वि.सं.: २०८२, पुस १४ सोमबार
इ.स.: 2025 December 29,MONDAY
वि.सं.: २०८२, पुस १४ सोमबार
गंगालालमा यत्ति लापर्वाही छ भन्ने कल्पना गरेका थिएनौँ - अनुगमन टोली
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रको फोहर संकलनमा रोक लगाएको छ । वातावरण व्यवस्थापन विभागको नेतृत्वमा स्वास्थ्य विभाग, महानगर प्रहरी बलसहितको टोली, अस्पतालको फोहर संकलन केन्द्रमा पुग्दा हानीकारक फोहर र सामान्य फोहर एकै ठाउँमा राखिएको भेटिएपछि हानीकारक फोहर निर्मलीकरण नहुञ्जेलसम्मका लागि फोहर संकलनमा रोक लगाइएको वातावरण व्यवस्थापन महाशाखा प्रमुख कविता राईले जानकारी दिनुभयो ।
अस्पतालले फोहर व्यवस्थापनका लागि छुट्टै टहरा बनाएको छ । टहराभित्र फरक प्रकृतिका फोहर राख्न छुट्टै कोठा बनाइएको छ । संरचना उपयुक्त बनाए पनि फोहर संकलन र व्यवस्थापन अभ्यास भने अनुपयुक्त पाइयो । टोलीको नेतृत्व गरिरहनुभएकी वरिष्ठ शाखा अधिकृत सानुमैयाँ महर्जनले भन्नुभयो, ‘हानीकारक फोहर र सामान्य फोहरको छुट्टाछुट्टै पोका थिए । कुहिने फोहर कालो प्लाष्टिकमा र हानीकारक फोहर पहेँलो प्लाष्टिकमा पोको पारेर एकै ठाउँमा राखिएको थियोे ।
फोहर निर्मलीकरणका लागि ३ वटा अटोक्लेभ मेसिन राखिएका थिए । यीमध्ये २ वटा विग्रिएका थिए । चलेको एउटाले पनि राम्ररी काम गरेको थिएन । वातावरण निरीक्षक सृष्टि श्रेष्ठले भन्नुभयो, वातावरणमैत्री त थिएन नै काम गर्ने व्यक्तिहरु सुरक्षित हुने अवस्था पनि देखिएन । फोहर वर्गीकरणमा काम गर्ने व्यक्तिको हातमा पञ्जा थिएन । चप्पल लगाएर ओहोरदोहोर गरिरहनुभएको थियो ।
अटोक्लेभमा पकाइसकिएको भनेको फोहर ताजा नै थियो । पाकेको थिएन । कतिपय पोकाहरु अटोक्लेभ गर्न बाँकी भनेर सामान्य फोहरसँगै राखिएको थियो । भुइँमा पानी बगिरहेको थियो । फोहर व्यवस्थापनमा काम गरिरहेका कर्मचारीले हानीकारक फोहर मनिष नामका व्यक्तिले उठाएर लैजाने, त्यसलाई छुट्याउने र निर्मलीकरण गर्ने काम पनि उनैले गर्ने सुनाए ।
यसपछि अनुगमन टोलीले मनिषको फोन नम्बर मागेर सम्पर्क गर्यो । यस क्रममा मनिषले भने, ‘अस्पतालले सामान्य बनाएर दिएको फोहर म उठाएर लैजान्छु । बीरगञ्ज पुर्याएर बेच्छु ।’
अस्पतालबाट फोहर व्यवस्थापनमा खटिएका कर्मचारी दोहोर्याउँदै थिए । फोहरलाई रसायनमा डुवाएर जोखिममुक्त बनाउँछ अनि उसैले लैजान्छ । अटोक्लेभ सञ्चालन विधिका विषयमा अनुगमन टोलीले सोधेको प्रश्नमा उनी आफूले तालिम नपाएकोले के गर्ने भन्ने थाहा नभएको बताए । उनी भन्दै थिए, ‘अटोक्लेभमा पाक्नलाई १३४ भन्दा धेरै चाहिन्छ रे, १२१ भन्दा माथि गयो भने मेसिनले धान्दैन ।’ १३४ भनेको के हो, १२१ भनेको के हो? किन यो अङ्क चाहिने हो, भन्ने सवालमा चाहिँ उनले अनभिज्ञता देखाए ।
अस्पताल पक्षले स्रोतमा वर्गीकरण राम्रो भएको दावी गरिरहेको थियो । अनुगमन टोलीले संकलन केन्द्रमा सबै फोहर एकै ठाउँमा हुने भएपछि यस अघि गरिएका सबै प्रयास निष्फल भएको जनाउँदै त्यस अघिका प्रक्रियामा चासो दिएन ।

निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App