Logo

आज चेकजाँच गरिएका ४० वटा सवारी साधनमध्ये ३१ वटा प्रदुषण फेल

आजसम्म १६० वटा सवारीको चेकजाँच गर्दा १ सय वटा फेल   

काठमाडौँ । आज काठमाडौँ चक्रपथ सुकेधारा भएर गुडिरहेका ४० वटा डिजेलका सवारी साधनको प्रदुषण चेकजाँच गर्दा ७८ प्रतिशत अर्थात् ३१ वटा फेल भेटिए । पुस २९ गतेबाट थालिएको चेकजाँचका क्रममा आजसम्म डिजेलबाट चल्ने १४० वटा र पेट्रोलबाट चल्ने २० गरी १६० वटा सवारी साधनको जाँच भएको छ । यीमध्ये डिजेलबाट चल्ने ९४ वटा र पेट्रोलबाट चल्ने ६ वटा सवारी फेल भएका छन् ।

माघ ६ गते टेकुमा चेकजाँच गरिएका ४० वटा सवारी साधनमध्ये ३३ वटा फेल भएका भेटिए । माघ ४ गते सिनामंगल क्षेत्रमा २० वटा सवारी साधनको चेकजाँच गर्दा १० वटा प्रदुषण मापदण्ड बाहिरका पाइए । माघ ३ गते पानीपोखरी क्षेत्रमा २० वटा सवारी साधनको चेकजाँच गर्दा १४ वटा फेल भएका साधन थिए । माघ २ गते जमल क्षेत्रमा २० वटाको चेकजाँच गर्दा ६ वटा फेल थिए । पुस २९ गते बबरमहलमा २० वटा परीक्षण गर्दा ६ वटा फेल थिए । यसरी गरिएको परीक्षणमा मापदण्डबाहिर रहेका सवारी साधनलाई मर्मत गर्न, त्यसपछि पुनः परीक्षण गराउन र मापदण्डभित्र मात्र सञ्चालन गर्न कवुलियतनामा गराइएको छ ।

वायु प्रदुषण नियन्त्रणका प्रयासमध्ये सवारी साधनबाट निस्कने प्रदुषक तत्व न्यूनीकरण तथा नियन्त्रणका लागि महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले नेपाल सरकारको वातावरण विभाग, उपत्यका ट्राफिक प्रहरी कार्यालय र महानगर प्रहरी बलसँगको सहकार्यमा स्थलगत चेकजाँच गरिरहेको छ ।

  • प्रकाशित मिति: सोमबार ७ माघ २०८१ १७:११