शसस्त्र प्रहरी, नेपाल यु. एन. शान्ति स्थापना तालिम शिक्षालयमा तालिम
काठमाडौँ । काठमाडौँ महानगर प्रहरी बलका ११० जना जवानलाई ३० दिन अवधिको तालिम प्रदान गरिएको छ । नुवाकोटको ककनी गाउँपालिकामा रहेको सशस्त्र प्रहरी, नेपाल यु. एन. शान्ति स्थापना तालिम शिक्षालयमा तालिम प्रदान गरिएको हो । कर्तव्यनिष्ठ, अनुशासित, साहसिक, फौजी सिप एवं कौशलले भरिएको व्यावसायिक प्रहरी उत्पादन गर्ने, महानगरपालिका र महानगरबासीप्रति समर्पित रहेर सेवा भावबाट काम गर्ने क्षमताका लागि तालिम प्रदान गरिएको हो ।
तालिममा शारीरिक तन्दुरुस्ती, कवाज, भिआइपी, पब्लिक अर्डर म्यानेजमेन्ट, म्याप रिडिङ्, पुलिस प्याकेज, अनआर्म कम्व्याट, आपतकालीन उद्धार, ट्राफिक व्यवस्थापन, मानव अधिकार लगायत विषय समावेश थिए ।
भदौ ४ गतेबाट सुरु भएको तालिमको आज समापन भएको हो । समापन अवसरमा प्रशिक्षक र उत्कृष्ट प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र प्रदान गरिउको थियो । दीक्षित प्रहरीहरुले कवाज प्रदर्शन गरेका थिए ।
समापन अवसरमा बोल्दै महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाइँले भन्नुभयो, ‘तालिमबाट सांगठनिक र पदीय दायित्व निर्वाह गर्न क्षमता विकास भएको विश्वाश गरेका छौँ । तालिमबाट सिकेको सिपबाट कार्य सम्पादनमा सहजता हुनुपर्छ ।’
तालिम केन्द्रका प्रमुख शसस्त्र प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र खड्काले, केन्द्रबाट नगर प्रहरीलाई दिइएको यो पहिलो तालिम भएको उल्लेख गर्नुभयो । यो तालिम शान्ति सुरक्षा र अमनचैनका लागि क्षेत्रगत सुरक्षाकर्मीहरुका विचमा समन्वयको थालनी भएको उहाँको भनाइ थियो ।
सहरी सुव्यवस्थापनका नगर प्रहरीको क्षमता र दक्षता बढाउन तालिम कार्यक्रम सञ्चालन भइरहेका छन् । महानगर प्रहरी वलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले भन्नुभयो, आउँदो कार्तिक ३ गतेदेखि अर्को समूहलाई तालिमका लागि पठाउनेछौँ ।
यसपटक ३० दिन अवधिको तालिममा ७१ जना पुरुष र ३९ जना महिला प्रहरी सहभागी हुनुहुन्थ्यो ।
समापन कार्यक्रममा प्रशासन विभागका प्रमुख नमराज ढकाल, मानव संशाधन महाशाखा प्रमुख प्रवीण प्याकुरेलसहित अधिकारी सहभागी हुन जानुभएको थियो ।
तस्विर : विनय शाक्य / अमृत पाण्डे