सामाजिक विकास विभागले गरेका प्रयत्न नतिजामा आउँदैछन् - संयोजक के. सी.
काठमाडौँ । स्वर्णिम योजनाअन्तर्गत ‘स्वरोजगार नगरबासी कार्यविधि’ र ‘कपडा वैङ्क (सञ्चालन) कार्यविधि’ को मस्यौदामा आज सामाजिक विकास समितिमा छलफल भएको छ । यससँगै ‘कोसेली घर सञ्चालन कार्यविधि’ र ‘पशुपति/धर्मशाला सञ्चालन तथा व्यवस्थापन कार्यविधि’ को मस्यौदा पनि समितिमा छलफलका लागि पेश भएको थियो । वैठकमा मस्यौदा कार्यविधिसँगै चालु आर्थिक वर्षमा सम्पन्न भएका कार्यक्रमको समीक्षा र आगामी कार्यक्रमको प्राथमिकतामा छलफल गरिएको थियो ।
चालु आर्थिक वर्षका लागि विभागले कार्यान्वयनमा ल्याउनु पर्ने ८७ वटा स्वीकृत कार्यक्रमका लागि ६४ करोड ९४ लाख २५ हजार रुपैयाँ विनियोजित छ । ‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ गौरवको योजना एउटा र ‘साथी महानगर’ स्वर्णिम योजना एउटा छन् । यी कार्यक्रमका लागि क्रमशः ११ करोड ६३ लाख ७५ हजार र २ करोड रुपैयाँ विनियोजित छ । विभागका दायित्वका विषयमा कुरा गर्दै समितिका संयोजक रामकुमार के. सी. ले भन्नुभयो, ‘पूर्वाधार विकास जत्ति जरुरी छ, त्यत्तिकै सामाजिक विकास जरुरी छ । यो सोच स्थापित गराउनु छ । यसकारण विभागले गरेका कामले व्यक्ति र समाजमा प्रभाव पारेको हुनुपर्छ । यसले मात्र सरकारले काम गरेको अनुभूति गराउँछ ।’
विभागअन्तर्गत सम्पन्न कार्यक्रममा ‘सेन्ट्रल एशियन भलिवल एशोसिएसन (काभा) महिला भलिवल नेसन्स लिगको उपविजेता टोली र साफ वुमन्स च्याम्पियनसिप (साउथ एशियन फुटबल फेडेरेसन वुमन्स कप) २०२४ का उपविजेता नेपाली टिमका खेलाडीलाई जनही १ लाख रुपैयाँ, टिम म्यानेजर, मुख्य प्रशिक्षक, सहायक प्रशिक्षक र थेरापिष्टलाई जनही ५० हजार रुपैयाँ नगदसहित सम्मान, पारालिम्पिक कास्य पदक विजेता पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई ५ लाख रुपैयाँ र प्रशिक्षक कविराज नेगी लामा ३ लाख रुपैयाँ नगदसहित सम्मानलगायत छन् । वैठकमा सदस्य सचिव एवं सामाजिक विकास विभागका प्रमुख समीक्षा निरौलाले सम्पन्न कामका विषयमा अवगत गराउँदै, महानगरबासी ज्येष्ठ नागरिक, जनप्रतिनिधि र कर्मचारीहरुको निःशुल्क उपचारका लागि छत्रपाटी निःशुल्क चिकित्सालयसँग सम्झौता गरिएको जानकारी दिनुभयो । यसका लागि महानगरपालिकाले १ करोड ५० लाख रुपैयाँ उपलब्ध गराउनेछ ।
'एक वडा, एक नमूना कार्यक्रम'अन्तर्गत गएको वर्ष १५ वटा वडाले एक उत्पादन सुरु गरेका थिए । यस वर्ष ९ वटा वडामा नमूना उत्पादनका विषयमा छलफल भइसकेको छ । महाशाखा प्रमुख जानकारी सिंहकाअनुसार बाँकी ८ वटामा पनि क्रमशः छलफल गरिने योजना छ ।
स्वर्णिम योजनाअन्तर्गत ‘साथी महानगर’ का कार्यक्रमअन्तर्गत अपाङ्गता भएका, जोखिममा परेका बालबालिका, दलित विपन्न, वरिष्ठ ज्येष्ठ नागरिक, लैङ्गिक हिंसा पीडित र वञ्चितिमा परेका व्यक्तिहरु अति समस्यामा परेमा महानगरपालिकाले सहयोग गर्ने गरेको छ । यस प्रकारको सहयोग आवश्यक परे निवेदन दिन विभागले असोज १० गते सार्वजनिक सूचना प्रकाशन गरेको थियो । यस सूचनाका आधारमा ६ जनाले निवेदन दिनुभएको छ । उहाँहरुलाई सहयोग गर्ने विषय बैठकमा छलफल भएको थियो । यस्तै बाल कल्याण अधिकारी शान्ता पहाडीले, दोस्रो चरणमा थालिएको बाल उद्धारका विषयमा जानकारी दिनुभएको थियो । यस चरणमा १२ जना बालबालिकालाई उद्धार गरिएको छ ।
वैठकले, सूचीकृत ४० जनाका लागि इलेक्ट्रिकल रिपेयरिङ् तालिम दिने निर्णय गरेको छ । यसका लागि विभिन्न विधाका ५ शीर्षकका तालिम प्रस्तावित थिए । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत प्रदान गरिने १ सय दिनको रोजगारीमध्ये ५० दिन पारिश्रमिकसहित तालिम दिइनेछ । बाँकी ५० दिन तोकिएको काम गर्नुपर्नेछ ।
वैठकले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान विशेष कार्यक्रमसहित मनाउने निर्णय गरेको छ ।