वि.सं.: २०८२, कात्तिक १८ मंगलबार
इ.स.: 2025 November 4,TUESDAY
वि.सं.: २०८२, कात्तिक १८ मंगलबार
वडा नं. २७ बाट पि. एल. सिंह स्मृति चित्रकला प्रतियोगिता आयोजना
काठमाडौँ । विद्यालय स्तरका बालबालिका लक्षित चित्रकला, संगीत र साहित्यिक कार्यक्रमले उनीहरुको चौतर्फी विकासमा योगदान पुग्ने धारणा राख्दै काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले बाल सिर्जनाका कार्यक्रमलाई महानगरपालिकाले प्राथमिकता
दिएको बताउनुभएको छ । सबै बालबालिकाभित्र कुनै न कुनै विलक्षण र विशेष क्षमता हुन्छ । त्यो क्षमता पहिचान गराउन र सक्रिय गराउन सिकाइका यी विधाहरु महत्वपूर्ण हुने उहाँको भनाइ थियो ।
‘कक्षा कोठाभन्दा बाहिर आयोजना गरिने कार्यक्रमले बालबालिकाको शारीरिक, मानसिक, चारित्रिक तथा सामाजिक विकासमा प्रभावकारी भूमिका खेल्छन् ।’ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसर पारेर आज वडा नम्बर २७ ले रानीपोखरी परिसरमा आयोजना गरेको ‘पि. एल. सिंह स्मृति चित्रकला प्रतियोगिता’ को उद्घाटन गर्दै उहाँले खुला स्थानमा हुने चित्रकला क्रियाकलापको प्रसङ्गमा भन्नुभयो, ‘यो प्रतियोगिता नभइ प्रदर्शनी जस्तो हो । यसमा सबै बालबालिकाको समान सहभागिता हुन्छ । सबैले समान प्राप्तिको महसुस गर्छन् ।’
कार्यक्रममा महानगरपालिकाका पहिलो प्रमुख पि. एल. सिंहको व्यक्तित्वमा कुरा गर्दै प्रमुख शाहले, स्वर्गीय सिंहलाई स्थानीय शासनमा दूरदृष्टि राख्ने नेताका रुपमा स्मरण गर्नुभयो ।
वडाले सिर्जना कलेज अफ फाइन आर्टस्को प्राविधिक सहयोगमा आयोजना गरेको चित्रकलाबाट बालबालिकामा सांस्कृतिक र सिर्जनात्मक चेतना बढाउन आयोजना गरिएको वडाध्यक्ष योगेश खड्गीले धारणा राख्नुभयो । ‘प्राकृतिक र सांस्कृतिक अवस्थितिको अनुभूति गराउँदै सिर्जना प्रस्फुटन गराउने हाम्रो चाहना हो ।’ उहाँले कार्यक्रम आयोजना स्थल छनोटका विषयमा स्पष्ट पार्नुभयो ।
वडा सदस्य सृष्टि तुलाधरले आगामी योजना सुनाउँदै भन्नुभयो, यस पटक प्राप्त नतिजा र सिकाइका आधारमा आगामी दिनमा यसप्रकारको कार्यक्रमलाई निरन्तरता दिनेछौँ ।
चित्रकलाका निर्णायक सिर्जना कलेअ अफ फाइन आर्टस्का सहायक प्रधानाध्यापक नविन्द्र राजभण्डारीले, सांस्कृतिक ऐतिहासिक स्थानमा आयोजना गरिएको कार्यक्रमले बालबालिकाहरुमा सम्पदा र परम्पराका बारेमा सिर्जनात्मक अभिव्यक्तिका लागि प्रेरित गर्ने धारणा राख्नुभयो ।
विद्यालय स्तरीय, ‘हाम्रा सांस्कृतिक सम्पदा’ विषयक स्थलगत चित्रकला प्रतियोगितामा २ सय जना विद्यार्थीहरु सहभागी छन् । यसमा कक्षा १ देखि ३ सम्मका विद्यार्थीहरुलाई समूह ‘क’ मा राखिएको छ । उनीहरुले क्रेयन अन ड्रइङ् पेपरमा चित्र बनाउन दिइएको छ । कक्षा ४ देखि ६ सम्मका विद्यार्थीहरु समूह ‘ख’ मा छन् । उनीहरुलाई अक्रिलिक कलर अन पेपरमा चित्र बनाउन दिइएको छ । कक्षा ७ देखि १० सम्मका विद्यार्थीहरुलाई समूह ‘ग’ मा राखिएको छ । उनीहरु अक्रिलिक अन क्यान्भास वोर्डमा चित्र कोरिरहेका छन् ।
प्रतियोगिताका विजेतामध्ये समूह ‘क’ बाट ३ जनालाई जनही ३ हजार रुपैयाँसहित प्रमाण पत्र, समूह ‘ख’ बाट ३ जनालाई जनही ५ हजार रुपैयाँसहित प्रमाण पत्र र समूह ‘ग’ बाट ३ जनालाई जनही ८ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।

निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App