वि.सं.: २०८२, पुस ४ शुक्रबार
इ.स.: 2025 December 19, FRIDAY
वि.सं.: २०८२, पुस ४ शुक्रबार
परेपछि पढौँला भनेर कानुनी ज्ञान लिनबाट छुट्नु हुँदैन, आफू अन्यायमा परेको छु कि छैन जान्न पनि कानुन थाहा पाउनुपर्छ - उपप्रमुख डंगोल
काठमाडौँ । काठमाडौँ महानगरपालिका, वडा नं. ८ को महिला सञ्जालले वडाबासीका लागि कानुन सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ । आज वडाको सभा कक्षमा आयोजना गरिएको कार्यक्रममा स्थानीय विवाद, विवाद समाधानका लागि कानुनी व्यवस्था र यसको प्रयोगको प्रक्रियाका विषयमा प्रस्तुतिकरण र अन्तरक्रियात्मक संवाद गरिएको थियो ।
अभिमुखीकरणमा बोल्दै महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले, परेको छैन भनेर कानुनी व्यवस्थाका विषयमा अन्जान बन्नु नहुने धारणा राख्नुभयो । ‘कानुनी ज्ञानले सम्भावित जोखिमबाट बचाउँछ । समस्या परे समाधानको बाटो थाहा हुन्छ । त्यसैले कानुन जानी राख्नुपर्छ । बुझी राख्नुपर्छ ।’
महानगरपालिकामा आउने विवादमध्येको बहाल कर सम्बन्धी विवादको उदाहरण दिँदै उहाँले भन्नुभयो, ‘सरकारलाई थोरै कर बुझाउन वास्तविक वहाल रकममा घटाएर सम्झौता गरिएको हुन्छ । बहालमा बस्नेले धेरै रकम तिरेको हुन्छ । यसरी तिरिएको बढी रकम घरधनीले ऋण लिएको भराइ पाउँ भनेर वहालमा रहनेले दावी गर्न थाल्नुभएको छ ।’ कानुनलाई छल्न खोज्दा आफैँ समस्या परिने अवस्था औँल्याउँदै उहाँले भन्नुभयो, ‘यस्ता सम्भावित समस्याबाट बच्न पनि कानुन जान्न जरुरी छ ।’
‘जनतालाई समस्या परेर आएपछि म कानुन जान्दिन भन्न पाइँदैन । सोधेर, खोजेर वा विज्ञको सहयोग लिएर पनि सेवा गर्नै पर्छ । यसकारण कानुनी ज्ञान जनप्रतिनिधिलाई पनि चाहिएको छ ।’ कार्यक्रममा वडाध्यक्ष आशामान संगतले स्थानीय स्तरका समस्या देखाउँदै भन्नुभयो, ‘कसैका बुबा हराएका छन् । कसैका आमा हराएका छन् भने कसैका छोराछोरी हराएका छन् । परिवारमा कलह छ । आपसमा मिलेर बस्न नसक्ने अवस्थामा छन् । लेनदेनको समस्या छ । छरछिमेकीका समस्या छन् । सहरमा अनेक प्रकृतिका समस्या छन् । ती हरेक समस्या समाधानका लागि छुट्टाछुट्टै कानुन छन् । यसकारण वडाबासीलाई कानुनी साक्षरताको कार्यक्रम थालिएको हो ।’
महिला सञ्जालका संयोजक सरस्वती राजभण्डारीका अनुसार २०७९ देखि अहिलेसम्म सञ्जालमा २३ वटा विवाद दर्ता भएका छन् । यीमध्ये १२ वटा फस्र्योट भइसकेका छन् । ७ वटामा मेलमिलाप गराइएको छ । ४ वटा फस्र्योट हुन बाँकी छन् । मेलमिलाप गराइएका सबै विवाद वडाबाटै टुङ्ग्याएर प्रमाणीकरणका लागि मात्र महानगरपालिकामा पठाइएको छ ।
अभिमुखीकरणमा सर्वोच्च बार एशोसिएसनका वरिष्ठ अधिवक्ता प्रा. डा. शशी अधिकारीले घटना दर्ता सम्बन्धी कानुनी व्यवस्था, अभ्यास र प्रचलनका विषयमा प्रस्तुतिकरण गर्नुभएको थियो । यस्तै एशोसिएसनकै वरिष्ठ अधिवक्ता सुनिता रेग्मीले शिफारिसको सिद्धान्त, शिफारिस प्रदान गर्ने प्रक्रिया र यसको प्रयोगका विषयमा प्रस्तुतिकरण प्रदान गर्नुभएको थियो ।
प्रस्तुतिकरणपछि सहभागीहरुले साना तर जान्ने पर्ने कुरा पनि आजसम्म थाहा नपाएको अनुभूति भएको विचार सुनाउनुभयो । कानुन जान्न सके परिवार र समाज व्यवस्थापन गर्न पनि सहज हुने उहाँहरुको धारणा थियो ।

निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App