वि.सं.: २०८२, मंसिर १५ सोमबार
इ.स.: 2025 December 1,MONDAY
वि.सं.: २०८२, मंसिर १५ सोमबार
यिताचपा सत्तल, गणेश मन्दिर, नारायण मन्दिर, उमा महेश्वर मन्दिर, डवली र भोटाहिटीमा रहेको कलश द्वारको संयुक्त उद्घाटन
काठमाडौँ, मंसिर १५ । काठमाडौँ महानगरपालिकाको वडा नम्बर २७ असनमा पुननिर्माण सम्पन्न गरिएका सांस्कृतिक सम्पदाहरुको उद्घाटन गरिएको छ । यिताचपा सत्तल, गणेश मन्दिर, नारायण मन्दिर, उमा महेश्वर मन्दिर, डवली र भोटाहिटीमा रहेको कलश द्वारको महानगरपालिकाका प्रवक्ता नविन मानन्धर, सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगत, वडा २७ का अध्यक्ष योगेशकुमार खड्गी र वातावरण समितिका संयोजक एवं वडा नं. १२ का अध्यक्ष बालकृष्ण महर्जनले संयुक्त उद्घाटन गर्नुभएको हो ।
यी संरचनामध्ये यिताचपा सत्तल, सबैभन्दा धेरै लागत भएको अर्थात् २ करोड ८४ लाख २९ हजार ४५६ रुपियाँमा निर्माण सम्पन्न भएको योजना हो । यसको लागत अनुमान भ्याटसहित २ करोड ९१ लाख ३२ हजार ५०४ रुपियाँ थियो । यो कामका लागि शुभश्री न्यू ए टु जेड जेभीलाई २०८१ जेठ २१ गते कार्यादेश दिइएको थियो । सत्तलको पुनःनिर्माण गर्दा इटा, चुनासुर्की, बालुवा, काठ, ढुङ्गा, तेलिया इटा, झिँगटी प्रयोग गरिएको छ ।
उद्घाटनपछि प्रवक्ता मानन्धरले असनको प्राचीनता सबै नेपालीमा परिचित स्थान भएको बताउँदै यसको मौलिक स्वरुप कायम राख्न सत्तलको पुनःनिर्माणले योगदान दिएको उल्लेख गर्नुभयो । ‘काठमाडौँ पहिचान बचाउन असन क्षेत्रको भूमिका रहेको छ । यसको मौलिक स्वरुप बचाउन महानगरपालिकाले लगानी गरेको छ ।’ मानन्धरको भनाइ थियो ।
कार्यक्रममा सम्पदा तथा पर्यटन समितिका संयोजक संगतले, सत्तललाई टेकोमुक्त बनाउन सक्नु पहिलो उपलब्धी भएको बताउँदै यसको दिगो उपयोगका लागि स्थानीय सहभागिताको अपेक्षा गर्नुभयो । भित्री सहरी क्षेत्रका मानिसहरु बसाइँसराइ गरेर बाहिर गएकाले भित्री सहरको मौलिकता जोगाउन कठिन परेको बताउँदै उहाँले थातथलो नछोड्न आग्रह गर्नुभयो ।
प्राचीन स्मारक बचाएर मौलिकता र पहिचान बचाउनु आफ्नो पहिलो जिम्मेवारी रहेको बताउँदै वडा २७ का अध्यक्ष खड्गीले, यिताचपा पुनःनिर्माण सकिएपछि असनको मुहार नै उज्यालो भएको बताउनुभयो । मूर्त सम्पदाहरुको पुनःनिर्माण जारी रहेकोले पूर्खाको नासो पुस्तालाई हस्तान्तरणमा ठोस उपलब्धी प्राप्त हुने खड्गीले अपेक्षा राख्नुभयो ।
