Logo

प्रमुख शाहसँग जर्मन राजदूत डा. प्रिन्सको शिष्टाचार भेट  

प्रमुख शाहसँग जर्मन राजदूत डा. प्रिन्सको शिष्टाचार भेट  

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) सँग आज नेपालका लागि जर्मनका राजदूत डा. थोमास प्रिन्सले शिष्टाचार भेट गर्नुभएको छ । भेटका लागि डा. प्रिन्स प्रमुख शाहको कार्यकक्षमा आउनुभएको थियो ।

भेटका क्रममा प्रमुख शाहले, फोहोरको दिगो व्यवस्थापनका लागि सरल, सहज र छिटो परिणाम प्राप्त हुने प्रविधिलाई प्राथमिकता दिने बताउनुभयो । राजदूत प्रिन्सले फोहोर व्यवस्थापनमा जर्मन सरकारले गरेको सहयोगको प्रसङ्गमा चर्चा गर्दै अहिलेको अवस्थामा बारे जानकारी लिन चाहेपछि प्रमुख शाहले आफ्नो योजना सुनाउनुभएको थियो । ‘फोहोर व्यवस्थापनका लागि धेरै प्रविधि छन् । हामीसँग प्रस्ताव पनि धेरै छन् । तीमध्ये वर्गीकृत फोहोरलाई प्रकृतिअनुसार व्यवस्थापन गर्न सकिने दिगो प्रविधि हाम्रो प्राथमिकतामा छ ।’ प्रमुख शाहको भनाइ छ ।

महानगरका प्राथमिक कार्यक्रमका बारेमा जानकारी दिँदै प्रमुख शाहले, मूर्त अमूर्त सांस्कृतिक सम्पदाको संरक्षण, संवर्धन र पुनस्र्थापना, खुल्ला तथा सार्वजनिक स्थलको संरक्षण, पार्क निर्माण शैक्षिक गुणस्तरको वृद्धि तथा स्वास्थ्य सेवाको पहुँच वृद्धिलगायत क्षेत्रमा काम भइरहेको बताउनुभयो ।

फोहोरको बर्गीकरण र व्यवस्थापनका लागि जर्मन सरकारले जीटीजेड कार्यक्रममार्फत काठमाडौँ महानगरलाई सहयोग गरेको थियो । राजदूत प्रिन्सले आपसी सहयोगका विषयमा कुरा गर्दै, परम्परागत संगीत शिक्षण तथा प्रवर्धनका लागि सहयोगको इच्छा व्यक्त गर्नुभएको थियो । उहाँले सहरी विकास, निर्माण र व्यवस्थापनका विषयमा चासो राख्नुभएको थियो ।

भेटका क्रममा महानगरका पूर्वाधार सल्लाहकार एवं सविचवालय सदस्य सुनिल लम्साल, सम्पदा तथा पर्यटन विभागका प्रमुख अर्चना श्रेष्ठसहित अधिकारी सहभागी हुनुहुन्थ्यो ।       

तस्विर : विनय शाक्य   

 

 

 

  • प्रकाशित मिति: मंगलबार २९ कात्तिक २०७९ १२:४४