प्रकोप, खोजी तथा उद्धार, डोरीको माध्यमबाट गरिने उद्धार, मृत सरीर व्यवस्थापनको सैद्धान्तिक ज्ञान र व्यवहारिक अभ्यास गराइएको थियो । चैत २५ गते सुरु भएको तालिम बैशाख ११ गते सकिएको थियो । 

    सम्भावित जल उत्पन्न प्रकोपको पूर्वतयारीका लागि महानगरपालिकाले नदी सफाइ, ढल तथा मंगालको सफाइको काम पनि निरन्तर गरिरहेको छ । यस क्रममा नदी सरसफाइ स्वर्णिम योजनाअन्तर्गत मनोहरा, विष्णुमती, धोवीखोला, मनमती र बल्खु खोलाभित्र भएका फोहर, निर्माणजन्य सामग्री, सतहमाथि जम्मा भएको माटोलाई डोजर र मानव स्रोतको प्रयोग गरेर निकालिएको छ । यस्तै सामाखुखी, टुकुचा, भचाखुशीमा मानव स्रोतको प्रयोग गरेर सफाइको काम भइरहेको फोकल पर्सन सानुमैया महर्जनले जानकारी दिनुभयो ।

    जल उत्पन्न प्रकोप न्यूनीकरणका लागि महानगरपालिकाले सञ्चालन गरेको अर्को कार्यक्रम डुवान समाधान हो । स्वर्णिम योजनाअन्तर्गत सञ्चालन भइरहेको यो कार्यक्रममा भूमिगत ढल, सतहको पानी निकास हुने ढल र मंगालको सफाइ गर्ने गरिएको छ । 


     
     

  • प्रकाशित मिति आइतबार​ २५ जेठ २०८२ ११:४६ AM