Logo

महानगर क्षेत्रभित्र करीब ३ प्रतिशत बालबालिका बिद्यालय बाहिर

महानगर क्षेत्रभित्र करीब ३ प्रतिशत बालबालिका बिद्यालय बाहिर

चन्द्रमणि भट्टराई
चैत्र २५

काठमाडौं । काठमाडौं महानगर क्षेत्रभित्र बैशाख २ गतेदेखि १५ गतेसम्म बिद्यार्थी भर्ना अभियान हुने भएको छ । बिद्यालय बाहिर भएका बालबालिकालाई पढ्न ल्याउने उद्देश्यले यो अभियान शुरु गर्न लागिएको, शिक्षा अधिकारी निर्मला के. सी. ले बताउनुभएको छ । सोमबार काठमाडौंमा आयोजना गरिएको सकारात्मक सोच बिकास र गुणस्तरीय शिक्षा सम्बन्धि अभिमुखीकरण कार्यक्रममा बोल्दै उहाँले — ‘हाम्रो नगर, हाम्रो गाउँ, सबै बालबालिकालाई बिद्यालय पु¥याऔं’ सारासहित भर्ना अभियान चलाइने जानकारी दिनुभयो । शिक्षा अधिकारी के. सी. का अनुसार बैशाख १४ गते अभियान सकिनेछ । त्यसपछि १५ गतेदेखि ३० गतेसम्म घरदैलो कार्यक्रम हुनेछ । भर्ना अभियानसँगै आउँदो शिक्षा दिवस अगावै महानगरलाई साक्षर नगर घोषणा गर्ने योजनाअनुसार काम भइरहेको छ । अभिमुखीकरण कार्यक्रम सामुदायिक बिद्यालयका शिक्षक शिक्षिका तथा कर्मचारीका लागि आयोजना गरिएको गियो ।

अभिमुखीकरणमा प्रितम पौडेलले सकारात्मक सोच बिकास र डा. भोजराज काफ्लेले गुणस्तरीय शिक्षा निर्माण सम्बन्धि कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । प्रस्तुतीका क्रममा पौडेल — नकारात्मक नसोची जीवन चल्छ कि चल्दैन बिषयमा केन्द्रीत हुनुहुन्थ्यो भने डा. काफ्ले सामुदायिक बिद्यालयको गुणस्तरीय शिक्षा व्यवस्थापनमा शिक्षकको भूमिकामा केन्द्रीत हुनुहुन्थ्यो ।

देशको भार थाम्नु पर्ने बिद्यार्थीलाई असल बनाउने जिम्मेवारी पाएका शिक्षक सकारात्मक र सृजनात्मक भए मात्र असल नागरिक निर्माण हुन सक्छ, कार्यक्रममा महानगरको प्रशासन महाशाखा प्रमुख गणेशप्रसाद थपलियाले धारणा राख्नुभयो ।

काठमाडौं महानगरमा ९१ वटा सामुदायिक र ६४५ वटा संस्थागत गरी ७३६ वटा बिद्यालय छन् । यी बिद्यालयमा २ लाख ३ हजार ९ सय ७१ जना बिद्यार्थी अध्ययन गर्छन् । यसमध्ये १ लाख ५८ हजार ९ सय ७१ जना संस्थागत बिद्यालयमा र बाँकी सामुदायिक बिद्यालयमा अध्ययन गर्छन् ।

शिक्षा बिभागका अनुसार महानगर क्षेत्रभित्र ५ बर्षमाथि १० बर्षसम्म उमेर समूहका करीब ३ प्रतिशत बालबालिका बिद्यालय बाहिर छन् । सहरमा छोटो र लामो समयका लागि बसोबास गर्न आउने तथा श्रममा आवद्ध अभिभावकका कारण बिद्यालय भर्ना हुन बाँकी बालबालिकाको एकिन तथ्याङ्क प्राप्त हुन कठिन भएको अधिकारीको भनाइ छ । 

  • प्रकाशित मिति: शुक्रबार​ २७ ेठ २०७९ ११:३७