काठमाडौँको पहिचान जसरी बढेको छ, त्यसको उचाइ थप्दै जानुपर्छ - प्रमुख प्रशासकीय अधिकृत, गुरागाइँ
काठमाडौँ । काठमाडौँ महानगरपालिकामा नवनियुक्त प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाइँले पदवहाली गर्नुभएको छ । नेपाल सरकार (मन्त्रिपरिषद्) को मिति २०८१ भाद्र २७ गतेको निर्णय अनुसार उहाँले आज पदबहाली गर्नुभएको हो । यसअघि गएको २ वर्षदेखि उहाँ उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत ‘समृद्धि आयोजना’ को प्रमुखका रुपमा कार्यरत हुनुहुन्थ्यो ।
पदवहालीका क्रममा गुरागाइँले, प्रशासन विभागका प्रमुखको अधिकार प्रत्यायोजन पत्रमा हस्ताक्षर गर्नुभएको थियो । यसपछि आयोजना भएको विभागीय प्रमुखहरुको संक्षिप्त परिचयात्मक कार्यक्रममा उहाँले, प्रशासन विभागका प्रमुख नमराज ढकाललाई अधिकार प्रत्यायोजन गरेर कार्य प्रारम्भ गर्नुभयो । कार्यक्रममा विभागका प्रमुख ढकालले, निवर्तमान प्रमुख प्रशासकीय अधिकृतको प्रगति प्रतिवेदन प्रदान गर्नुभएको थियो ।
परिचयात्मक कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत गुरागाइँले, नेतृत्वको प्रतिष्ठा तथा ओजले काठमाडौँको गौरव वृद्धि भएको, प्रतिष्ठा बढेको उल्लेख गर्नुभयो । अहिलेको गौरव र प्रतिष्ठालाई कम हुन नदिने गरी सहकार्यबाट काम गर्नु पर्ने बताउँदै उहाँले, नेतृत्वको नीति र कर्मचारी संयन्त्रको कुशल प्रशासनिक एवं व्यवस्थापकीय सिपले काठमाडौँको उचाइ बढ्दै जाने बताउनुभयो ।
त्यस क्रममा प्रशासन विभागका प्रमुख ढकालले, एकल सेवा केन्द्र सञ्चालन, कर्मचारीको जिम्मेवार हेरफेरमा सहभागितामूलक पद्धति, सम्मानित अदालत र अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा अन्य नियामक निकायहरुबाट माग भएको विवरण यथासमयमै उपलब्ध गराउने प्रणालीको अभ्यास, जिम्मेवारी परिवर्तन भई अन्यत्र सरुवा भई जाँदा प्रगति प्रतिवेदन पेश गर्ने पद्धतिलाई निरन्तरता दिनु पर्ने बताउनुभयो । अघिल्लो वर्षमा हासिल भएको पूँजीगत खर्चको वृद्धिदरलाई बढाउने काम, प्रभावकारी अनुगमन प्रणाली र आन्तरिक नियन्त्रण प्रणालीलाई संस्थागत गर्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै उहाँले स्थानीय तह संस्थागत स्वमूल्याङ्कन (लिजा) र स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन (फ्राप) का सूचकहरुका उच्च अङ्क प्राप्त गर्न प्रयत्नशील रहनु पर्ने अवस्था रहेको जानकारी दिनुभयो ।
वार्षिक समीक्षामा उल्लेख गरिएका उपलब्धिहरुलाई संस्थागत गर्ने, देखिएका समस्याहरुलाई सम्बोधन गर्दै लैजाने, निर्णय प्रक्रिया र पत्राचारमा अनलाइन माध्यमको प्रयोगलाई संस्थागत गर्दै लैजाने, उच्च अधिकारीहरुबाट नियमित रुपमा दैनिक प्रतिवेदन गर्ने कार्यलाई संस्थागत गर्दै लैजाने, सेवाग्राही सर्वेक्षणबाट प्राप्त सुझावहरु क्रमशः कार्यान्वयन गर्दै लैजाने कामलाई निरन्तरता दिइएको छ ।
गुरागाइँ २०५१ साल पुस १९ गते शाखा अधिकृत पदबाट सङ्घीय निजामती सेवामा प्रवेश गर्नुभएको हो । उहाँ २०७६ फागुन १३ गते नेपाल सरकारको राजपत्राङ्कित प्रथम श्रेणीमा नियुक्त हुनु भएको हो ।
उहाँले तत्कालीन स्थानीय विकास मन्त्रालयमा २४ वर्ष, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा २ वर्ष र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा १० वर्ष गरी ३ दशकभन्दा धेरै समय नेपाल सरकारको सेवामा प्रदान गरिसक्नुभएको छ ।
मन्त्री परिषद्बाट एकै मितिमा भएको निर्णयअनुसार निवर्तमान प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरुवा हुनुभएको छ । उहाँ ४ गते नै विदाइ भएर गइसक्नुभएको छ ।