आर्किटेक्ट अमित बज्राचार्यका अनुसार सत्तलको लम्बाई ६९ फिट र चौडाई १३ फिट १० इञ्च छ । २ तले २ पाखे सत्तलका दुवै तला तला ९५४.२७ वर्गफिटका छन् । भुईँतलामा जान ३ कवलपछि ढोका छ । पहिलो तलामा जान पूर्वतर्फ बाहिरबाट काठको भ¥याङ् राखिएको छ ।
भुईँतलाको उत्तर खण्डमा १० कवल पसल छन् । आर्किटेक्ट बज्राचार्यका अनुसार, भुईँतलाको पूर्वतर्फ महाङ्काल, कृष्ण र बुद्धको मूर्ति राखिएका छन् । भित्र दक्षिणपट्टिको गारोसँगै ११ वटा प्रस्तर थाम र तोरण राखिएका छन् । यसमा अन्नपूर्ण द्यःछेँका गुथियारहरुले दशैमा पूजा गर्ने गरेका छन् । त्यसैमा एउटा नास द्यः (नाटयेश्वर) को मूर्ति पनि छ ।
पहिलो तलाको पूर्वमा आगम कोठा छ । यसमा लुँपौ गुथिले पूजाआजा गर्ने गरेका छन् । बाँकी भाग खुला छ ।
असनबाट बालकुमारीतर्फ अन्नपूर्ण मन्दिरसँगै रहेको सत्तल इतःचपा हो । यो सत्रौँ शताव्दीभन्दा अगाडि नै निर्माण भएको संरचना मानिन्छ । नेपाल मण्डलबाट व्यापारका लागि भोट जाने व्यापारीहरुका लागि निर्माण गरिएको मानिन्छ । परदेशमा गएपछि रोगव्याध आउन सक्छ । फर्किनेवित्तिकै परिवारसँग भेट गर्नु हुँदैन । निश्चित अवधि घुलमिल गर्नुहुँदैन, भन्ने सामाजिक विश्वाश अनुसार लामो समय व्यापार गर्न गएकाहरुलाई निश्चित समय छुट्टै बस्न बनाइएको बासस्थान हो ।
भोट व्यापार गरेर फर्किएपछि घर जानुअघि १५ दिन यहाँ क्वारेन्टिन बस्नु पथ्र्यो । त्यसपछि भोटाहिटीमा नुहाएपछि मात्र घर जान पाइन्थ्यो । यसरी हेर्दा इतःचपा तत्कालीन समयमा सामाजिक चेतनाको विम्ब पनि हो ।
यो संरचना जीर्ण भएपछि प्रयोग विहिन थियो । यसको संरचनागत जोखिमले पैदलयात्रीहरुलाई समेत जोखिम थियो । यो अवस्थामा रहेको संरचनालाई पुनःनिर्माण गरेर अहिले मौलिक स्वरुपमा फर्काइएको छ ।
सत्तलको अगाडिपट्टि पसल कवल छन् । पछाडिपट्टि भजन गर्ने स्थान र नास द्यःछेँ रहेका छन् । संरचनाको इतिहास हेर्दा अभिलेखहरूमा सत्रौँ शताब्दीभन्दा अगाडि नै निर्माण भएको पाइएको छ ।
काठमाडौँको व्यस्त व्यापारिक केन्द्र असन बजारको यो संरचना प्राचीनता, मौलिकतासँगै कलाका दृष्टिले पनि महत्वपूर्ण छ । सत्तलका झ्याल, थाम, मेठ, बार्दली कलात्मक छन् । झिँगटीयुक्त छानोले सत्तलको सुन्दरता प्रदर्शन गरेको छ ।
आर्किटेक्ट गौरव श्रेष्ठका अनुसार करिब गणेश मन्दिर, नारायण मन्दिर र उमा महेश्वर मन्दिरको पुननिर्माण लागत करिब ८३ लाख रुपियाँ हो । यस्तै डवली करिब ४ लाख रुपियाँ लागतमा मर्मत भएको छ । कलश द्वारको लागत करिब ७ लाख २५ हजार रुपियाँ हो ।

निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App