वि.सं.: २०८३, साउन १ शुक्रबार
इ.स.: 2026 July 17, FRIDAY
वि.सं.: २०८३, साउन १ शुक्रबार
कोषको प्रभावकारी व्यवस्थापन तथा परिचालनका लागि त्रिपक्षीय सम्झौता
काठमाडौँ । मानव सेवा आश्रममा आश्रित बालबालिकाको शिक्षा र काठमाडौँबाट उद्धार तथा पुनःस्थापना गरिने व्यक्तिहरुको उपचारका लागि आइडीपी एजुकेसन स्टुडेन्ट सर्भिसले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ४० लाख रुपियाँ खर्च गर्ने भएको छ । यसमध्येको २७ लाख रुपियाँ बालबालिकाको शिक्षाका लागि र १३ लाख रुपियाँ उद्धार गरिएका व्यक्ति आवश्यक सबैको स्वास्थ्योपचारका लागि खर्च हुनेछ । यसका लागि महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल र सामाजिक समितिका संयोजक रामकुमार के. सी. को रोहवरमा महानगरपालिकाको सामाजिक विकास विभागका प्रमुख समीक्षा निरौला, आइएडीपीका कन्ट्री डाइरेक्टर कविर खड्गी र मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारी बिच त्रिपक्षीय सम्झौता भएको छ ।
सम्झौता अवसरमा आइडीपीका कन्ट्री डाइरेक्टर खड्गीले मानव सेवा आश्रमका अध्यक्ष अधिकारीलाई शिक्षा कार्यक्रम अन्तर्गत पहिलो किस्ताको १० लाख ८० हजार रुपियाँ र स्वास्थ्य कार्यक्रम अन्तर्गतको १० लाख ४० हजार रुपियाँ गरी २१ लाख २० हजार रुपियाँको चेक हस्तान्तरण गर्नुभयो ।
सम्झौता अवसरमा कार्यवाहक प्रमुख डंगोलले, काठमाडौँलाई मानवीयतामा आधारित सहर निर्माण गर्ने क्रममा निजी क्षेत्रको सहभागिता बढेसँगै लक्ष्य नतिजा उन्मुख बन्दै गएको अनुभूति व्यक्त गर्नुभयो ।
सामाजिक समितिका संयोजक के. सी. ले, संस्थागत सामाजिक उत्तरदायित्वको यो कार्यक्रमले निजी क्षेत्रको उचाइ बढाएको बताउनुभयो ।
आइडीपीका कन्ट्री डाइरेक्टर खड्गीले, पहिलो वर्षको प्रभाव मूल्याङकन गरेर सहयोगलाई निरन्तरता दिइने बताउनुभयो । यस्तै आश्रमका अध्यक्ष अधिकारीले, जुन उद्देश्यका लागि सहयोग प्राप्त भएको हो । त्यही लक्ष्यमा मात्र खर्च गर्ने सुनिश्चितता प्रकट गर्नुभयो । ‘हामी निमित्त हौँ । यो सहयोगको हकदार बालबालिका र सडक सहयोगापेक्षी मानव नै हुनुहुन्छ ।’ अधिकारीले सहयोगलाई सदुपयोग गर्ने प्रतिवद्धता दोहो¥याउनु भयो ।
आइडीपीको संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट खर्च गरिने यस कार्यक्रमको निगरानी काठमाडौँ महानगरपालिकाले गर्नेछ । आश्रमले कार्यक्रम कार्यान्वयन गर्नेछ । विपन्न, अशक्त, घरबारविहीन, शारीरिक रुपमा कमजोर व्यक्तिहरुको स्वास्थ्य र शिक्षामा सहयोग गर्नु सम्झौताको उद्देश्य हो ।
कार्यक्रम अन्तर्गत मानव सेवा आश्रमको हेरचाहमा विद्यालय जाने बालबालिका लागि विद्यालयको शुल्क, पोशाक, सिकाई सामग्री र शिक्षामा निर्बाध पहुँचका लागि आवश्यक अन्य आवश्यक सहयोग गरेर सिकाइ र नतिजा सुधारका लागि रकम खर्च हुनेछ । आश्रमले अहिले बुटबल, हेटौँडा र गोरखामा बाल गृह सञ्चालन गरेको छ । यसरी सञ्चालित आश्रममा ९१ जना बालक, ६४ जना बालिका गरी १५५ जना बालबालिका आश्रित हुनुहुन्छ । उहाँहरुमध्ये १२० जना बालबालिका विद्यालय जान योग्य हुनुहुन्छ । उहाँहरु निजी र सामुदायिक दुवै प्रकारका विद्यालयमा अध्ययनरत हुनुहुन्छ । ३५ जनामा वौद्धिक अपाङ्गता सहित विभिन्न प्रकारको अपाङगता भएकाले आश्रममै हेरचाह गर्नु पर्ने अवस्था छ ।
स्वास्थ्य कार्यक्रम अन्तर्गत उद्धार तथा पुनःस्थापनाका गरिने सबै प्रकारका व्यक्तिको शारीरिक तथा मानसिक स्वास्थ्यको उपचार तथा औषधि प्रदान गर्नमा खर्च गरिनेछ । यसबाट दीर्घ रोग भएका, मानसिक स्वास्थ्य अवस्था कमजोर भएका, उमेरसँग सम्बन्धित रोगको उपचार गरेर असहाय, बेसहारा व्यक्तिहरुको स्वास्थ्यमा पहुँच वृद्धि गरिने लक्ष्य राखिएको छ ।
काठमाडौँका सडकबाट उद्धार गरिएका व्यक्तिहरुलाई विभिन्न ७ वटा शाखामा राख्ने गरिएको छ । यी शाखाहरुमा १७६ जना महिला, ३२३ जना पुरुष र ६ जना बालबालिका गरी ५०५ जना व्यक्ति आश्रित हुनुहुन्छ । आश्रितमध्ये २२१ जना रानीबन शाखामा, २३ जना होल्डिङ् सेन्टरमा, ८२ जना स्क्रिनिङ सेन्टरमा, ४२ जना धुनीबेँसीमा, ५० जना सामाखुशीमा, ४५ जना ललितपुरमा र ४२ जना भक्तपुरमा हुनुहुन्छ ।

निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App