Logo
  • वि.सं.: २०८३, जेठ १० आइतबार​

  • इ.स.: 2026 May 24,SUNDAY

  • वि.सं.: २०८३, जेठ १० आइतबार​

  • वडास्तरीय फुटसल प्रतियोगिताको उद्घाटन सत्रमा खेलकुद, वडाको विकास र स्व. रिजालको व्यक्तित्वमाथि चर्चा 

    वडा नं. १६ ले आयोजना गरेको प्रतियोगितामा १३ वटा वडाबाट टिमले प्रतिस्पर्धा गर्दैछन्

    काठमाडौँ । आजदेखि सुरु भएको स्व. मुकुन्द रिजाल स्मृति वडास्तरीय फुटवल प्रतियोगिताको उद्घाटन सत्रमा वडास्तरीय खेलकुदमा महानगरपालिकाको प्रयास, वडाको विकास र स्व. रिजालको व्यक्तित्व माथि चर्चा भयो । काठमाडौँ महानगरपालिकाको वडा नंं १६ ले लैनचौर ग्राउण्डमा प्रतियोगिता आयोजना गरेको हो । 

    प्रतिस्पर्धामा वडा नं. २, ३, ५, ९, १०, ११, १३, १४, १६, १९, २३, २५ र २६ गरी १३ वटा टीम छन् । उद्घाटन खेल वडा नं. १० र आयोजक वडा बिच भएको थियो । यस खेलमा आयोजक टीमले २-० ले पहिलो जित हासिल गरेको छ । दोस्रो खेल वडा ५ र १९ का बिचमा भएको थियो । यो खेलमा ३-० गोल अन्तरले वडा नं. ५ ले जितेको छ । 

    खेलको उद्घाटन सत्रमा वडा १६ का अध्यक्ष रोजिना श्रेष्ठले, यस प्रकारका प्रतियोगिताहरुलाई वडाले निरन्तरता दिने बताउनुभयो । स्व. रिजालको व्यक्तित्वका बारेमा  कुरा गर्दै उहाँले भन्नुभयो, ‘राजनीतिक भन्दा सामाजिक छवि बलियो हुनु उहाँको सबैभन्दा सवल पक्ष थियो । वडाको समृद्धिका लागि उहाँका सपना पूरा गर्दै जानेछौँ ।’

    कार्यक्रममा वडा नं. २६ का अध्यक्ष ख्यामराज तिवारीले खेलले वडाहरुका विचको सम्बन्ध जोडिँदै जाने बताउनुभयो । ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादनका लागि वडा तहका खेलकुद आधार हुन् । यसलाई विस्तार गर्दै लानेछौँ ।’ तिवारीको भनाइ थियो । उहाँले स्व. रिजाललाई दूरदृष्टि भएको नेताका रुपमा आफूले चिनेको बताउनुभयो । 

    ‘स्व. रिजालको स्मृतिमा वडाले फुटवल प्रतियोगिता आयोजना सुरु भएको दिनलाई गर्विलो दिनका रुपमा लिएको र गहिरो सम्मान अनुभूति भएको छ ।’ कार्यक्रममा रिजाल पत्नी कविता आचार्य रिजालले भन्नुभयो, ‘सन्तुलित विकासबाट वडाको समृद्धि उहाँ (स्व. रिजाल)को चाहना थियो । सवै मिलेर उहाँको सपना पूरा गरौँ ।’

    वडा सदस्य हर्कबहादुर खातीले, जित र हारका लागि भन्दा पनि आपसी सम्बन्ध विकासका लागि युवालाई खेलप्रति आकर्षित गर्न प्रतियोगिता आयोजना गरिएको जानकारी दिनुभयो । 

    स्थानीय तह सदस्य निर्वाचन २०७९ बाट काठमाडौँ महानगरपालिकाको वडा १६ का लागि अध्यक्ष पदमा  निर्वाचित रिजाल २०८० भदौ २१ गते परलोक हुनुभएको थियो । उहाँ कार्यपालिका अन्तर्गतको पूर्वाधार समितिको संयोजक पनि हुनुहुन्थ्यो । २०७४ को स्थानीय निर्वाचनबाट उहाँ वडा १६ कै अध्यक्ष पदमा निर्वाचित हुनुभएको थियो । 


     

  • प्रकाशित मिति आइतबार​ १० जेठ २०८३ ०८:४९ PM